पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथरमा ९ सय ३ जनाको उम्मेद्वारी

जिल्लाका आठ स्थानीय तहको प्रमुखमा ३७ जना तथा उपप्रमुख पदमा २७ जनाको उम्मेद्वारी


फिदिम। जिल्लाको स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा ९ सय ३ जना उम्मेद्वारीको मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पाँचथरका अनुसार १४ वटा वडा रहेको फिदिम नगरपालिकामा सबैभन्दा बढी २ सय ३७ जनाको उम्मेद्वारी परेको हो ।

 फिदिम नगरपालिकामा नगर प्रमुख पदमा छ जना र उपप्रमुख पदमा चार जनाले उम्मेद्वारी दर्ता गराएका छन् । यस्तै १४ वटा वडाका वडाध्यक्षको पदमा ५६ जनाले उम्मेद्वारी दिएका छन् १४ जना महिला सदस्य पदमा ४४ जना, दलित महिला सदस्य पदमा ३० जना तथा प्रत्येक वडामा दुई र दुई जनाका दरले रहने सदस्य पदमा ९७ जनाले उम्मेद्वारी दर्ता गराएका हुन ।

 ७ वटा वडा रहेको फाल्गुनन्द गाउँपालिकामा अध्यक्ष पदमा पाँच जना, उपाध्यक्ष पदमा चार जना, वडाध्यक्ष पदमा २४ जना, महिला सदस्य पदमा १६ जना, दलित महिला सदस्य पदमा १५ जना र खुल्ला सदस्य पदमा ३५ जनाले उम्मेद्वारी दिएका छन् । फाल्गुनन्दमा कूल ९९ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

जिल्लाको सुदुर दक्षिण अवस्थीत मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष पदमा छ जना, उपाध्यक्ष पदमा चार जना र आठ वटा वडाका वडाध्यक्ष पदमा ३० जनाले उम्मेद्वारी दर्ता गराउका छन् । मिक्लाजुङमा महिला सदस्य पदमा १९ जना, दलित महिला सदस्य पदमा १८ जना तथा खुल्ला सदस्य पदमा ४८ जना गरी कूल १२५ जना उम्मेद्वारले मनोनयन दर्ता गराएका छन् ।

 पाँच वटा वडा रहेको कुम्मायक गाउँपालिकाको अध्यक्ष पदमा चार जना तथा उपाध्यक्ष पदमा तीन जनाले उम्मेद्वारी दर्ता गराएका छन् । यहाँ पाँच जना वडाध्यक्षका लागि १८ जना, महिला सदस्य पदमा १३ जना, दलित महिला सदस्य पदमा ११ जना र खुल्ला सदस्य पदमा ३२ जना गरी कूल ८१ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

सबैभन्दा कम मतदाता रहेको तुम्बेवा गाउँपालिकाको अध्यक्ष पदमा तीन जना तथा उपाध्यक्ष पदमा दुई जनाले उम्मेद्वारी दर्ता गराएका छन् । पाँच वटा वडा रहेको यहाँ वडाध्यक्ष पदमा १७ जना, महिला र दलित महिला सदस्य पदमा समान १०–१० जना तथा खुल्ला सदस्य पदमा २७ जना गरी कूल ६९ जना उम्मेद्वार रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय फिदिमले जनाएको छ ।

यस्तै हिलिहाङ गाउँपालिकाको अध्यक्ष पदमा पाँच जनाले उम्मेद्वारी दिँदा उपाध्यक्षमा दुई जनाको मात्रै उम्मेद्वारी परेको छ । सात वटा वडा रहेको यो गाउँपालिकामा वडाध्यक्ष पदमा २२ जना, महिला र दलित महिला सदस्य पदमा समान १४र१४ जना र खुल्ला सदस्य पदमा ३३ जना गरी कूल ९० जनाले उम्मेद्वारी दर्ता गराएका छन् । याङवरक गाउँपालिकाको अध्यक्ष पदमा तीन जनाको उम्मेद्वारी दर्ता भएको छ भने उपाध्यक्ष पदमा चार जनाले उम्मेद्वारी दिएका छन् । छ वटा वडा रहेको यस गाउँपालिकामा वडाध्यक्ष पदमा १८ जना, महिला सदस्य पदमा १५ जना, दलित महिला सदस्य पदमा १४ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । खुल्ला सदस्यमा ३१ जनाले उम्मेद्वारी दिएको यस गाउँपालिकामा कूल ८५ जना उम्मेद्वार रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लाको फालेलुङ गाउँपालिकाको अध्यक्ष पदमा पाँच जना तथा उपाध्यक्षमा चार जनाले उम्मेद्वारी दिएका छन् । आठ वटा वडा रहेको यस गाउँपालिकामा वडाध्यक्ष पदमा ३० जनाको उम्मेद्वारी परेको छ । महिला सदस्य पदमा २१ जना, दलित महिला सदस्य पदमा १४ जना र खुल्ला सदस्य पदमा ४३ जना गरी यस गाउँपालिकामा कूल ११७ जना उम्मेद्वार छन् ।

जिल्लाका आठ स्थानीय तहको प्रमुखमा ३७ जना तथा उपप्रमुख पदमा २७ जनाले उम्मेद्वारी दिएका छन् । ६० वटा वडामा एक/एक जना निर्वाचित हुने वडाध्यक्ष पदमा २१५ जना, महिला सदस्य पदमा १५२ जना, दलित महिला सदस्य पदमा १२६ जना उम्मेद्वार बनेका छन् । १२० जना वडा सदस्य पदमा ३४६ जनाको उम्मेद्वारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आठ वटा स्थानीय तह रहेको पाँचथरमा नेकपा एमाले र सत्तारुढ गठबन्धनवीच तीब्र प्रतिस्पर्धा हुँदैछ ।

पाँचथरमा १ लाख ४० हजार २ सय २४ जना मतदाता छन् । आसन्न स्थानीय तहको निर्वाचनका लागि १ सय १ मतदान स्थल रहेका र १७६ मतदान केन्द्रबाट मतदान गर्ने ब्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ३ : ४६ बजे