फिदिम । स्थानीय तहको निर्वाचन सम्पन्न भई मतगणनाको कार्य अन्तिम चरणमा पुगेको छ । ७ सय ५३ स्थानीय तह मध्ये करिब सोमबार मध्यान्न सम्ममा ७ सय ३० को मतगणना सकिएको छ । स्थानीय सरकारले नयाँ प्रतिनिधि पाईरहेका छन ।
गाँउ सभा /नगर सभा गठन र गाँउकार्यपालिका /नगरकार्यपालिका गठनको प्रक्रिया अगिबढेको छ । नेपालको संविधान भाग १८ मा स्थानीय ब्यवस्थापिका सम्बन्धि ब्यवस्था गरिएको छ । त्यसै गरि संविधान भाग १७ मा स्थानीय कार्यपालिका सम्बन्धि ब्यवस्था छ ।
संविधानको धारा २२१ अनुसार स्थानीय तहको ब्यवस्थापिकीय अधिकार गाँउसभा र नगरसभामा निहित रहने भन्ने उल्लेख छ । त्यसै गरि धारा २१४ मा स्थानीय तहको कार्यकारीणी अधिकार गाँउकार्यपालिका र नगरकार्यपालिकामा निहित रहने उल्लेख छ ।
यसरी गाँउ सभा /नगर सभा गठन र गाँउकार्यपालिका /नगरकार्यपालिका गठन गर्ने दायित्व समेत निर्वाचन आयोगको रहने निर्वाचन ऐनको ब्यवस्था हो ।
कसरी नगरसभाको गठन हुन्छ । पाँचथर जिल्लाको फिदिम नगरपालिका लाई हेरौ ।
फिदिम नगरपालिकामा जम्मा १४ वटा वडाहरु रहेको छन । यो नगरपालिकामा बैसाख ३० गते सम्पन्न भएको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालिद्वारा निम्न जनप्रतिनिधि निर्वाचित भएका छन ।
नगरप्रमुख १ जना
उपप्रमुख १ जना
प्रत्येक वडाका बडाध्यक्ष सहित ४ जना सदस्य जम्मा १४ वडा X ५ जना = ७० जना
दलित वा अल्पसंख्यक समुदायबाट नगरपालिकाको हकमा ३ जना ( सम्बन्धित स्थानीय तहका दलित वा अल्पसंख्यक –नेपाल सरकारले सुचिकरण गरेका ९८ अल्पसंख्यक समुदायका नागरिक उम्मेद्वार हुन पाउने जसलाई माथीको ७२ जना निर्वाचित प्रतिनिधिले चुन्ने छन)
यसरी ३ जना निर्वाचन भए पछी ७५ जनाको फिदिम नगरसभा गठन हुनेछ ।
नगरकार्यपालिका गठनलाई हेरौ
नगरप्रमुख १ जना
उपप्रमुख १ जना
१४ वडाका वडाध्यक्षहरु १४ जना
माथिका दलित वा अल्पसंख्यक समुदायबाट ३ जना स्वत सदस्य रहने ।
माथी प्रत्यक्ष निर्वाचित महिलाहरु मध्येबाट ५ जना महिला कार्यपालिकामा सदस्य हुने । जसमा माथिका निर्वाचित ७५ जनाको नगरसभाले निर्वाचित महिलाहरुमध्ये ५ जना महिला सदस्य चुन्ने छ ।
यसरी हेर्दा फिदिम नगरकार्यपालिका २४ जनाको गठन हुनेछ ।
गाँउपालिकामा पनि यहि अनुसार गाँउ सभा र गाँउकार्यापालिका गठन हुने संवैधानिक एवं कानुनी ब्यवस्था छ । फरक यति छ कि गाँउपालिकाको हकमा दलित वा अल्पसंख्यक समुदायबाट २ जना र महिला सदस्य ४ जना निर्वाचित हुनेछन ।
प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार ३ : १६ बजे
प्रतिक्रिया