विजेता सलहेशले नगद ७ लाख २ हजार ८२ रुपैयाँ र उपविजेता बनेको चर्चले ३ लाख ५० हजार ८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।
मंगल बेघा
३१ साउन, पाँचथर । अन्तराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता– २०८२ को उपाधि सलहेश युवा क्लब, सिराहाको पोल्टामा परेको छ ।
जिल्ला सदरमुकाम फुङलिङ वजार स्थित भानुजन माविको खेलमैदानमा शनिबार भएको फाईनलमा ए डिभिजन क्लब चर्च ब्वाइज युनाईटेड, ललीतपुरलाई २–० ले हराउँदै सलहेशले उपाधि आफ्नो पोल्टामा पारेको हो । गत संस्करणको उपविजेता सलहेशले उपाधि चुम्न दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

हिलाम्मे खेलमैदान भए पनि आक्रमक फुटबल पस्केका दुवै टोलीले पहिलो हाफ ०–० को बराबरी खेले । दोस्रो हाफको ७९ औं मिनेटमा सलहेशका सुनिल खड्काले गोल गर्दै आफ्नो टिमलाई १–० को अग्रता दिलाए । विपक्षी डिफेण्डरले क्लियर गर्न नसकेको बललाई उनले डिबक्स लाईन नजिकैवाट वान टचमै जाली चुमाएका थिए । यसै गरी, खेलको ९० औं मिनेटमा युसुफ मल्लिकले गोल गर्दै २–० को अग्रतासहित आफ्नो टिमको जित सुनिश्चित गरे । दाँया भागवाट आएको पासलाई डिबक्सभित्र अनमार्क रहेका मल्लिकले हेड मार्फत जाली चुमाएका थिए ।
लाखे जात्रा सञ्चालन समितिद्धारा आयोजित प्रतियोगिताको विजेता सलहेशले नगद ७ लाख २ हजार ८२ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त ग¥र्यो । उपविजेता बनेको चर्चले ३ लाख ५० हजार ८२ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।
सेमिफाईनलमा सलहेशले जोया रेडस्टार फुटबल क्लब, झापालाई २–० ले पराजित गर्दै फाईनल प्रवेश गरेको थियो । यसै गरी, चर्च ब्वाईजले सेमिफाईनलमा दि योङ ब्रदर्स क्लब, सुनसरीलाई टाईब्रेकरमा ३–१ ले हराउँदै फाईनल यात्रा तय गरेको थियो । निर्धारित समयमा दुवै टिमले १–१ को बराबरी खेलेपछि खेलको नजिता टाईब्रेकर मार्फत लिइएको थियो ।

प्रतियाेगितामा व्यक्तिगत विधा तर्फ सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक र नव उदयमान खेलाडीलाई जनही १५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ । यसै गरी, हरेक खेलको म्यान अफ दि म्याच बन्ने खेलाडीलाई समेत नगद ७ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताका विजेता, उपविजेता तथा व्यक्तिगत विधामा उत्कृष्ट स्थान हाँसिल गर्ने खेलाडीहरुलाई समापन समारोहका अतिथिहरुले नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरे ।
प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार ८ : ०८ बजे
प्रतिक्रिया