खेलको टिकट विक्रीवाट २६ लाख ६८ हजार ५० रुपैयाँ र साँस्कृतिक कार्यक्रम तर्फको टिकट विक्रीवाट ६ लाख २१ हजार गरी जम्मा ३२ लाख ८९ हजार ५० रुपैयाँ संकलन भएको आयोजक फिदिम स्पोर्टिङ क्लबले जनाएको छ ।
मंगल बेघा
१७ पौष, पाँचथर । ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता- २०८१ गत सोमबार फिदिममा सम्पन्न भयो । फिदिम माविको खेलमैदानमा पौष ६ गतेदेखि सुरु भएको प्रतियोगितामा खेलको टिकट विक्रीवाट २६ लाख ६८ हजार ५० रुपैयाँ र साँस्कृतिक कार्यक्रम तर्फको टिकट विक्रीवाट ६ लाख २१ हजार गरी जम्मा ३२ लाख ८९ हजार ५० रुपैयाँ संकलन भएको आयोजक फिदिम स्पोर्टिङ क्लबले जनाएको छ ।
प्रतियोगितको प्रि–क्वाटरमा ३ लाख ५२ हजार ५ सय, क्वाटर फाईनलमा ६ लाख ६ हजार ३ सय संकलन भएको थियो । यसै गरी, सेमिफाईनलमा ६ लाख १९ हजार ४ सय र फाईनलमा १० लाख ८९ हजार ८ सय ५० जम्मा भएको आयोजक फिदिम स्पोर्टिङ क्लबले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन तथा पहिलो प्रि–क्वाटरमा फिदिम स्पोर्टिङ क्लब, पाँचथर र करसाङ फुटबल क्लब, भारतबीच पौष ६ गते भएको खेलमा २ लाख २४ हजार ७ सय संकलन भएको क्लबले जनाएको छ । यसै गरी, पौष ७ गते सम्पन्न मछिन्द्र फुटबल क्बल, काठमाण्डौं र झापा ११ फुटबल क्लब, झापाबीचको दोस्रो प्रि–क्वाटरमा १ लाख २७ हजार ८ सय संकलन भएको थियो ।
पहिलो क्वाटर फाईनलमा फिदिम स्पोर्टिङ क्लब, पाँचथर र त्रिभूवन आर्मी फुटबल क्बल, काठमाण्डौंबीच पौष ८ गते भएको खेलमा १ लाख ४१ हजार २ सय भयो । मछिन्द्र फुटबल क्बल, काठमाण्डौं विरुद्ध न्यु स्टार क्लब सुनसरीबीच पौष ९ गते भएको दोस्रो क्वाटर फाईनलमा १ लाख १९ हजार संकलन भएको क्लबले जनाएको छ । चर्च बोइज युनाईटेड, काठमाण्डौं र फ्रेन्चाईज टोली विराटनगर सिटि एफ.सीबीच पौष १० गते भएको तेस्रो क्वाटर फाईनलमा २ लाख ८ हजार ५ सय रुपैयाँ संकलन भएको थियो । प्रतियोगिताको अन्तिम क्वाटर फाईनलका रुपमा न्यु रोड टिम (एनआरटी) काठमाण्डौं र सहलेश यूवा क्लब, सिराहाबीच पौष ११ गते भएको खेलमा १ लाख ३७ हजार ६ सय रुपैयाँ जम्मा भएको क्लबले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत पौष १२ गते पहिलो सेमिफाईनलमा चर्च बोइज युनाईटेड, काठमाण्डौ र आयोजक फिदिम स्पोर्टिङ क्बल आमने सामने भए । यस खेलमा ३ लाख १६ हजार २ सय रुपैयाँ संकलन भएको थियो । यसै गरी, न्यु रोड टिम (एनआरटी) काठमाण्डौं र मछिन्द्र फुटबल क्बल, काठमाण्डौं बीच पौष १३ गते भएको दोस्रो सेमिफाईनलमा ३ लाख ३ हजार २ सय रुपैयाँ संकलन भएको क्लबले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
प्रतियोगिताको फाईनलमा चर्च बोइज युनाईटेड र मछिन्द्र फुटबल क्बल, काठमाण्डौ आमने सामनो भए । पौष १५ गते भएको फाईनलमा सर्वाधिक टिकट विक्री भएको थियो । सो दिन मात्र १० लाख ८९ हजार ८ सय ५० रुपैयाँ संकलन भएको क्लबले जनाएको छ । फाईनलका दिन दर्शकको क्षमता भन्दा वढि टिकट विक्री भएको भन्दै केही दर्शकले प्रवेशदार समेत भत्काएर खेल मैदानभित्र प्रवेश गरेका थिए । क्लबले टिकट लिएर खेल हेर्न नपाएका दर्शकहरुलाई रकम फिर्ता गर्ने जनाएको छ । दर्शकले टिकट वापतको रकम फिर्ता लिएको खण्डमा कुल जम्मा रकममा केही कम हुन सक्ने आयोजक फिदिम स्पोर्टिङ क्लबका सदस्य राजन योक्पाङदेनले बताए ।
यसै गरी, पौष १४ गते भएको साँस्कृतिक कार्यक्रमका लागि विक्री गरिएको टिकटवाट ६ लाख २१ हजार संकलन भएको क्लबले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको थियो ।
हालै मात्र ताप्लेजुङ, इलाम र झापामा सम्पन्न गोल्डकपमा दर्शकको उपस्थिति न्युन रहेको भन्दै यस प्रतियोगितामा समेत सोही क्रम दोहोरिने हो कि भनेर आयोजक सहित अन्य सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका थिए । तर फिदिममा आयोजित प्रतियोगितामा दर्शकको राम्रो उपस्थिति रहेको थियो । लामो समयपछि प्रतियोगिता आयोजना, फुटबल प्रतिको आकर्षण र आयोजकको प्रचार प्रसारले पनि खेलमैदानमा दर्शकको ओइरो लागेको खेल पत्रकार दिपक बोहोराले बताए । प्रतियोगिताको आगामी संस्करणमा आयोजकले व्यवस्थापन चुस्त बनाउनु पर्ने समेत उनको सुझाव छ ।
प्रतियोगिताको उपाधि चर्च बोइज युनाईटेडले चुम्दै १० लाख रुपैयाँ हात पारेको थियो भने उपविजेतामा चित्त बुझाएको मछिन्द्र फुटबल क्लबले ५ लाख रुपैयाँमा प्राप्त गरेको आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दिपेन्द्र थापा मगरले बताए । दुवै टोलीलाई ट्रफी, मेडल र प्रमाण पत्र समेत प्रदान गरिएको अध्यक्ष थापा मगरले जानकारी दिए।
‘थ्रिलिङ’ बनेको फाईनलमा चर्चले नाटकीय रुपमा उपाधि हात पारेको हो । दुई पटक पछि परेको अवस्था उल्टाउँदै अन्तिम १ मिनेटभन्दा कम समयमा २-२ को बराबरी खेलेपछि भएको टाईब्रेरकमा लिग लिडर चर्चले मछिन्द्रलाई ५–४ ले हराएको थियो । भर्खरै मात्र झापा गोल्डकपको उपाधि जितेको चर्चले त्यस अघि इलाम गोल्डकपमा उपविजेता बनेको थियो ।
६ वर्ष पछि आयोजना गरिएको प्रतियोगितामा एक विदेशी, ए डिभिजनका चार सहित जम्मा १० टिमको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : १७ पुस २०८१, बुधबार ८ : २० बजे
प्रतिक्रिया