चीनको तिब्बतमा एउटा शक्तिशाली भूकम्पका कारण कम्तीमा ९५ जनाको मृत्यु भएको र सयौँ घरहरू भत्किएको चिनियाँ अधिकारीहरूले बताएका छन्।
चिनियाँ निकायहरूका अनुसार नेपाल-चीन सीमामा अवस्थित सगरमाथा क्षेत्रनजिकै केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पछि कैयौँ परकम्पहरू मापन गरिएको छ। उक्त भूकम्पले नेपाल, भारत र भुटानका विभिन्न स्थानमा पनि हल्लाएको थियो।
अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७.१ म्याग्निट्यूडको भएको र त्यो जमिनभन्दा १० किलोमिटर तल गएको जनाएको छ। नेपालको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार उक्त भूकम्पको क्षमता नेपालमा ५.३ म्याग्निट्यूड मापन गरिएको थियो भने नेपालबाट भूकम्पको केन्द्रबिन्दु औसत दूरी ९० किलोमिटर छ।
भूकम्प गएपछि तिब्बतको शिगात्से सहरमा १,००० वटाभन्दा बढी भवन भत्किएका र १३० जना घाइते भएको पुष्टि चिनियाँ अधिकारीहरूले पुष्टि गरेका छन्। उक्त क्षेत्रमा विद्युत् र जल वितरण प्रणाली अवरुद्ध भएको छ।
शिगात्से तिब्बती बौद्ध धर्मगुरु पन्चेन लामा बस्ने धार्मिक केन्द्र हो। उनी तिब्बती बौद्धधर्मका एक महत्त्वपूर्ण व्यक्तित्व हुन्।
चिनियाँ सेनाले उद्धारकार्यमा सैनिकहरू संलग्न भएको र मानवरहित ड्रोनलाई सगरमाथानजिकै अवस्थित दुर्गम क्षेत्रमा परिचालित गरेको जनाएको छ।
विभिन्न स्थानबाट प्राप्त भिडिओमा उद्धारकर्ताहरूले भग्नावशेषमा खोजी गरिरहेको र प्रभावित मानिसहरूलाई कठ्याङ्ग्रिने जाडोबाट जोगिन कम्बल वितरण गरेको देखिन्छ।
चिनियाँ राष्ट्रपति सी जिन्पिङले क्षति कम गर्नका लागि “पूर्ण स्तरको खोजी” र उद्धार प्रयास अनि प्रभावित मानिसहरूको पुनर्वासका लागि निर्देशन दिएका छन्।
नेपालमा भूकम्पका कारण ओखलढुङ्गा, सोलुखुम्बु र सङ्खुवासभामा केही घरमा क्षति पुगेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
शिगात्सेमा कैयौँ पटक परकम्प मापन गरिएको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ।
भारत र भुटानमा पनि धक्का महसुस
अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७.१ म्याग्निट्यूडको भएको र त्यो जमिनभन्दा १० किलोमिटर तल गएको जनाएको छ।
नेपालमा स्थानीय समयानुसार बिहान ६: ५० तिर उक्त भूकम्पको धक्का महसुस गरिएको थियो। त्यसपछि पनि नेपालको लोबुचे क्षेत्रभन्दा उत्तर पूर्वमा पर्ने चिनियाँ भूमिलाई केन्द्रबिन्दु बनाएर आधा दर्जनभन्दा बढी भूकम्प मापन गरिएको छ।
भारतीय सञ्चारमाध्यमहरूले उक्त भूकम्प पश्चिम बङ्गाल, असम र बिहार र दिल्लीसहित उत्तर भारतका विभिन्न स्थानमा पनि महसुस भएको जनाएका छन्। भुटानमा पनि भूकम्पको धक्का महसुस गरिएको विवरण आएका छन्।
दक्षिणपश्चिम चीनमा बारम्बार भूकम्प जाने गर्छ। सन् २००८ मा सिचुआन प्रान्तमा एउटा भीषण भूकम्पले करिब ७०,००० जनाको ज्यान लिएको थियो।
चीनको सरकारी प्रसारक सीसीटीभीका अनुसार मङ्गलवारको भूकम्पअघि शिगात्से वरपरको २०० किलोमिटर क्षेत्रभित्र पछिल्लो पाँच वर्षमा ३ वा त्योभन्दा बढी म्याग्निट्यूडका २९ वटा भूकम्प अभिलेख गरिएको थियो।
बीबीसीवाट
प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार ६ : ५४ बजे
प्रतिक्रिया