पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

२३ फागुन, पाँचथर । प्रतिनिधि सभा सदस्य निर्वाचन– २०८२ को पछिल्लो मत परिणाम अनुसार पाँचथरमा नेपाली काँग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङले अग्रता लिएका छन् ।

एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लाका पाँच स्थानीय तहको मतगणना सकिदा केरुङले १० हजार २ सय ७९ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याईरहेका श्रम संस्कृति पार्टीका उम्मेदवार हस्तराज शेर्माले ८ हजार ८ सय ३६ मत प्राप्त गरेका छन् । मिक्लाजुङ, तुम्बेवा र फालेलुङ गाउँपालिकाको मतगणना सकिदासम्म अग्रता लिएका शेर्मालाई याङवरक गाउँपालिकाको मतगणना पश्चात केरुङले पछि पारेका हुन् । केरुङले फाल्गुनन्द गाउँपालिकाको मतगणना सकिदासम्म अग्रता कायमै राखेका छन् ।

यसै गरी, नेकपाका उम्मेदवार हर्कबहादुर नेम्बाङ (मिक्सा) ले ५ हजार ८ सय ९५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका अईन्द्रसुन्दर नेम्बाङले ७ हजार ७ सय ४६ मत प्राप्त गरेका छन् । राष्ट्रिय परिवर्तन पार्टीका टेकबहादुर सुव्वाले १ हजार ७ सय ६७, रास्वपाका महेन्द्र विक्रम थाम्सुहाङले १ हजार ३ सय १९ र राप्रपाका तेजकुमार कुरुम्बाङले ३ सय ३४ मत प्राप्त गरेका छन् ।

जनता समाजवादी पार्टीका मचिन्द्रप्रसाद बेघाले १ सय ५३, राष्ट्रिय मुक्ती पार्टीका मित्र लिङदेनले १ सय ४३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भानुभक्त फियाकले १ सय १८ मत प्राप्त गरेका छन् । यसै गरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का विजय नेम्बाङले ९७, प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रकाश काफ्लेले ६० र नेपाल जनमुक्ती पार्टीका नरेन्द्रप्रसाद कुरुम्बाङले ४१ मत प्राप्त गरेका छन् । प्राप्त मत परिणाम अनुसार मंगोल नेस्नल अर्गनाईजेसका रामकुमार तुम्रोकले २८ र नेपाल मजदुर किसान पार्टीका लक्षुमन तामाङले २६ मत प्राप्त गरेका छन् ।

हालम्म ३९ हजार २ सय २७ मत गणना भईसकेको र २ हजार १ सय २५ मत बदर भएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसपछि कुम्मायक, हिलिहाङ गाउँपालिका र फिदिम नगरपालिकाको मतगणना हुने समेत सो कार्यालयले जानकारी दिएको छ ।

एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथर जिल्लामा विहिबार सम्पन्न निर्वाचनमा ४९.६३ प्रतिशत मतदान भएको थियो । कुल १ लाख ४३ हजार ४ सय ८ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा ३३ हजार ६ सय १५ महिला र ३७ हजार ५ सय ५५ पुरुष सहित ७१ हजार १ सय ७१ जनाले मतदान गरेका थिए । निर्वाचन सम्पन्न गर्न १ सय २ मतदान स्थल र १ सय ७९ मतदान केन्द्र स्थापना गरिएका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ६ : ०२ बजे