पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

२१ असार, पाँचथर । नेपालले एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मलेसियामा शनिबार सम्पन्न फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि हात पारेको हो ।

सिंगापुरले दिएको ११४ रनको सामान्य लक्ष्य भेट्टाउन नेपाललाई कठिन भएकाे थियाे । नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । नेपालका लागि जोय थापाले सर्वाधिक २४ रन बनाए । शिवांश बजगाईंले २०, शुभम खनालले १८, प्रशिद्ध जैशीले १७, परिमार्जन यादवले १३ र अभय यादवले १० रन जोडे ।

सिंगापुरमा कपिश भेङ्कटरमणले ४ विकेट लिँदा यवान पाण्डेले २ र वेदांश गुप्ताले १ विकेट लिए । त्यसअघि टस जित्दै पहिले ब्याटिङ रोजेको सिंगापुर ४० दशमलव ५ ओभरमा अलआउट हुँदै ११३ रनमा समेटिएको थियो । सिंगापुरका लागि ओपनर रोहन अस्टीन अरुणले सर्वाधिक २३ रन बनाए ।

८४ बल खेलेका उनले २ चौका प्रहार गरे । यस्तै कप्तान रिहान नाइकले १५ रन बनाउँदा वेदान्श गुप्ताले १२ र आकाश तेजाले १० रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सिंगापुरलाई सस्तैमा समेट्नका लागि नेपालका अभय यादव र शुशिलबहादुर रावलले ३/३ विकेट लिए । शुभम खनालले २ र कप्तान विपिनप्रसाद शर्माले १ विकेट लिए ।

नेपालले सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै फाइनल प्रवेश गरेको थियो । सिंगापुरले हङहङलाई हराउँदै नेपालसँग उपाधि भीडन्त सुनिश्चित गरेको थियो ।

नेपालले यस अघि सन् २०२३ मा भएको इस्ट जोन कपको पनि उपाधि जितेको थियो । त्यसअघि एसीसीले यू-१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजना गर्दै आएको थियो र नेपालले २०१७ र २०१९ मा पनि लगातार उपाधि जितेको थियो ।

फाेटाे : CAN काे फेसबुक पेज

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ३ : ५० बजे