छनाैट गरिएका स्रष्टाहरुलाई जनही ५० हजार नगद र सम्मान पत्र सहित सम्मान तथा पुरस्कृत गरिने
मंगल बेघा
१९- माघ, पाँचथर । अमर नेम्बाङ स्मृति प्रतिष्ठानले यस वर्ष प्रदान गर्ने साहित्य सम्मान तथा पुरस्कारका लागि तीन जना स्रष्टा छनौट गरेको छ । यसरी छनौट हुने स्रष्टाहरुमा कवि देवेन्द्र शक्तेन राई, निबन्धकार दिपक सापकोटा र लिम्बू भाषाका साहित्यकार मलिशा याक्थुङबा (महेन्द्रकुमार नेम्बाङ) रहेका छन् ।
प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्बाङले आइतबार बिज्ञप्ती जारी गर्दै सम्मान तथा पुरस्कार प्रदान गरिने स्रष्टाहरुको नामावली सार्वजनिक गरेका हुन् । फाल्गुनन्द गाउँपालिकाका तत्कालिन अध्यक्ष स्व. अमर नेम्बाङको साँतौ स्मृति दिवसको अवसरमा यहि माघ २६ गते फिदिममा कार्यक्रम आयोजना गरी छनाैट गरिएका स्रष्टाहरुलाई जनही ५० हजार नगद र सम्मान पत्र सहित सम्मान तथा पुरस्कृत गरिने अध्यक्ष नेम्बाङले जानकारी दिए ।

सोही दिन प्रतिष्ठानले जेहन्दार विद्यार्थीलाई छात्रवृति समेत वितरण गर्ने जनाएको छ । यसका लागि फाल्गुनन्द गाउँपालिका– ३ स्थित श्री सारताप मनरत्न मा.वि. सारतापको कक्षा ८ मा अध्ययनरत सोनी नेम्बाङ, सोही वडा स्थित श्री जलसिंह मा.वि. चिम्फूलाको कक्षा ८ मा अध्ययनरत खाम्बेकहाङ चेम्जोङ र फाल्गुनन्द– ४ स्थित श्री कृष्ण मा.वि. चिलिङदिनको कक्षा ९ मा अध्ययनरत अन्जन चेम्जोङलाई छनौट गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । कार्यक्रममा विपदवाट पीडित परिवारलाई समेत राहत वितरण गरिने अध्यक्ष नेम्बाङले जानकारी दिए ।
को हुन् अमर नेम्बाङ लिम्बू ?
अमर नेम्बाङ लिम्बूको जन्म वि.सं. १९९८ साल श्रावण २३ गते पाँचथरको फाल्गुनन्द गाउँपालिका–३, पौवामा भएको थियो । पाश्चात्य साहित्यको गहिरो अध्ययन गरेका नेम्बाङले इको राइटिङलाई आफ्नो मूख्य लेखनको विषय छानेका थिए । उनका सम्झनाका तरेलीहरू, अमेरिका भ्रमणका केही सम्झनाहरू (संस्मरण) र एउटा साँझको अवसान कविता संग्रह प्रकाशित छन् ।

नेम्बाङले २०३३ सालमा जनपक्षीय उम्मेदवार भएर चिलिङदेन गाउँको नेतृत्व सम्हालेका थिए । त्यसपछि, तत्कालिन पौवासारताप गाविसमा अध्यक्षमा निरन्तर निर्वाचित भएका थिए । २०७४ सालको भएको स्थानीय तह निर्वाचनमा फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । नेम्बाङले पहिलो पटक स्थानीय तहबाट आधारभूत तथा माध्यमिक विद्यालयमा मातृभाषा शिक्षा पठनपाठनको व्यवस्था गरेर चर्चामा आएका थिए । २०७५ साल माघ २६ गते एक कार्यक्रमलाई सम्बोधन गरेर बस्ने क्रममा हृदयघातका बेहोस भएका नेम्बाङको उपचारका क्रममा झापामा निधन भएको थियो ।
प्रकाशित मिति : २० माघ २०८२, सोमबार १ : १५ बजे






प्रतिक्रिया