मंगल बेघा
२८ साउन, पाँचथर । अन्तराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता– २०८२ को बुधबार हुने पहिलो सेमिफाईनलमा योङ ब्रदर्स क्लब, सुनसरी र ए डिभिजन क्लब चर्च ब्वाइज, ललीतपुर भिड्दै छन् ।
जिल्ला सदरमुकाम फुङलिङ वजार स्थित भानुजन माविको खेलमैदानमा दिउँसो ३ः०० वजे हुने खेलमा दुवै टोली फाईनल प्रवेशको लक्ष्य सहित मैदान उत्रने छन् । क्वाटर फाईनलमा योङ ब्रदर्सले आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ ले पाखा लगाउँदै सेमिफाईनल प्रवेश गरेको थियो । यसै गरी, चर्चले प्रतियोगिताको एक मात्र विदेशी टोली लिजेण्ट फुटबल एकेडेमी, सिलिगुडी भारतलाई २–१ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको थियो ।
यसै गरी, बिहिबार हुने दोस्रो सेमिफाईनलमा जोया रेडस्टार फुटबल क्लब, झापाले गत वर्षको उपविजेता सलहेश युवा क्लब, सप्तरीको सामना गर्दैछ । क्वाटर फाईनलमा रेडस्टारले सहारा क्लब, पोखरालाई २–० ले पाखा लगाउँदै अन्तिम चारको यात्रा तय गरेको थियो । यसै गरी, सलहेशले फिदिम स्पोर्टिङ क्लब, पाँचथर विरुद्ध ६–० को फराकिलो जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको थियो ।
लाखे जात्रा सञ्चालन समितिद्धारा आयोजित प्रतियोगिताको विजेताले नगद ७ लाख २ हजार ८२ रुपैयाँ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समितिले जनाएको छ ।
यसै गरी, व्यक्तिगत विधा तर्फ सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक र नव उदयमान खेलाडीलाई जनही १५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने आयोजकले जनाएको छ । यसै गरी, हरेक खेलको म्यान अफ दि म्याच बन्ने खेलाडीलाई समेत नगद ७ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ ।
प्रतियोगिता सञ्चालन गर्न ६४ लाख रुपैयाँ खर्च हुने आयोजकको जनाएको छ । फाइनल खेल साउन ३१ गते हुनेछ ।
प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार १२ : ०१ बजे
प्रतिक्रिया