मंगल बेघा
८- असार पाँचथर । प्रथम पाँचथर जिल्ला तेक्वान्दो च्याम्पियनसीप- २०८३ काे उपाधि एसीआर डोजाङ, फिदिमकाे पाेल्टामा परेकाे छ ।
जिल्ला सदरमुकाम फिदिम वजार स्थित ब्याडमिन्टन कभर्ड हलमा आइतबार सम्पन्न प्रतियाेगितामा ११ स्वर्ण, ६ कास्य र १० रजत पदक प्राप्त गर्दै एसीआर डोजाङले उपाधि आफ्नाे पाेल्टामा पारेकाे हाे। इगल डोजाङले ५ स्वर्ण, ७ कास्य र ७ रजत पदक प्राप्त गर्दै दोस्रो स्थान हाँसिल गरेकाे छ भने याङवरक दोजाङले ३ स्वर्ण, ५ कास्य र १० रजत पदक प्राप्त गर्दै तेस्रो स्थान प्राप्त गर्यो।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान हाँसिल गर्ने डोजाङहरुलाई नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाण–पत्र प्रदान गरिएको थियाे । प्रतियाेगिता समापन सत्रका प्रमुख अतिथि फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेसहितका अतिथिहरुले खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा जिल्लाका १ सय १० जना खेलाडीले विभिन्न ताैल समूह र विधामा प्रतिस्पर्धा गरेका थिए । नेपाल तेक्वान्दाे संघ जिल्ला कार्य समितिको आयाेजनामा सञ्चालन भएकाे प्रतियाेगितालाई फिदिम नगरपालिकाले मूख्य प्रवर्द्धक रही सहयोग गरेकाे थियो ।

फिदिम नगरपालिकाका प्रमुख काफ्लेले विधाका खेलकुदहरुलाई सकेसम्म सहयोग उपलब्ध गराउँदै आएको र आगामी दिनमा समेत खेलकुदको प्रवद्र्धनमा नगरपालिकाले निरन्तर सहयोग गर्ने बताए । सीमित स्रोत साधनवाट सवैको माग पूरा गर्न कठिनाई भए पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा देशको पहिचान उच्च बनाउन खेलकुदको महत्वपूर्ण भूमिका हुने भएकाले सवै खेलाडी तथा प्रशिक्षकहरुलाई मेहनत गरेर अगाडि वढ्न समेत उनले आग्रह गरे ।
प्रतियोगिता सम्पन्न गर्न सहयाेग गर्ने सवैप्रति धन्यवाद व्यक्त गर्दै नेपाल तेक्वान्दाे संघ जिल्ला समिति पाँचथरका अध्यक्ष सन्ताेष श्रेष्ठले जिल्लामा तेक्वान्दो खेलको विकास एवं विस्तार, खेलाडीहरूमा प्रतिस्पर्धात्मक भावना अभिवृद्धि, नवप्रतिभाको पहिचान, प्रदेश तथा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । साथै, प्रतियोगिताले पाँचथर जिल्लामा तेक्वान्दो खेलप्रतिको आकर्षण बढाउनुका साथै खेल संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको समेत उनले बताए ।
प्रकाशित मिति : ८ असार २०८३, सोमबार ८ : ३७ बजे







प्रतिक्रिया