छिमेकमा चलेको संघर्षले नेपालीलाई पनि चिन्तित र त्रसित बनायो । भारतीय सेनामा भर्ती भएका नेपालीका परिवारले दियो बालेर दीर्घायुको कामना गरिरहे ।
अमृत सुवेदी
३० वैशाख, पोखरा । १/२ महिना लगाएर हुलाकबाट आइपुग्ने लाहुरेका चिठी । घरबुना झोलामा राखेर चिठी पुर्याउँदै हिँड्ने हलकारा । लाहुरे आउँदा बस्तीभरि छाउने खुसी । जीवनकै लयलाई प्रलय बनाइदिने लाहुरबाट आइपुग्ने धागोले बाँधेका चिठी । लाहुरे संस्कृतिबाट यी कुरा अहिले हराउँदै गए तर, भावना ताजै छन् ।
प्रविधिको तीव्र विकासले अहिले छिनमै आइपुग्छ लाहुरे र उनीहरु खटिएको ठाउँको खबर । यसरी नै उतिबेलै आइपुग्यो, भारत र पाकिस्तानबीच जम्मु–कश्मिरमा लडाइँ चलेको खबर ताङतिङ कास्कीका दुर्गाबहादुर गुरुङको घरसम्म । जम्मु–कश्मिर, जहाँ दुर्गाबहादुरका भाइ उमराज युद्धमैदानमा छन् ।
उमराजले घरमा फोन गरेर भनिसकेका थिए, ‘युद्ध सुरु भयो, यसकै लागि भर्ती भएकाले लड्नै पर्यो । कतिदिन चल्छ थाहा छैन तर मेरो चिन्ता नलिनु ।’ परिवार, आफन्तको मन न हो, जति छिटो लडाइँको खबर आयो, त्योभन्दा तीव्र गतिमा डर र चिन्ता फैलियो ।
२२ अप्रिल २०२५ (९ वैशाख २०८२) मा जम्मु–कश्मिरको पहलगाममा आतंकवादी हमला भएलगत्तै भारत सरकारले सेनालाई तम्तयार पार्दै भनेको थियो, ‘फेरि पनि हमला हुन सक्छ, अब साहसका साथ जवाफ दिनुपर्छ ।’
दुश्मनसँग लड्नकै लागि कसम खाएर भारतीय सेनामा भर्ती भएका कास्की ताङतिङका उमराज गुरुङ जम्मुकश्मिरमा तैनाथ थिए । पहलगाममा १ नेपालीसहित २६ जनाको ज्यान गएपछि भारतमात्रै होइन, सिंगो विश्वलाई नै तरंगित पारेजस्तै उमराजमा पनि रगत उम्लिएको थियो ।
पहलगाममा पाकिस्तानले नै हमला गरेको निश्कर्षसहित भारतले त्यसको जवाफ दिने तयारी गरेर सेनाहरुलाई छुट्टी नबस्न भनेको थियो । छुट्टीमा रहेकाहरुलाई पनि हाजिर हुन उर्दी जारी गरेको थियो । पहलगाम हमलाको १५ दिनपछि भारतले पाकिस्तान नियन्त्रित कश्मिरलाई लक्षित गरी मिसाइल आक्रमण गर्यो ।
भारतले ‘अपरेशन सिन्दूर’ नाम दिएको त्यो आक्रमणपछि दोहोरो लडाइँ सुरु भयो । करिब १४ वर्ष पहिले भर्ती भएका उमराजका निम्ति लडाइँको पहिलो अनुभव थियो । भारत–पाकिस्तानका लडाकु विमान आकासमा घुम्न थाले । उज्यालो जम्मु–कश्मिरमा एकाएक अँध्यारो छाउन थाल्यो र गोलाबारी चल्यो ।
भारत–पाकिस्तान तनावले विश्वकै ध्यान खिच्यो । छिमेकमा चलेको संघर्षले नेपालतिर भने लाखौं मानिसलाई चिन्तित र त्रसित बनाइदियो ।
लडाइँ सुरु भएसँगै जम्मु–कश्मिरमा कार्यरत जवानहरुले सामाजिक सञ्जाल चलाउन पाएनन्, सम्पर्कसमेत हुन सकेन । केही दिन परिवारसँग सम्बन्ध बिच्छेद भएपछि परिवार र आफन्तलाई भने चिन्तित बनायो ।
‘यो लडाइँ ठूलो हुने भो भन्ने परिवारमा चिन्ता थियो । भर्ती भएको त लडाइँकै लागि हो । त्यो मौका यही हो भनेर उमराजले परिवारलाई सम्झायो,’ आफैं भारतीय सेनाबाट अवकास प्राप्त उमराजका दाजु दुर्गाराजले सुनाए, ‘लडाइँका लागि सेना त जहिले पनि अलर्ट नै हुन्छ तर सधैं युद्ध त हुँदैन तर परिवार र आफन्तले पीर मान्छ ।’
भारत–पाकिस्तानले युद्धविराम गर्ने सहमति गरिसकेपछि उमराजले दुई दिनअघि मात्र घरमा सम्पर्क गरेका थिए । उनले युद्धविराम गर्ने भनिए पनि फाट्टफुट्ट गोलाबारी चलिरहेको र आफूहरु पनि बंकरमै बसिरहेको जानकारी गराएका थिए ।
‘बंकर खनेर बसेको छ, एनिटाइम एलर्टमा छौं । फेरि जे पनि हुन सक्छ भन्ने उसको कुरा थियो,’ दाजु दुर्गाबहादुरले भने ।
‘बीर गोरखालीको परिचय बनाएका नेपाली अग्रपंक्तिमै रहेर लडाइँ लड्छन् । लडाइँको बेला माहोल नै गरमागरम हुन्छ । अब जे त होला भन्ने हुन्छ तयार हुने हो,’ अवकासप्राप्त उमराजका दाइ दुर्गाराज सुनाउँछन् ।
कास्की मादीका प्रशान्त गुरुङ अहिले पनि युद्धमैदानमै छन् । जुनसुकै बेला पनि फेरि युद्ध सुरु हुनसक्ने भन्दै उनीहरुलाई सतर्क अवस्थामा राखिएको छ । युद्धविराम गर्ने सहमति भए पनि पाकिस्तानबाट आतंकवादी समूह घुसेर फेरि हमला गर्न सक्ने भएकाले सीमा क्षेत्रमा तम्तयार अवस्थामै रहनुपर्ने उनी बताउँछन् ।
यता उनको परिवार प्रशान्तलाई केही नहोस् भनेर प्रार्थना गरेर बसिरहेको छ । युद्ध अन्त्यको कामनासहित घरमा दियो बालिएको छ
गोरखा शहीद लखन गाउँपालिका वडा नम्बर ८ बुंकोटका राजेन्द्र श्रेष्ठ भारतीय सेनामा भर्ती भएको १४ वर्ष भयो । उनको पल्टन अहिले कश्मिरमै छ ।
उनी पाकिस्तान वा आतंकवादीसँग लड्न तयार छन् तर उनको परिवारमा भने ठूलो त्रासदी छ । ‘कश्मिरमा लडाइँ चलिरहँदा मलाईभन्दा बढी डर मेरी आमालाई लागिरहेको छ,’ श्रेष्ठ सुनाउँछन् । भारतमा भर्ती भएका लाहुरेहरु दुश्मनलाई हराएर युद्ध लडेर जितेको कथा रच्न चाहन्छन् ।
यता आफन्त र परिवार भने उनीहरुको दीर्घायुको कामना गरिरहेका छन् । आफ्नो धर्मसंस्कृतिअनुसार उनीहरुलाई केही नहोस् भनेर प्रार्थना गरिरहेका छन् ।
अहिलेको भारत–पाकिस्तान युद्ध देखेपछि पोखराका डिल्लीजंग गुरुङले १९९९ मा आफूले लडेको कारगिल लडाइँ सम्झिए । डिल्लीजंगका साइला भाइ त्यो लडाइँभन्दा पहिले नै भारतमा मारिएका थिए । दाइ मारिएपछि काइँला भाइले भारतीय सेनाकै जागिर छोडे तर डिल्लीजंगले कारगिलको लडाइँ लडे ।
‘कतिबेला दुश्मन आइपुग्छ, लडाइँ चल्छ थाहै हुँदैन । १९९९ मा कारगिलमा पनि त्यस्तै भयो । करिब ३ महिना कारगिलको लडाइँ लडियो । भारतबाट झण्डै ६ सय मारियो । पाकिस्तानको धेरै मर्यो,’ डिल्लीजंगले युद्धलाई जोडे, ‘यहाँ लडाइँमा पठाएको चिठी ३ महिनामा आइपुगेको थियो । अहिले उतिबेलै खबर आउँछ, परिवारमा झन् पीर बढ्छ ।’
डिल्लीजंगकी श्रीमती पूर्णसुब्बाले लडाइँताका हरेक दिन पाजे पैंकु (भूमिथान)मा चोखो पानी चढाएर दियो बालेको सम्झिन्छन् ।
अहिले भारत–पाकिस्तान लडाइँले पनि भारतीय सेनामा कार्यरत लाहुरेका परिवार, आफन्त गरी लाखौं मानिसलाई तरंगित गराएको भूतपूर्व गोर्खा बिग्रेड पोखराका अध्यक्ष तथा अवकासप्राप्त कर्णेल कृष्णबहादुर खत्रीले बताउँछन् ।
‘भारतमा ३० वटा बटालियनमा करिब १५–१८ हजार सेना नेपाली कार्यरत रहेको अनुमान छ । एउटा बटालियनमा करिब ४० प्रतिशत नेपाली हुन्छन्,’ खत्री भन्छन्, ‘करिब ६२ हजारले भारतीय पेन्सन क्याम्प पोखराबाट पेन्सन लिन्छन् । सिभिल सर्भिस गर्ने पनि छन् । ती सबैमा युद्धको तरंग पुग्यो ।’
गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का पूर्वमहासचिव डा. चन्द्रबहादुर गुरुङका अनुसार भारतमा ७ वटा गोर्खा रेजिमेन्ट र ४ वटा ट्रेनिङ सेन्टर छन् । चन्द्रबहादुर आफैं पनि भारतीय सेनामा भर्ती भएर जम्मु–कश्मिरको छोटो अनुभव संगालेर जागिर छोडेर फर्किएका हुन् ।
गोर्खा भर्तीबारे लामो समयदेखि वकालत गर्दै आएका डा. चन्द्रबहादुरका अनुसार हरेक रेजिमेन्टमा ६/६ वटा बटालियन हुन्छन् । हरेक बटालियनमा १ हजार जना हुन्छन् ।
ट्रेनिङ सेन्टरमा १५ सयका दरले करिब ६ हजार जना छन् । यसरी हेर्दा ४८ हजार गोर्खा सैनिक भारतमा कार्यरत रहेको गुरुङ बताउँछन् । त्यसमा आधाभन्दा धेरै भारतीय नागरिक (डोमीसाइल) हुने उनको भनाइ छ ।
भारत स्वतन्त्र भएपछि केही रेजिमेन्टलाई बेलायती सेनामा निरन्तरता दिने र केही रेजिमेन्टलाई भारतीय सेनामा रहन दिने सम्झौता भएको थियो । ११ औं रेजिमेन्टसम्म रहेकोमा दोस्रो, छैठौं, सातौं र दशौं रेजिमेन्ट बेलायती सेनामा र बाँकी भारतमा छ । भारत र ब्रिटिसका त्यही गोर्खा रेजिमेन्टमा नेपाली भर्ती हुँदै आएका थिए ।
गोर्खा रेजिमेन्टमा दार्जिलिङ, धर्मशाला, सिक्किम, अलमोडाका नागरिक पनि भर्ती भएका छन्, जसलाई भारतीय डोमीसाइल भनिन्छ । ‘यसरी हेर्दा १५ हजारभन्दा धेरै भारतीय सैनिक नेपाली हुन सक्ने अनुमान गर्न सकिन्छ । भारत–पाकिस्तान युद्धको चिन्ता तीनका परिवार, आफन्त गरी एक लाख मानिसलाई प्रत्यक्ष छ भने भारतका विभिन्न माध्यमबाट रहेका व्यक्तिका परिवारलाई पनि त्रसित बनाउँछ, देशमा नै चिन्ता बढाउँछ,’ डा. गुरुङको भनाइ छ ।
अग्निपथ योजनापछि रोकियो नेपाली भर्ती
भारत सरकारले अग्निपथ योजना ल्यएपछि २०२२ जुनबाट भने नेपालबाट भर्ती ठप्प छ । सरकारी खर्च कटौतीका निम्ति पेन्सन लगायतका सुविधा उपलब्ध नगराउने गरी ल्याइएको योजनामा नेपालले स्वीकृति जनाएको छैन र भारतीय सेनामा भर्ती रोकिएको छ ।
कोरोनाका कारण २०१९ अन्तिमबाट रोकिएको भारतीय सेनामा भर्ती हुने क्रम अब भने सधैंका लागि बन्द हुने देखिएको कर्णेल कृष्णबहादुरको भनाइ छ ।
उनका अनुसार वार्षिक २/३ हजार नेपाली भारतीय सेनामा भर्ती हुन्थे । नेपाल सरकारले मञ्जुरी नदिँदा ९/१० हजार मानिस भर्ती हुनबाट बञ्चित भइसकेका छन् । त्यसले नेपालको आर्थिक, सामाजिक क्षेत्रमा असर पारेको उनको भनाइ छ ।
‘भारतीय सेनामा भर्ती हुने नेपाली युद्धमात्रै लडेका छैनन्, उनीहरु मारिने जोखिम त छ तर त्योभन्दा ठूलो नेपालको आर्थिक विकास भएको छ । लाहुरेका कारण नेपाली समाजको विकास भएको सत्य हो,’ उनले भने, ‘भारतमा युद्ध हुँदाको असर त नेपालमा पर्ने भइहाल्यो । त्योभन्दा ठूलो असर भर्ती रोकिँदा भएको छ ।’
लाहुरे संस्कृति
नेपालका पोखरा, धरानजस्ता शहरलाई त लाहुरेहरुकै शहर पनि भन्ने गरिन्छ । भारतीय तथा ब्रिटिस सेनामा भर्ती भएका लाहुरेकै कारण पोखरामा सहरीकरणमात्रै भएन, लाहुरे संस्कृतिकै रुपमा विकास भयो ।
‘चिटिक्कका लुगा लगाएर फर्किने लाहुरेका कारण फेसन भित्रियो । नयाँ डिजाइनका कपडा मिलाएर लगाउने गर्नाले फेसनको शौख भित्रियो । मगमग बसाउने तेल र अत्तर लगाउन सिक्यो । लाहुरे हुँदै विभिन्न थरिका खाने कुरा भित्रिए,’ उनी भन्छन्, ‘आधुनिक शहर निर्माणमा योगदान गरेका लाहुरेहरुको विरासत भएको ठाउँमा युद्धले पनि नछुने, असर नगर्ने कुरै भएन ।’
भारतमा कति नेपाली छन् ?
भारत–पाकिस्तान युद्ध चर्किंदा लाहुरे जोडिएका समाजमा पर्ने डर र चिन्ता पर्ने भइ नै हाल्यो तर अर्थतन्त्रमा पनि ठूलो असर पर्ने चिन्ता भूतपूर्व सैनिक गोर्खा बिग्रेड कास्कीका सचिव क्याप्टेन शमशेर गुरुङको छ । भारतमै आश्रित नेपालको आयात प्रणालीमै युद्धले असर गर्ने हुँदा नेपालमा ठूलो महंगी, अभाव र विकासमै प्रत्यक्ष असर पार्ने उनको भनाइ छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार पाकिस्तानमा २ हजार विद्यार्थी अध्ययन गरिरहेको भए पनि भारतमा ठ्याक्कै नेपाली कति छन् भनेर अनुमान गर्न सकिँदैन । खुला सीमा हुँदै भारतका अनौपचारिक क्षेत्रमा काम गर्ने ठूलो नेपाली संख्या गरेको प्रवक्ता ढकालको भनाइ छ ।
‘खुला सीमाका कारण बिहान किनमेलमा गएर बेलुका फर्किने हुन्छन् । १/२ महिना काम गर्ने फर्किने हुन्छन् । उतैका आधार कार्ड लिएर बसेका नेपालीको संख्या पनि ठूलो छ । त्यसैले भारतमा कति नेपाली छन् भनेर एकिन गर्नै सकिँदैन,’ प्रवक्ता ढकालले भने, ‘भारत–पाकिस्तान युद्ध हुँदा भारतमै आश्रित नेपाली समाजलाई त असर पर्ने नै भइहाल्यो ।’ तर, कसरी कम क्षति र कम असर पर्न दिने भन्नेबारे सचेत रहनुपर्ने उनको भनाइ थियो ।
भारत–पाकिस्तान विवाद
१९४७ मा ब्रिटिस शासनबाट भारत स्वतन्त्रमात्रै भएनन्, धार्मिक आधारमा भारत र पाकिस्तान अलग पनि भए । दुई देश स्वतन्त्र भएसँगै जम्मु कश्मिरको भूमि विवाद, सीमापार आतंकका कारण भारत–पाकिस्तानको युद्धमा नेपाली लडेका छन् ।
भारतीय स्वतन्त्रता ऐनले मुस्लिम बहुल कश्मिर भारत वा पाकिस्तानमध्ये एकमा विलय हुन स्वतन्त्र अधिकार दिएको थियो । तर, त्यहाँ आतंकवादी हमला भएपछि भारतको सहयोग खोजे र भारतले आफूमा विलय बनाउन सर्त राख्यो ।
यही भूमि विवादमा दुई देशका युद्धमा भारतीय सेनामा भर्ती भएका नेपालीसमेत मारिएका छन् । १९६५ मा भएको युद्ध र १९९९ को कारगिल युद्ध लडेका आवकास प्राप्त नेपाली लाहुरेहरुमा अहिले पनि त्यसको कथा र किस्सा ताजै रहेको कर्णेल कृष्णबहादुर बताउँछन् । सन् १९६२ मा भारत–चीन युद्ध पनि नेपालीहरुले लडेका थिए ।
‘नेपाली समाज लाहुरेको कथाले सजिएको छ । लाहुरेका कारण बदलिएका छन् । लाहुरेकै कारण उकासिएका पनि छन्,’ कृष्णबहादुर भन्छन्, ‘गोर्खा रेजिमेन्टबाट लड्ने नेपालीको बेग्लै इतिहास र सम्बन्ध छ । यसलाई हरेक युद्धहरुले राम्रोसँग प्रभावित पारेर, कथा भरेर जान्छ ।’
अनलाइन खबरवाट
प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार १२ : १२ बजे
प्रतिक्रिया