मंगल बेघा
२९ फागुन, पाँचथर । फिदिममा जारी अन्तराष्ट्रिय आमन्त्रण वाइवाइ पाँचौं पाँचथर गोल्डकप फुटबल प्रतियोगिता– २०८१ मा आज (बिहिबार) हुने दोस्रो सेमिफाईनलमा नमो बुद्ध युथ फुटबल क्लब, सप्तरीले चर्च बोइज युनाईटेड, काठमाण्डौंको सामना गर्दैछ ।
फिदिम माविको खेल मैदानमा दिउँसो २ः३० वजे हुने खेलमा दुवै टोलीको लक्ष्य फाईनल प्रवेश हुनेछ । नमो बुद्धले नेपाल पुलिस क्लब, काठमाण्डौलाई हराउँदै सेमिफाईनलको यात्रा तय गरेको थियो । विभागीय टोली विरुद्ध ३–० को सहज जित गरेको नमो बुद्ध आफ्नो लयलाई निरन्तरता दिन चाहन्छ । एलेक्स विलियम, दिपेश चाम्लिङ राई जस्ता स्तरीय स्ट्राईकरलाई रोक्नु चर्च बोइजलाई चुनौती हुनेछ ।

चर्च बोइजले प्रतियोगिताको एक मात्र विदेशी टोली हिल्स फुटबल एकेडेमी, भारत विरुद्ध ४–० को प्रभावशाली जित निकाल्दै सेमिफाईनल प्रवेश गरेको थियो । लिग लिडर चर्चसँग फाईनल यात्रा तय गर्न मैदानको अनुभव र स्तरीय खेलाडीको साथ छ । चर्चका फोफोना सहित राज भुसाल, अभिशेक महतो लगायतका खेलाडीलाई रोक्नु नमो बुद्धलाई चुनौती हुनेछ ।
आगामी चैत्र २ गतेसम्म आयोजना हुने प्रतियोगितामा ए डिभिजनका ४, १ विदेशी र आयोजक सहित मोफसलका ३ गरी जम्मा ८ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले जिल्लाको हालसम्मकै सर्वाधिक राशिको पुरस्कार ११ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा प्राप्त गर्ने पाँचथर क्लबका सचिव प्रदिप भण्डारीले जानकारी दिए ।
हरेक खेलको म्यान अफ दि म्याचले ७ हजार ५ सय प्राप्त गर्नेछ भने उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, डिफेण्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही १० हजार पुरस्कार पाउनेछन् । यसै गरी, म्यान अफ दि टुर्नामेन्ट र राईजिङ प्लेयरले जनही १५ हजार पुरस्कार प्राप्त गर्दा हरेक खेलको फ्यान अफ दि म्याचले २ हजार ५ सय प्राप्त गर्ने सचिव भण्डारीले जानकारी दिए ।
प्रतियोगिता सञ्चालन गर्न करिब ७० लाख खर्च हुने क्लबका उपाध्यक्ष योगराज सेढाईले बताए । फिदिम नगरपालिका मूख्य प्रवद्र्धक रहेको प्रतियोगिता सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद विकास बोर्ड, पाँचथरका अन्य स्थानीय तहहरु, देशविदेशका सहयोगी दाताहरुका साथै टिकेट विक्रीवाट आवश्यक रकम संकलन गरिने उपाध्यक्ष सेढाँईले जानकारी दिए ।
प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार ९ : ४९ बजे
प्रतिक्रिया