पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

जुड सेरिन र जन सुडवर्थ

वासिङटन डीसी र लस एन्जलस

तीव्र गतिको हुरी फर्कनुअघि आपत्कालीन उद्धारकर्ताहरूले लस एन्जलसको खतरनाक डढेलो निभाउने प्रयास पाचौँ दिन पनि जारी राखेका छन्।

हालसम्म १६ जनाको मृत्यु भएको थाहा भएको छ भने करिब एक दर्जनको अवस्था अज्ञात छ।

सबैभन्दा ठूला दुई आगलागी इटन र प्यालीसेड्स अझै पनि नियन्त्रणबाहिरै छन्। त्यस क्षेत्रमा हजारौँ अग्नि नियन्त्रकहरूलाई खटाइएको छ।

विमानबाट पानी र आगो निभाउने सामग्री खसाएर जनधनको रक्षा गर्ने प्रयास गरिएको छ। क्यालिफोर्नियाका गभर्नरले न्याश्नल गार्डको उपस्थिति बढाएका छन्।

आगो निभाउने प्रयास

अग्नि नियन्त्रकहरूले डढेलोलाई लस एन्जलसको एउटा विशिष्ट व्यक्तिहरू बस्ने क्षेत्रमा फैलन नदिन सम्पूर्ण प्रयास केन्द्रित गरिरहेका छन्।

थप एक हजार एकडमा विस्तार भएको र ब्रेन्टउड क्षेत्रतर्फ अघि बढिरहेको प्यालीसेड्स डढेलोलाई रोक्न अग्निनियन्त्रकहरूले आगलागी भइरहेको पहाडी क्षेत्रमा पानी र आगो निभाउने ‘फायर रिटार्डेन्ट’ खसाइरहेका छन्।

अग्नि नियन्त्रकहरूले तीव्र गतिमा अघि बढिरहेको आगोको लप्का नियन्त्रण गर्न सङ्घर्ष गरिरहँदा अधिकारीहरूले ती सामाग्रीहरू खासै प्रभावकारी नभएको भन्दै आक्रोशको सामना गर्नु परिरहेको छ।

राति हावाको वेग अझै बढ्ने अपेक्षा गरिएको छ र त्यसले डढेलोलाई थप शक्तिशाली बनाउन सक्ने चिन्ताहरू व्यक्त भइरहेका छन्।

लस एन्जलस काउन्टीकी सुपरीवेक्षक लिन्डसी होर्भाथले भनिन्, “एल ए काउन्टीले आतङ्क र मुटु छियाछिया पार्ने अर्को अकल्पनीय रातबाट गुज्रनुपरेको छ।”

अग्नि नियन्त्रकहरूले झन्डै २३ हजार एकडमा विस्तार भएको प्यालीसेड्स डढेलो नियन्त्रणमा जम्मा ११ प्रतिशतमात्रै सफलता हात पारेको बताइएको छ।

तर उक्त डढेलो मेनडभील क्यानयनमा फैलिएको छ जसले गर्दा ब्रेन्डउड क्षेत्रलाई खाली गराउन आदेश दिइएको छ।

उक्त विलासी क्षेत्रमा हलिउड अभिनेता आर्नोल्ड स्वाट्सनेगर, डिज्नीका प्रमुख कार्यकारी बब इगर र एनबीएका स्टर लीबोर्न जेम्सको घर रहेको छ।

खाली गराउनुपर्ने क्षेत्रमा गेटी सेन्टर पनि अवस्थित छ। पहाडको टुप्पोमा अवस्थित उक्त म्युजिअममा १ लाख २५ हजार भन्दा बढी कलाकृति छन् जसमा भान गोफ, रेमब्रान्ट, रुबेन्स, मोने र डेगसका कलाहरू पर्छन्। हालसम्म सो भवनमा क्षति पुगिसकेको छैन।

दोस्रो ठूलो डढेलो इटनले १४ हजार एकर क्षेत्रफलमा आगलागी गराएको छ र त्यो जम्मा १५ प्रतिशत नियन्त्रणमा आएको छ। अग्नि नियन्त्रकहरूले दुई साना डढेलो केनेथ र हर्स्टलाई भने नियन्त्रणमा लिएका छन्।

तर न्याश्नल वेदर सर्भिसले सान्टा आना हुरी शनिवार र आइतबार पुन तीव्र वेगसहित आउने भन्दै चेतावनी दिएको छ।

क्षतिसँगै राजनीतिक विवाद र अनुसन्धान

सात छिमेकी राज्यहरू, सङ्घीय सरकार, क्यानडा र मेक्सिकोले क्यालिफोर्नियामा स्रोत साधन उपलब्ध गराएका छन्।

डढेलोको कारण अहिलसम्म थाहा हुन सकेको छैन। दुई सर्वाधिक ठूला डढेलोले न्यूयोर्कको म्यानहटन भन्दा दुई गुणा बढी क्षेत्रफललाई नष्ट बनाइदिएका छन्।

करिब १ लाख ५३ हजार बासिन्दालाई बाध्यकारी आदेश अन्तर्गत घर छाड्न भनिएको छ र थप १ लाख ६६ हजार जनालाई उनीहरूले भाग्नुपर्ने अवस्था आउन सक्ने भनिएको छ।

लस एन्जलसको प्यासिफिक प्यालीसेड्स क्षेत्रमा हेलिकोप्टरबाट आगो निभाउने प्रयास

यसको राजनीतिक असरहरू देखा पर्न थालेको छ।

शुक्रवार गभर्नर गेभिन न्यूजमले एउटा प्रमुख जलशायले काम गर्न नसक्नु र कतिपय आगो निभाउने पदार्थ सुख्खा भएकोमा जाँच गर्न आदेश दिएका थिए।

लस एन्जलसकी अग्नि नियन्त्रण प्रमुख क्रिस्टीन क्रलीले उक्त अभावबारे गुनासो गरेकी थिइन्।

सहरको नेतृत्वले आफ्नो बजेट कटौती गरेको र मेकानिकहरू नहुँदा १०० वटा भन्दा बढी अग्नि नियन्त्रण प्रणाली काम गर्न नसक्ने अवस्थामा पुगेको उनको भनाइ थियो।

लस एन्जलसकी मेयर करिन बासमाथि मङ्गलवार डढेलो सुरु हुँदा घानाको राष्ट्रपतिको शपथग्रहणमा सहभागी भएको भन्दै आलोचना भइरहेको छ। उनले शनिवार अग्नि नियन्त्रण चिफ क्रलीसँग आफ्नो मतभेद रहेको सङ्केत गरेकी छन्।

उनले भनिन्, “म एउटा कुरा प्रस्ट राख्छु, अग्नि नियन्त्रण प्रमुख र म अहिले आगोसँग जुझ्न र जीवन बचाउन केन्द्रित छौँ। हामीबीचको कुनै पनि मतभेद हामी निजी ढङ्गले समाधान गर्छौ।”

सहरकी मेयरको राजीनामा माग गर्दै चेन्ज डट ओआरजीमा ७० हजार भन्दा बढीले हस्ताक्षर गरेका छन्।

न्याश्नल गार्ड परिचालन

लुटपाटका घटनाहरूलाई लिएर चिन्ता प्रकट भइरहँदा सूर्यास्तदेखि बिहानसम्म खाली गराइएका क्षेत्रमा कर्फ्यु लगाइएको छ।

न्यूजमले शनिवार समुदायलाई सुरक्षित राख्नका लागि १६ सय ८० न्याश्नल गार्डहरू खटाइएको बताएका थिए।

दुई दर्जनलाई लुटपाट, कर्फ्यु उल्लङ्घन र डकैतीमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको छ।

खोज तथा उद्धारमा सक्रिय ४० वटा टोलीहरूलाई तालिमप्राप्त कुकुरहरूले पनि मद्दत गरिरहेका छन्।

घरघर पुगेर खोजी कार्य सम्पन्न गरेपश्चात मृतकको सङ्ख्या बढ्न सक्ने ठानिएको छ।

विवरणहरूमा जनाइएअनुसार आगोको शक्तिका कारण कारको चक्काका फलाम तरल धातुमा परिणत भएका थिए।

एक जना रियल इस्टेट एजेन्ट रिक मक्गीले रोयटर्स समाचार संस्थालाई बताएअनुसार प्यासिफिक प्यालीसेड्स एउटा क्षेत्रका ६० मध्ये जम्मा ६ वटा मात्रै घर बचेका छन्।

उनको घरमा भर्जिन मेरीको एउटा मूर्ति मात्रै जोगिएको थियो। “त्यसबाहेक सबै खरानी र भग्नावशेषमा परिणत भयो,” ६१ वर्षका तीन सन्तानका बाबुले भने।

बीबीसी नेपालीवाट

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ४ : ५६ बजे