पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

नेपालकै तेस्रो ठूलो गाउँपालिका हो फक्ताङलुङ । ताप्लेजुङ जिल्लाको आधा भू–भाग ओगट्ने यो क्षेत्र हिमाल, पहाड, र नदीको आकर्षक संगम हो । यही भू–भागको काखमा टल्किन्छ विश्वकै तेस्रो अग्लो कञ्चनजंघा हिमाल, जसले यहाँको आकाश मात्र होइन, स्थानीय बासिन्दाको सपना र आत्मविश्वास पनि उचालेको छ । भौगोलक विकटता, सीमित बजेट र कठोर मौसमका बावजुद पनि फक्ताङलुङको विकासलाई गति दिन जनप्रतिनिधि राजन लिम्बू (मुक्ति) अहोरात्र क्रियाशील हुनुहुन्छ । भूतपूर्व सिंगापुर लाहुरे हुदै स्थानीय सरकारको नेतृत्वसम्मको उहाँको यात्रा अनुकरणीय बनेको छ । स्वास्थ्य, शिक्षा, पूर्वाधार र आत्मनिर्भर बजेट निर्माणमा केन्द्रित उहाँको कदमहरुले गाउँपालिका विकासको नयाँ कथा लेखिरहेको छ । हाम्रा संवाददाता नारायण तुम्बापोसँग अध्यक्ष मुक्तिले आफ्ना अनुभव, उपलब्धि, चुनौती र भावी योजना यसरी बाड्नुभयो ः–

स्थानीय सरकारको नेतृत्वको अनुभव कस्तो छ?
सिंगापुर पुलिस सेवामा रहँदा तत्कालिन प्रधानमन्त्री लि कुआन युको व्यक्तिगत सुरक्षा टोलीमा काम गर्ने अवसर पाएको थिएँ । उनको दूरदृष्टि, कार्यशैली र जनप्रतिबद्धताले मलाई गहिरो छाप पारेको थियो । त्यही प्रेरणाले फर्किएर आफ्नो गाउँको सेवामा लाग्ने सोच पलायो । नेतृत्व भनेको पदको गर्व होइन, जनताको भरोसा हो । अहिले गाउँपालिकाको अध्यक्षको रुपमा त्यो भरोसा निभाउन दिनरात खटिरहेको छु । जनताको अनुहारमा देखिने सन्तुष्टि नै मेरो ठूलो भरोसा हो ।

चुनावी वचन कत्तिको पूरा गर्न सक्नु भयो?
वचनका नाममा हावादारी सपना बेच्ने पक्षमा म कहिल्यै थिइन । स्वास्थ्य, शिक्षा र पूर्वाधारमा सरल र प्रभावकारी पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता मात्र जनतालाई सुनाएको थिएँ । आजसम्म ९५ प्रतिशत भन्दा बढी वाचा पूरा भइसकेका छन् । बाँकी अल्पकालीन काम पनि यो कार्यकालमै सम्पन्न गर्ने विश्वास छ ।

अहिलेसम्मका मुख्य उपलब्धि के के हुन्?
स्वास्थ्यमा दुई एम्बुलेन्स, प्रत्येक वडामा स्वास्थ्य इकाई, प्रसुति सेवा, निशुल्क एम्बुलेन्स व्यवस्था गरेका छांै । सहिद परिवारका लागि मुलुकभर निशुल्क एम्बुलेन्स सुविधा, गाउँमै एमबिबिएस डाक्टर नियुक्ति र फार्मेसी सञ्चालन गरिएको छ । त्यसैगरि शिक्षामा सबै विद्यालय अङ्ग्रेजी माध्यममा रुपान्तरण, विज्ञान प्रयोगशाला, शुल्कमुक्त शिक्षा, हाइड्रो–इलेक्ट्रिकल इन्जिनियरिङमा निशुल्क प्राविधिक तालिमको प्रबन्ध गरेका छौ । मास्टर डिग्रीसम्म अध्ययन गर्न चाहनेका लागि छात्रवृत्ति प्रदान गरिरहेका छौ । कृषितर्फ आफ्नै कृषि ज्ञान केन्द्र खोलेका छौ । यहाँबाट कृषि तथा पशुपंक्षी सम्बन्धि अनुसन्धान गर्ने गराउने कार्य भइरहेको छ । ज्ञान केन्द्रबाट विदेशी विज्ञमार्फत पनि कृषि बारे व्यावसायिक सीप र प्राविधिक ज्ञान हस्तान्तरण भइरहेको छ । पूर्वाधारमा मानव वस्तीसम्म मोटरबाटो विस्तार गरिएको छ । प्रशासकीय भवन निर्माण अन्तिम चरणमा छ । यी सबै प्रयासहरु विकासको एउटा निरन्तर यात्राका अङ्ग हुन् ।

अरु स्थानीय तहले यहाँबाट के सिक्न सक्छन्?
जनप्रतिनिधि भनेको जनसेवक हो । त्यसैले मैले राज्यकोषबाट कुनै व्यक्तिगत सुविधा लिएको छैन । मैले सुविधाको रुपमा पाउने सरकारी गाडीलाई एम्बुलेन्स बनाएको छु । मेरो तलव फक्ताङलुङ डेभलपमेन्ट फाउण्डेशनमा जम्मा गरेर विपन्न बालबालिकाको शिक्षा सहयोगमा लगाउने व्यवस्था गरेको छु । फक्ताङलुङका बिरामीलाई घरबाटै एम्बुलेन्समा उठाउने, उपचारपछि घरमै पु¥याउने र विपन्न बिरामीलाई २५ हाजार रुपैयाँसम्म उपचार खर्च दिने गरेका छौ । शिक्षा क्षेत्रमा उच्च शिक्षासम्म छात्रवृत्ति शुल्क र ट्युसन निशुल्क गरिएको छ । यी यहाँका विशेष सेवाहरु हुन् । यसले अन्य पालिकालाई पनि उदाहरण दिन सक्छ ।

आन्तरिक स्रोतको स्थिति कस्तो छ?
म नेतृत्वामा आएको प्रारम्भ कालमा वार्षिक १२–१३ लाख राजस्व संकलन गर्नै कठिन थियो । आज यो ८० लाखसम्म पुगेको छ । हामी स्थानीय उत्पादन र सेवा विस्तारमार्फत यो रकम अझ बढाउने योजनमा छौ । दीर्घकालमा बाह्य अनुदानमा निर्भर नभई आत्मनिर्भर बजेट बनाउन चाहन्छौ ।

आत्मनिर्भर बजेटका सम्भावना के छन्?
यहाँको जलस्रोत, पर्यटन र कृषि सम्भावना अद्भुत छन् । तमोर नदी मात्रबाट १ हजार ४ सय मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ भन्ने अध्ययन छ । हाल आधा दर्जनभन्दा बढी जलविद्युत आयोजना निर्माणाधिन छन्, जसबाट राजस्व, रोजगारी र स्थानीय सेयर वितरणमार्फत आम्दानी बढ्नेछ । कञ्जनजंघा, अलैँची उत्पादन, र चीन–भारत जोड्ने छोटो दूरीको तमोर कोरीडोरले यहाँको व्यापारिक सम्भावना अत्याधिक छ । यहाँ लिम्बू जातीय मुन्धुम अर्थात सभ्यताको उत्पति स्थल रहेकाले यस सम्बन्धित साँस्कृतिक पर्यटनबाट पनि लाभ लिन सकिने उत्तिकै स्वर्णिम सम्भावना छ ।

मुन्धुमी स्थल संरक्षणबारे के गर्दै हुनुहुन्छ?
फक्ताङलुङमा लिम्बू सभ्यताको मुन्धुमी स्थल धेरै छन् । यसलाई लिम्बू मुन्धुमी पर्यटकीय क्षेत्र घोषण गर्ने प्रक्रिया अघि बढाइसकेका छौ । डिपिआर सम्पन्न भइसकेको छ । यहाँको इखाबुमा मुन्धुमी संग्रहालय निर्माणको तयारी छ । मुन्धुमी महत्वका फक्ताङलुङ, निङ्खुरी फुक्को, काई लुङधुङ, ताङ्गेलुङ जस्ता दर्जनौ स्थललाई भावी पुस्ताका लागि सुरक्षित र पर्यटकीय रुपमा आकर्षक वनाउन चाहन्छौ ।

फक्ताङलुङको चुनौती र सम्भावना दुवैलाई कसरी हेर्नुहुन्छ?
विकट फक्ताङलुङको भू–भाग ठूलो तर जनसंख्या न्यून छ । यी दुई पक्षको संयोजन विकास बजेटका हिसाबले चुनौती हो । कठिन भौगोलिक बनावटले लागत बढाउछ । विकट भए पनि यहाँको पहाड, हिमाल र नदीले यहाँको सम्भावनाको आधार पनि बनाएका छन् । कञ्चनजंघा, ओलाङचुङगोला, घुन्सा, खाम्बाछेन, मुन्धुमी स्थल जस्ता गन्तव्य यहाँ धेरै छन् । चीनसंग जोडिने तमोर कोरीडोरको टिपताला नाका, अलैँची–जडीबुटी र जलस्रोत हाम्रो भविष्यका बल हुन् । यो स्रोतको बुद्धिमत्तापूर्ण उपयोग भयो भने आत्मनिर्भर मात्र होइन समृद्ध फक्ताङलुङ सम्भव छ ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  १२ : ५१ बजे