पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । फालेलुङ गाउँपालिका – ३ नाम्लुवा भञ्ज्याङ स्थित मेमेङ स्वास्थ्य चौकीमा शनिबार एक दिने निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गणेशमान सिंह सामुदायिक हस्पिटल, फिदिमको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा ३ सय ५० भन्दा वढि स्थानीय विरामीले स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्राप्त गरेका छन् ।


शिविरमा हाडजोर्नी, नशा तथा बाथ रोग सम्बन्धी विशेषज्ञ सेवा, स्त्री तथा बालबालिकाहरुको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको छ । यसका साथै शिविरमा आँखा र दन्त परीक्षण तथा उपचार समेत गरिएको हस्पिटलका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए ।


शिविरमा निशूल्क भिडियो एक्स रे, इसीजी सेवा, सुगर, जण्डिस, रगत तथा पिसाव परीक्षणका साथै निशूल्क औषधी समेत वितरण गरिएको थियो । ग्रामिण क्षेत्रका विरामीहरुलाई प्रारम्भिक स्तरको स्वास्थ्य परीक्षण गरिएको र जटिल स्वास्थ्य अवस्था भएकाहरुलाई अस्पतालमा नै बोलाइएको सामुदायिक हस्पिटलका डा. रुपेशमान शेरचनले बताए । “यो शिविर हाम्रो स्कृनिङ हो” डा. शेरचनले भने– “गंभीर लक्षण भएका विरामीलाई अस्पतालमा आउन आग्रह गरेका छौं”। शिविरमा संलग्न सामुदायिक हस्पिटलका डा. शुभनारायण ठाकुरले अझै पनि रोग लुकाएर गाउँमा नै बस्ने समस्या देखिएका बताए । “शिविरमा अपेक्षा भन्दा वढि नैै विरामीको स्वास्थ्य परीक्षण र उपचार गरियो”– डा. ठाकुरले भने– “अझै पनि रोग लुकाएर गाउँमा नै बसेको पाइयो” ।


पूर्वेली यूवा समूहको आयोजना एवं मेमेङ स्वास्थ्य चौकीको समन्वयमा शिविर सम्पन्न भएको हो । शिविरमा फिदिम मानव डेन्टल केयर प्रा.लि.ले दाँतका विरामीलाई उपचार सेवा प्रवाह गरेको थियो भने आँखाका विरामीका लागि फिदिम आँखा उपचार केन्द्रले सेवा प्रदान गरेको थियो । दाँतका विरामीलाई परीक्षण, परामर्श सेवा तथा निशूल्क दाँत उखेल्ने सेवा दिइएको डेन्टल केयर प्रा.लि.का प्रबन्ध निर्देशक इन्द्र लुईटेलले बताए ।


पाँचथरको सदरमुकाम फिदिममा गत बैसाख महिना देखि स्थापना भएको यो सामुदायिक हस्पिटलले जिल्लाका दुर्गम स्थानहरुमा शिविर सञ्चालन गरी विरामीहरुलाई सेवा दिने योजना तय गरिएको हस्पिटलका सञ्चालक मंगल बेघाले जानकारी दिए । “पाँचथर जिल्लाका साथै ताप्लेजुङ र तेह्रथुम जिल्लाका विरामीलाई समेत सेवा दिने लक्ष राखेका छौं”– बेघाले भने– “यसका लागि समय मिलाएर सवैतिर शिविर आयोजना गर्नेछौं” ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  १२ : ४८ बजे