पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

२४ फागुन, पाँचथर । जिल्लाकै सर्वाधिक राशिको अन्तराष्ट्रिय आमन्त्रण पाँचौं पाँचथर गोल्डकप फुटबल प्रतियोगिता– २०८१ मा आज (शनिबार) सुरु हुने भएको छ ।

फिदिम माविको खेल मैदानमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक पाँचथर क्लब र इन्ट्रा पथरी ११ फुटबल क्लब मोरङबीच हुनेछ । दुवै टिम सेमिफाईनलको लक्ष्यसहित मैदान उत्रने छन् । यसका लागिस्थानीय र अन्य क्षेत्रका स्तरीय खेलाडी समावेश गरी टिम तयार गरेको दुवै टिमले जनाएका छन् ।

दिउँसो १२ वजे सुरु हुने प्रतियोगिताको औपचारिक उद्घाटन समारोहमा मार्च पास सहित विभिन्न साँस्कृतिक झाँकीहरु समेत प्रस्तुत गरिने आयोजक पाँचथर क्लबका अध्यक्ष कमल तुम्रोले बताए ।

प्रतियोगिताको आइतबार हुने दोस्रो क्वाटर फाइनलमा ए डिभिजन क्लब चर्च बोइज युनाईटेड फुटबल क्लब काठमाण्डौले एक मात्र विदेशी टिम हिल्स फुटबल एकेडेमी भारतको सामना गर्नेछ । सोमबार हुने तेस्रो क्वाटर फाइनलमा ए डिभिजन क्लबहरु मछिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लब काठमाण्डौ भिड्नेछन् । यसै गरी, अन्तिम क्वाटर फाइनलमा नेपाल पुलिस क्बल काठमाण्डौं र नमो बुद्ध युथ फुटबल क्लब सप्तरीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै आयोजक पाँचथर क्लबका अध्यक्ष कमल तुम्रोकले सहभागी टिम तथा अफिसियल्सहरुको होटल बास, अतिथि निमन्त्रणा, स्रोतको सुनिश्चिता, प्रचार प्रसार लगायतका कार्यले पूर्णता पाएको बताए । आगामी चैत्र ४ गतेसम्म आयोजना हुने प्रतियोगितामा ए डिभिजनका ४, १ विदेशी र आयोजक सहित मोफसलका ३ गरी जम्मा ८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको विजेताले जिल्लाको हालसम्मकै सर्वाधिक राशिको पुरस्कार ११ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा प्राप्त गर्ने पाँचथर क्लबका सचिव प्रदिप भण्डारीले जानकारी दिए । हरेक खेलको म्यान अफ दि म्याचले ७ हजार ५ सय प्राप्त गर्नेछ भने उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, डिफेण्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही १० हजार पुरस्कार पाउनेछन् । यसै गरी, म्यान अफ दि टुर्नामेन्ट र राईजिङ प्लेयरले जनही १५ हजार पुरस्कार प्राप्त गर्दा हरेक खेलको फ्यान अफ दि म्याचले २ हजार ५ सय प्राप्त गर्ने सचिव भण्डारीले जानकारी दिए ।

प्रतियोगिता सञ्चालन गर्न करिब ७० लाख खर्च हुने क्लबका उपाध्यक्ष योगराज सेढाईले बताए । फिदिम नगरपालिका मूख्य प्रवद्र्धक रहने प्रतियोगितालाई सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद विकास बोर्ड, पाँचथरका अन्य स्थानीय तहहरु, देशविदेशका सहयोगी दाताहरुका साथै टिकेट विक्रीवाट आवश्यक रकम संकलन गरिने उपाध्यक्ष सेढाँईले जानकारी दिए ।

ट्रफी अनावरण

अन्तराष्ट्रिय आमन्त्रण पाँचौं पाँचथर गोल्डकप फुटबल प्रतियोगिता– २०८१ को ट्रफी अनावरण भएको छ ।

प्रतियोगिताको आयोजक पाँचथर क्लबले शुक्रबार फिदिम माविको खेलमैदानमा एक कार्यक्रमकाबीच ट्रफी अनावरण गरेको हो । क्लबका पदाधिकारीले उपस्थित पत्रकारहरु माझ विजेता र उपविजेताले प्राप्त गर्ने ट्रफी अनावरण गरेका हुन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ७ : २२ बजे