पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम। पाँचथरको एकमात्र नगरपालिका  फिदिम नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० बजेट रु. ९८ करोड ७४ लाख ७६ हजार ६ सय २० प्रस्तुत गरिएको छ ।

संघ तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानिकरण, समपुरक, शसर्त र विशेष अनुदान, नगरपालिककाको आन्तरिक आम्दानी तथा दातृ निकायबाट प्राप्त हुने अनुदान तथा लागत साझेदारी रकम समेत गरी नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम शुक्रबार, ११ औं नगरसभामा नगरका उपप्रमुख राधाकृष्ण न्यौपानेले प्रस्तुत गरेका हुन ।

नगरले पहिलो पटक संसदिय प्रणाली अनुसार बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नेपालको संविधानको धारा २३०, स्थानीय सरकार संचालन ऐन,२०७४ को दफा ७१ तथा प्रदेश नं. १, गाउँसभा र नगरसभा संचालन (कार्यविधि) ऐन, २०७५ दफा ३२ बमोजिमको नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेको  सभाध्यक्षतामा शुक्रवार भएको एघारौं नगरसभामा उपप्रमुख राधाकृष्ण न्यौपानेले उक्त बजेट, नीति, कार्यक्रम, विनियोजन ऐन २०७९, आर्थिक ऐन २०७९ पेश गरेका हुन ।

प्रस्तावित बजेट गत आ.ब. भन्दा १.६६ प्रतिशतले न्यून रहेको छ । बजेटमा सामाजिक विकासतर्फ सवैभन्दा बढी ४४.८९ प्रतिशत, आर्थिक विकासतर्फ ६.८९ प्रतिशत, पूर्वाधार विकासतर्फ ३१.६६ प्रतिशत, सार्वजनिक सेवा तथा क्षमता विकासतर्फ २.८ प्रतिशत, वन, वातावरण तथा विपद ब्यवस्थापनतर्फ २.१५ प्रतिशत र प्रशासनिक खर्चतर्फ ११.५९ प्रतिशत विनियोजन गरिएको छ ।

नगरका १४ वटा वडामा समान रुपमा रु. ५७ लाखका दरले बजेट विनियोजन गरिएको छ भने शहरी शासकिय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत समेत समान रुपमा रु. ९० लाखका दरले बजेट विनियोजन गरिएको छ ।

प्रस्तुत नीति तथा कार्यक्रममा विपन्नसंग नगरप्रमुख कार्यक्रम, नगरक्षेत्रमा बसोबास गर्ने मृतकका परिवारसंग भेटघाट गर्ने दुःखमा नगरपालिका कार्यक्रम‘, महिलालाई गरिने हिंसाको पहिचान र नियन्त्रण गर्नजनप्रतिनीधिसंग मनका कुरा कार्यक्रम‘ , नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा अध्ययन गरि मावि तहमा उत्कृष्ट अंक प्राप्त गरी मेडिकल, ईन्जिनियरिङ र विज्ञान संकायमा भर्ना भएका मध्ये एक/एक जना छात्र तथा छात्रालाई फिदिम नगरपालिका छात्राबृति कार्यक्रम‘, सुन्दर र बातावरण मैत्री विद्यालय बनाउनएक बिद्यार्थी एक विरुवा बृक्षारोपण कार्यक्रम‘ , पद्दै कमाउदै प्राविधिक शिक्षामा जोड जस्ता कार्यक्रमहरु प्रस्तुत गरिएका छन ।

नगरसभाले आ.ब. २०७८/०७९ को न्यायिक समितिको बार्षिक प्रतिवेदन अनुमोदन गर्नुका साथै उपप्रमुख राधाकृष्ण न्यौपानेको संयोजकत्वमा ३ सदस्यिय फिदिम नगरपालिका, न्यायिक समिति गठन गरेको छ । समितिका सदस्यहरुमा वडा नं. १ का वडाध्यक्ष गजाधर भट्टराई र नगरसभा सदस्य शारदा पोख्रेल आङदाम्बेलाई सर्वसम्बत सदस्यमा निर्वाचित गरेको छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ११ : ०८ बजे