पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर । उत्तर–दक्षिण कोरिडोरहरु मध्ये सबैभन्दा छोटो दूरीको सडक तमोर कोरिडोर कालोपत्रे हुने भएको छ । पुष्षलाल (मध्यपहाडी) राजमार्ग तमोर कोरिडोर (चतरा ­­-  मूलघाट ­­­– माझिटार­ – अमरपुरडाँडा गणेशचोक)  को धनकुटा मूलघाट देखि पाँचथरको अमरपुरडाँडा खण्ड १ सय १० किलोमिटर कालोपत्रे हुने भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राष्ट्रिय योजना आयोग मार्फत श्रोत सुनिस्चितताका लागि अर्थ मन्त्रालयलाई गरेको सिफारिस अनुसार भौतिक पूर्वाधार मन्त्रालयले स्रोत सहमति प्राप्त गरेको छ । ५ अर्व ७६ करोड ८७ लाख रुपैयाको आयोजना संचालनका लागि अर्थले स्रोत सुनिस्चित गरेको हो । यो रकम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बजेटको रुपमा प्राप्त गरि आयोजना संचालन गर्नेछ ।

तमोर कोरिडोर निर्माणको लागि दुई खण्डमा सडक आयोजनाको निर्माण कार्य थालिएको छ । पहिलो खण्डः चतरा­ – मूलघाट – सुभाङ खोला सडक योजना र दोश्रो खण्डः सुभाङखोला – दोभान ओलाङचुङगोला सडक योजना । पहिलो खण्ड आयोजनाको लागि सुनसरीको धरानमा कार्यालय स्थापना गरिएको छ भने दोश्रो खण्डको लागि ताप्लेजुङको सदरमुकाम फुङलिङमा कार्यालय रहेको चतरा­ – मूलघाट – सुभाङ खोला सडक योजनाका प्रमुख कुवेर नेपालीले जानकारी दिनुभएको छ । उहाँका अनुसार ‘ सरकारले बजेट सुनिस्चित गरेको छ अब हामीलाई प्राविधिक तयारी एवं ब्यवस्थापनका लागि करिब एक­ ­– दुई महिना लाग्नेछ, त्यसपछी ठेक्का खुल्नेछ ।’

यो सडक योजनाले प्रदेश नं. १ का  धनकुटा, तेह्रथूम, पाँचथर र ताप्लेजुङ जिल्लाबासीलाई तराई संग जोड्दछ । विराटनगरको रानी भन्सार देखि चिनको टिपतला नाका जोडिने तमोर करीडोर ब्यापार र पारवहनका दृष्टिले महत्वपूर्ण सडक योजना हो  ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  २ : १० बजे