मंगल बेघा
२८ फागुन, पाँचथर । फिदिममा जारी अन्तराष्ट्रिय आमन्त्रण वाइवाइ पाँचौं पाँचथर गोल्डकप फुटबल प्रतियोगिता– २०८१ मा इन्ट्रा पथरी ११ फुटबल क्लब, मोरङलाई हराउँदै मछिन्द्र फुटबल क्लब, काठमाण्डौ उपाधि नजिक पुगेको छ ।
फिदिम माविको खेल मैदानमा बुधबार भएको प्रतियोगिताको पहिलो सेमिफाईनलमा पथरी ११ विरुद्ध ३–१ को जित दर्ता गर्दै मछिन्द्रले फाईनलको यात्रा तय गरेको हो । मछिन्द्रले पहिलो हाफमा १ र दोस्रो हाफमा थप २ गोल गरेको थियो । यसै गरी, पथरी ११ ले दोस्रो हाफ १ गोल गरेको थियो ।

अत्यान्तै प्रतिस्पर्धात्मक खेलको २४ औं मिनेटमा मछिन्द्रका विशाल घलानले उत्कृष्ट गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाए । नवयुग श्रेष्ठले मिलाई दिएको पासलाई डिबक्स बाहिरवाट उनले गरेको प्रहार पथरी ११ का गोलरक्षक समीर क्षेत्रीले बचाउन सकेनन् । मछिन्द्रको १–० को अग्रता सहित पहिलो हाफ सकिएको थियो ।
दोस्रो हाफमा आक्रमक फुटबल पस्किएको पथरी ११ ले पटक पटक आक्रमण बुनेको थियो । खेलको ६६ औं मिनेटमा पथरी ११ का अरमाण्ड बिडोङ्गले गोल गर्दै खेल १–१ को बराबरीमा फर्काए । अंकित लिम्बूले हेड मार्फत मिलाई दिएको पासलाई सदुपयोग गर्दै उनले गरेको शक्तिशाली प्रहारले जाली चुमेको थियो । दर्शकको हुटिङ पाएका दुवै टोलीले एकपछि अर्को आक्रमण बुनिरहे पनि स्कोर ननिस्कदा खेल टाईब्रेकर तिर धकेलिने अवस्था पुगेको थियो । तर पथरी ११ अन्तिम १० मिनेट सम्हालिन नसक्दा मछिन्द्रले एकपछि अर्को गोल थप्न सफल भयो ।
खेलको ८४ औं मिनेटमा मछिन्द्रका स्टेफेनले शक्तिशाली प्रहार मार्फत गोल गर्दै आफ्नो टिमलाई २–१ को अग्रता दिलाए । मोहित गुरुङको असिस्टमा उनले गोल गरेका हुन् । यसै गरी दोस्रो हाफको अतिरिक्त समयमा नवयुग श्रेष्ठले गोल गर्दै ३–१ को अग्रता सहित आफ्नो टिमको जित सुनिश्चित गरे । जय गुरुङको पासलाई सदुपयोग गर्दै उनले वान टचमै गोल गरेका थिए ।
पहिलो सेमिफाईनलको म्यान अफ दि म्याच मछिन्द्रका स्टेफेन घोषित भए । उनलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि अध्यक्ष हर्कबहादुर नेम्बाङ ‘मिक्सो’ र आयोजक पाँचथर क्लबका अध्यक्ष कमल तुम्रोकले नगद ७ हजार ५ सय र ट्रफी हस्तान्तरण गरे ।

आगामी चैत्र २ गतेसम्म आयोजना हुने प्रतियोगितामा ए डिभिजनका ४, १ विदेशी र आयोजक सहित मोफसलका ३ गरी जम्मा ८ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले जिल्लाको हालसम्मकै सर्वाधिक राशिको पुरस्कार ११ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा प्राप्त गर्ने पाँचथर क्लबका सचिव प्रदिप भण्डारीले जानकारी दिए ।
हरेक खेलको म्यान अफ दि म्याचले ७ हजार ५ सय प्राप्त गर्नेछ भने उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, डिफेण्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही १० हजार पुरस्कार पाउनेछन् । यसै गरी, म्यान अफ दि टुर्नामेन्ट र राईजिङ प्लेयरले जनही १५ हजार पुरस्कार प्राप्त गर्दा हरेक खेलको फ्यान अफ दि म्याचले २ हजार ५ सय प्राप्त गर्ने सचिव भण्डारीले जानकारी दिए ।
प्रतियोगिता सञ्चालन गर्न करिब ७० लाख खर्च हुने क्लबका उपाध्यक्ष योगराज सेढाईले बताए । फिदिम नगरपालिका मूख्य प्रवद्वक रहेको प्रतियोगिता सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद विकास बोर्ड, पाँचथरका अन्य स्थानीय तहहरु, देशविदेशका सहयोगी दाताहरुका साथै टिकेट विक्रीवाट आवश्यक रकम संकलन गरिने उपाध्यक्ष सेढाँईले जानकारी दिए ।
बिहिबार हुने दोस्रो सेमिफाईनलः
चर्च बोइज युनाईटेड, काठमाण्डौं विरुद्ध नमो बुद्ध युथ फुटबल क्लब, सप्तरी
प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार ७ : १६ बजे
प्रतिक्रिया