पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

२६ माघ, पाँचथर । अमर नेम्बाङ लिम्बू स्मृति साहित्य सम्मान तथा पुरस्कार साहित्यकार कृष्ण धराबासी र कवि स्वप्निल स्मृतिलाई फिदिममा शनिबार प्रदान गरिएको छ ।

साहित्यकार, राजनीतिज्ञ एवं समाजसेवीको छवि बनाएका फाल्गुनन्द गाउँपालिकाका तत्कालिन अध्यक्ष अमर नेम्बाङ लिम्बूको छैंटौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा स्रष्टाद्धयलाई जनही ५० हजार नगद, सम्मान पत्र र दोसल्ला ओढाएर पुरस्कृत गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य एवं नेपाली काँग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेको हस्तबाहुलीवाट स्रष्टाद्धयले सम्मान ग्रहण गरेका हुन् ।

नेपाली साहित्यमा लिला लेखनको प्रवर्तकका रुपमा चिनिएका धराबासीले बहुआयामिक व्यक्तित्वको नाममा स्थापित पुरस्कारवाट सम्मानित हुन पाएकोमा खुशी व्यक्त गरे । उनले पाँचथर जिल्लाले नेपाली भाषा र साहित्यको नेतृत्व गरेको दावी गरे । नेपाल प्रज्ञा प्रष्तिष्ठानलाई नेतृत्व गर्ने वैरागी काँइला, भानुभक्त पोखरेल, खगेन्द्र संग्रौला, गोविन्दराज भट्टराई, पुष्प थाम्सुहाङ जस्ता नेपाली साहित्यमा योगदान पु¥याउने व्यक्तित्वहरुको नाम लिँदै उनले तेस्रो आयाम, लिला लेखन, उत्तरवत्र्ती सोच, सिर्जनशील अराजकता जस्ता साहित्यिक आन्दोलन समेत यही जिल्लाका साहित्यकारहरुले नेतृत्व गरेको दृष्टान्त पेश गरे । यसै गरी, रङ्गवाद साहित्यिक आन्दोलनमा आवद्ध कवि स्मृतिले समेत पुरस्कृत गर्ने संस्था प्रति आभार व्यक्त गरे ।

अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानको आयोजना तथा याक्थुङ लेखक संघ केन्द्रीय कार्य समितिको संयोजनमा आयोजित कार्यक्रममा छात्रवृत्ति र राहत समेत वितरण गरिएको थियो । छात्रवृत्ति तर्फ फाल्गुनन्द गाउँपालिका ५ स्थित जनकल्याण माविको कक्षा ११ मा अध्ययनरत अञ्जना चेम्जोङलाई १५ हजार पुरस्कार वितरण गरियो । राहत तर्फ वाढीपहिरोमा परी ज्यान गुमाएका १५ परिवारलाई जनही १० हजार र बम विष्फोटमा परी ज्यान गुमाएका १ परिवारलाई समेत १० हजार राहत वितरण गरिएको प्रतिष्ठानले जनाएको छ । ।

यसै गरी, समाज सेवामा सकृय गैसरकारी संस्था हाम्रो साहारालाई समेत ५० हजार रकम हस्तान्तरण गरिएको थियो । नेपाली काँग्रेस जिल्ला कार्य समिति पाँचथरका सहसचिव एवं समाजसेवी गजेन्द्र राईको अध्यक्षतामा रहेको सो संस्थाले विपन्न परिवारका विरामीहरुलाई उपचार खर्च जुटाउनका साथै जिर्ण घर भएका परिवारलाई आवासका लागि घर निर्माण गरिदिने, सरसफाईका अभियान सञ्चालन गर्ने जस्ता सामाजिक क्रियाकलाप गर्दै आएको छ ।

कार्यक्रममा प्रमुख अतिथि आङदेम्बे सहित फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बे, नेपाली काँग्रेस जिल्ला कार्य समिति पाँचथरका निवर्तमान समापति एवं साहित्यकार नरेन्द्रकुमार केरुङ र साहित्यकार धर्मेन्द्रबिक्रम नेम्बाङले स्व. अमर नेम्बाङ लिम्बूको चर्चा गर्दै मन्तव्य राखेका थिए ।

याक्थुङ लेखक संघ केन्द्रीय समितिका अध्यक्ष प्रकाश थाम्सुहाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महासचिव मधुराज केरुङले सञ्चालन गरेका थिए भने फाल्गुनन्द प्रज्ञा प्रतिष्ठानका अध्यक्ष मनकुमार लाओती (समर्शी काँइला)ले स्वागत मन्तव्य राखेका थिए ।

काे हुन् अमर नेम्बाङ लिम्बू ?

अमर नेम्बाङ लिम्बूको जन्म वि.सं. १९९८ साल श्रावण २३ गते पाँचथरको फाल्गुनन्द गाउँपालिका–३, पौवामा भएको थियो । पाश्चात्य साहित्यको गहिरो अध्ययन गरेका नेम्बाङले इको राइटिङलाई आफ्नो मूख्य लेखनको विषय छानेका थिए । उनका सम्झनाका तरेलीहरू, अमेरिका भ्रमणका केही सम्झनाहरू (संस्मरण) र एउटा साँझको अवसान कविता संग्रह प्रकाशित छन् ।

नेम्बाङले २०३३ सालमा जनपक्षीय उम्मेदवार भएर चिलिङदेन गाउँको नेतृत्व सम्हालेका थिए । त्यसपछि, तत्कालिन पौवासारताप गाविसमा अध्यक्षमा निरन्तर निर्वाचित भएका थिए । २०७४ सालको भएको स्थानीय तह निर्वाचनमा फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । नेम्बाङले पहिलो पटक स्थानीय तहबाट आधारभूत तथा माध्यमिक विद्यालयमा मातृभाषा शिक्षा पठनपाठनको व्यवस्था गरेर चर्चामा आएका थिए । २०७५ साल माघ २६ गते एक कार्यक्रमलाई सम्बोधन गरेर बस्ने क्रममा हृदयघातका बेहोस भएका नेम्बाङको उपचारका क्रममा झापामा निधन भएको थियो ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ९ : ४१ बजे