पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

विभिन्न तौल समूह र विधामा १ सय १० खेलाडीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने

मंगल बेघा

६– असार, पाँचथर । प्रथम पाँचथर जिल्ला तेक्वान्दो च्याम्पियनसीप– २०८३ आज (शनिबार) देखि जिल्ला सदरमुकाम फिदिम वजार स्थित ब्याडमिन्टन कभर्ड हलमा सञ्चालन हँुदैछ ।

नेपाल तेक्वान्दो संघ, जिल्ला कार्य समिति पाँचथरले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै आजवाट खेल सुरु हुने जनाएको हो । समितिका अध्यक्ष सन्तोष श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तिमा विभिन्न तौल समूह र विधामा १ सय १० खेलाडीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने उल्लेख गरिएको छ । प्रतियोगितामा पुरुष तर्फ १० तौल समूहका ४५ जना र महिला तर्फ १० तौल समूहका ४५ जना खेलाडी सहभागी छन् । यसै गरी, पुरुष र महिला पुम्से विधामा समेत १०–१० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

फिदिम नगरपालिका मूख्य प्रवद्र्धक रहेको प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान हाँसिल गर्ने डोजाङहरुलाई नगद पुरस्कार, मेडल तथा प्रमाण–पत्र वितरण गरिने आयोजकले जनाएको छ । साथै प्रतियोगिताका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकहरूलाई समेत पुरस्कृत गरिनेछ ।

जिल्लामा तेक्वान्दो खेलको विकास एवं विस्तार, खेलाडीहरूमा प्रतिस्पर्धात्मक भावना अभिवृद्धि, नवप्रतिभाको पहिचान, प्रदेश तथा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताए । प्रतियोगिताले पाँचथर जिल्लामा तेक्वान्दो खेलप्रतिको आकर्षण बढाउनुका साथै खेल संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने उनले बताए ।
प्रतियोगिताका सहयोगी दाताहरुहरुमा धन्यवाद व्यक्त गर्दै हलमा उपस्थित भई खेलको मनोरञ्जन लिन र खेलाडीहरुलाई हौसला प्रदान गरिदिन समेत आयोजकले प्रेस विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ७ : ३६ बजे