पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९


पाँचथर । राष्ट्रिय परीक्षा बोर्डले यस पटक माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ‘ई’ ग्रेड ल्याउने विद्यार्थीलाई पनि प्रमाणपत्र दिने व्यवस्था गरेको छ । बोर्डले एसईईमा लेटर ग्रेडिङ निर्देशिका – २०७८ लागू नगर्ने निर्णय गरेको हो ।
लेटर ग्रेडिङ निर्देशिका २०७८ मा विद्यार्थीले सैद्धान्तिकतर्फ ३५ भन्दा कम अङ्क ल्याउनेको नतिजामा अवर्गीकृत (नन ग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था गरिएको थियो । तर यस बर्षको एसईई परीक्षाको नतिजामा भने उक्त निर्देशिका लागू नगर्ने निर्णय गरेको हो ।
कोरोनाको दोस्रो लहरका कारण पठनपाठन नियमित नभएको र वैकल्पिक सिकाइ प्रणाली पनि प्रभावकारी नभएकाले निर्देशिका लागू गर्दा धेरै जना विद्यार्थी फेल हुने अवस्था देखिएपछि ‘नन ग्रेडेड’ लागू नगर्ने निर्णय गरेको बोर्डले जनाएको छ ।
अब एसईईमा ‘ई’ ग्रेड ल्याउने विद्यार्थीले पनि कक्षा ११ मा पढ्न पाउने छन् । बोर्डले आज एसर्ईईको नतिजा सार्वजनिक गर्दैछ ।
अक्षरांकन ९ग्रेडिङ० विधि अनुसार ९० देखि १०० अङ्क ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस र ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी ग्रेडमा मूल्यांकन गर्ने व्यवस्था छ ।
त्यस्तै ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी र २० भन्दा कम ल्याउनेलाई ई ग्रेडमा मूल्यांकन गर्ने व्यवस्था छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ३ : ४६ बजे