नारायण तुम्बापो
ताप्लेजुङ । ताप्लेजुङको तापेथोकमा पाँच दिने आवासीय लेखपढी तथा कानुनी सचेतना तालिम सम्पन्न भएको छ । फक्ताङलुङ गाउँपालिका न्यायिक समितिको सहयोग तथा पावर पोष्ट मिडिया प्रालि पाँचथरको सहजिकरणमा तालिम भएको हो ।
असार १ देखि सुरु भएर तालिम ५ गते सम्पन्न भएको हो । तालिममा फक्ताङलुङ गाउँपालिकाका सातै वडाका २५ जनाको सहभागिता रहेको थियो । यहाँको विकटताका कारण सहभागिको सहजिकरणका लागि आवसीय तालिमको आयोजना गर्नु परेको हो । एकदेखि दुई दिनसम्म लगाएर हिडेर आएका खेजेनिम, इखाबु, लेलेप, ओलाङचुङगोला लगायतका सहभागिले तालिमबाट लाभ लिएका छन् । तालिमको सहजिकरण अभिवक्ता युधिष्टिर राज आमगाईले गर्नुभएको थियो ।

स्थानीय स्तरमा हुने विभिन्न कारोबारको लिखत र विभिन्न निकायमा पेस गरिने निवेदनको मस्यौदा तयार गर्न तालिममा सिकाइएको थियो । आधारभूत कानुनी ज्ञान पनि प्रशिक्षार्थीलाई सिकाइएको थियो । स्थानीयस्तरमा हुने विभिन्न कारोवारको पारदर्शिता, आर्थिक अनुशासन प्रवद्र्धन गर्न सके यसबाट सामाजिक सत्भाव, एकताको अवस्था निर्माण गर्न सकिन्छ ।
यहि उदेश्य पूर्ति गर्न यस प्रकारको तालिमको आयोजना गरिएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनुभयो । कानुनी हिसावले पनि सचेत पारे समुदायमा हुने विभिन्न प्रकृतिका हिंसा, अपराध निरुत्साहित हुन सहयोग पुग्छ । त्यसैगरि आफ्नो हक, अधिकार हनन् हुन नदिनेमा नागरिक सक्षम हुन सक्छन् भन्ने अपेक्षाले यस विषयमा पनि नागरिकलाई शिक्षित पार्न खोजिएको उपाध्यक्ष रविन साम्रा लिम्बूले बताउनुभयो । यसबाट समाजिक विकासमा धेरै योगदान पुग्नेमा आफूहरुको विश्वास रहेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार ८ : ०५ बजे
प्रतिक्रिया