विदेशी जेलमा एक हजार भन्दा बढी नेपाली रहेका र तीमध्ये ७ जनालाई आजीवन कारावासको सजाय भोगिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
१७ असोज, काठमाडौं । विदेशी जेलमा एक हजार भन्दा बढी नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
केही समयअघि सांसदको प्रश्नमा परराष्ट्र मन्त्रालयले दिएको जवाफ हालै संघीय संसद् सचिवालयले प्रकाशन गरेको छ । जसमा १ हजार १७१ नेपाली विदेशी जेलमा रहेको उल्लेख छ । यसमध्ये ७ जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ ।
बाँकी जानकारी मन्त्रालयले उपलब्ध गराएको छैन । जेलमा रहेकामध्ये कुन देशमा कति जना र के कस्ता मुद्दामा आरोपित छन् भन्ने पनि खुलाइएको छैन ।
भदौ २३ र २४ गते जेनजीको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भए । त्यसपछि प्रतिनिधिसभाबाट अर्को सरकार बन्ने अवस्था रहेन ।
पूर्व प्रधानन्यायाधीश सुलीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते प्रतिनिधिसभा विघटन गरेका छन् ।
प्रतिनिधिसभा विघटन भएपछि पछिल्लो अधिवेशनमा भएको कामकारबाहीको विवरण संसद सचिवालयले सार्वजनिक गरेको छ । जस अन्तर्गत सांसदका प्रश्न र सम्बन्धित मन्त्रालयका उत्तर समेत सार्वजनिक गरिएको हो ।
विघटित प्रतिनिधिसभा सदस्य सोबिता गौतमले यस सम्बन्धमा परराष्ट्र मन्त्रालयलाई लिखित प्रश्न गरेकी थिइन् । गौतमको प्रश्न थियो, ‘हाल कति नेपाली नागरिक विदेशी जेलहरूमा रहेका छन् ? ती नेपालीलाई कानूनी सहायता प्रदान गर्न नेपाल सरकारले के कस्ता पहलहरू गरिरहेको छ ? हालसम्म कति नेपाली नागरिकलाई कानुनी सहायता प्रदान गरिएको छ ?’
लिखित जवाफ पठाउँदै परराष्ट्र मन्त्रालयले विदेशस्थित नेपाली नियोगहरूबाट प्राप्त जानकारी अनुसार विभिन्न देशका विदेशी जेलमा रहेका नेपालीको संख्या १ हजार १७१ जना रहेको बताएको हो ।
विदशी जेलमा रहेका नेपालीलाई सरकारले कानुनी सहायता प्रदान गर्दै आएको परराष्ट्र मन्त्रालयले जनाएको छ । जवाफमा उल्लेख भएअनुसार, विदेशस्थित जेलमा रहेका नेपाली नागरिकलाई नेपाल सरकारबाट कानुनी तथा कन्सुलर सेवा प्रदान गर्ने गरिएको छ ।
अनलाइन खबरवाट
प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार ६ : ०८ बजे
प्रतिक्रिया