पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । पाँचथर जिल्ला हिलिहाङ गाउँपालिका – ७ मेचिराजमार्ग सल्लेरीमा बुधवार ट्याङ्करसँग ठोकिएका मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिका–७ का प्रेम घिसिङको उपचारका क्रममा गएराती मृत्यु भएको हो ।

बुधवार पाँचथरको च्याङथापूबाट झापातर्फ जाँदै गरेको मे १ ख २४९४ नम्बरको ट्याङ्कर र झापाबाट ताप्लेजुङतर्फ जाँदै गरेको को ५ प २३३० नम्बरको मोटरसाइकल दिउँसो १:३० ठोकिएका थिए ।

दुर्घटनामा मृतक मोटरसाइकल चालक घिसिङको दाँया घुँडा र शरीरका भित्री भागमा चोट लागेको थियो भने उनकी श्रीमती कञ्चन मगरको घुँडा र कम्मरको भित्री भागमा चोट लागेको थियो । घाइते घिसिङ दम्पत्तिलाई उपचारका लागि फिदिमस्थित समर्पित अस्पतालमा ल्याइएकामा थप उपचारका लागि दिउँसो ४:४० बजे बिएण्डसी अस्पताल विर्तामोड रेफर गरिएको थियो ।

उपचारका लागि बिएण्डसी अस्पताल विर्तामोड पुर्याईएकामा घिसिङको राती ९:४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए । श्रीमतिको सोही अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । मोटरसाइकललाई ठक्कर दिने ट्याङ्कर र ट्याङ्करका चालक झापा सुरुङ्गाका ३३ वर्षीय निमा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  १२ : १९ बजे