पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

२६ फागुन, पाँचथर । अन्तराष्ट्रिय आमन्त्रण पाँचौं पाँचथर गोल्डकप फुटबल प्रतियोगिता– २०८१ मा आज (सोमबार) मछिन्द्र फुटबल क्लब, काठमाण्डौंले हिमालयन शेर्पा क्लब क्लब, काठमाण्डौंको सामना गर्दैछ ।

फिदिम माविको खेल मैदानमा दिउँसो २ः३० वजे हुने प्रतियोगिताको तेस्रो क्वाटर फाईनलमा ए डिभिजनका दुई क्बलहरु आमने सामने हुन लागेका हुन् । राष्ट्रिय खेलाडीहरुले भरिभराउ मछिन्द्रको लयलाई रोक्न हिमालयन शेर्पालाई चुनौती हुनेछ । यो खेल मैदानमा मछिन्द्रलाई हालै सम्पन्न ११ औं संस्करणको फल्गुनन्द गोल्डकपको फाईनल खेलेको अनुभव छ । दुवै टोलीको लक्ष्य सेमिफाईनलमा प्रवेश हुने रहेको छ ।

आइतबार भएको दोस्रो क्वाटर फाईनमा लिग लिडर चर्च बोइज युनाईटेड, काठमाण्डौले एक मात्र विदेशी टिम हिल्स फुटबल एकेडेमी भारतलाई ४–० को फराकिलो अन्तरले पाखा लगाउँदै सेमिफाईनलको यात्रा तय गरेको छ । यसै गरी, शनिबार भएको उद्घाटन खेलमा आयोजक पाँचथर क्लब विरुद्ध २–० को जित दर्ता गर्दै इन्ट्रा पथरी– ११ फुटबल क्लब मोरङ पनि सेमिफाईनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको विजेताले जिल्लाको हालसम्मकै सर्वाधिक राशिको पुरस्कार ११ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा प्राप्त गर्ने पाँचथर क्लबका सचिव प्रदिप भण्डारीले जानकारी दिए । हरेक खेलको म्यान अफ दि म्याचले ७ हजार ५ सय प्राप्त गर्नेछ भने उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, डिफेण्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही १० हजार पुरस्कार पाउनेछन् । यसै गरी, म्यान अफ दि टुर्नामेन्ट र राईजिङ प्लेयरले जनही १५ हजार पुरस्कार प्राप्त गर्दा हरेक खेलको फ्यान अफ दि म्याचले २ हजार ५ सय प्राप्त गर्ने सचिव भण्डारीले जानकारी दिए ।

आगामी चैत्र २ गतेसम्म आयोजना हुने प्रतियोगितामा ए डिभिजनका ४, १ विदेशी र आयोजक सहित मोफसलका ३ गरी जम्मा ८ टिम सहभागी छन् । प्रतियोगिता सञ्चालन गर्न करिब ७० लाख खर्च हुने क्लबका उपाध्यक्ष योगराज सेढाईले बताए । फिदिम नगरपालिका मूख्य प्रवद्र्धक रहने प्रतियोगितालाई सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद विकास बोर्ड, पाँचथरका अन्य स्थानीय तहहरु, देशविदेशका सहयोगी दाताहरुका साथै टिकेट विक्रीवाट आवश्यक रकम संकलन गरिने उपाध्यक्ष सेढाँईले जानकारी दिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ७ : ५१ बजे