मंगल बेघा
२९ मंसिर, पाँचथर । फाल्गुनन्द गाउँपालिका– ७ का नाताले नाती पर्ने ३६ वर्षीय प्रेमराज आङदेम्बेलाई हत्या गरेको आरोपमा ८२ वर्षीय ज्येष्ठ नागरिक वर्णसिंह आङदेम्बेलाई प्रहरीले आईतबार गिरफ्तार गरेको छ ।
आपसी विवादका क्रममा वर्णसिंहले छुरा प्रहार गरी प्रेमराजको हत्या गरेको भनी स्थानीयले दिएको सूचनाका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक अनिश कुमार कर्णले बताए । दुवै पक्ष बसिरहेको स्थानमा सामान्य विवादबीच वर्णसिंहले प्रेमराज माथि छुरा प्रहार गरेको स्थानीयले जानकारी दिए । छातीमा छुरा लागेका पीडितको घटना स्थलमै मृत्यू भएपछि प्रहरीलाई जानकारी दिइएको स्थानीयले बताए ।
आरोपितको जिल्ला अदालतवाट म्याद थप गरी अनुसन्धान थालिएको र उनी विरुद्ध कर्तव्य ज्यान शिर्षकमा मुद्दा चलाईने प्रहरी नायव उपरीक्षक कर्णले बताए । लासको जिल्ला अस्पतालमा पोष्टमार्टम गरी अन्त्येष्टिका लागि आफन्तलाई जिम्मा लगाइएको अस्पताल स्रोतले जनाएको छ ।
प्रकाशित मिति : ३० मंसिर २०८२, सोमबार ५ : १२ बजे






प्रतिक्रिया