अन्तिम क्वाटर फाईनलमा ए डिभिजन क्बल एनआरटीले टाईब्रेकरमा सलहेशलाई ५–४ ले हराउँदै सेमिफाईनमा स्थान पक्का गरेको हो ।
मंगल बेघा
११ पौष, पाँचथर । ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता २०८१ को अन्तिम क्वाटर फाईनलमा विहिबार सलहेश युवा क्लब सिराहालाई हराउँदै न्यु रोड टिम (एनआरटी), काठमाण्डौ अन्तिम चारमा प्रवेश गरेको छ ।
फिदिम माविको खेल मैदानमा भएको चौथो तथा अन्तिम क्वाटर फाईनलमा ए डिभिजन क्बल एनआरटीले टाईब्रेकरमा सलहेशलाई ५–४ ले हराउँदै सेमिफाईनमा स्थान पक्का गरेको हो । निर्धारित समयमा दुवै टोलीले ०–० को बराबरी खेलेपछि सोझै पेनाल्टी मार्फत खेलको निर्णय लिइएको थियो ।
टाईब्रेकरमा एनआरटीका सरोज तामाङ, कृतिश छुर्ज, अभिशेक लिम्बू, विदेशी खेलाडी कार्लोश र अन्जन विष्टले गोल गरे । सलहेशका दोर्जे तामाङ, बिबेक राई, कुलदिप कार्की र फगुमान थारुले गोल गरे भने विदेशी खेलाडी हेर्नीको प्रहार विफल भएको थियो । अन्तिम वल लिएका हेर्नीको प्रहारलाई एनआरटीका गोलरक्षक प्रमिजय गच्छेदारले बचाउ गरेका थिए ।

राष्ट्रिय टोलीका प्रमुख स्ट्राइकर अन्जन विष्ट दोस्रो हाफमा मैदान प्रवेश गरेपछि एनआरटीले सहलेश माथि दवाव सिर्जना गरेको थियो । मैदान प्रवेश गर्ने वित्तिकै पाएको सुन्दर अवसरमा उनी गोल गर्नवाट चुकेका थिए । त्यस लगत्तै खेलको ८० औं मिनेटमा एनआरटीका विदेशी खेलाडी नेमारले गरेको शक्तिशाली प्रहार पोष्टमा लागेपछि उसका समर्थक समेत निराश बनेका थिए ।
आजको खेलको म्यान अफ दि म्याच एनआरटीका अभिशेक लिम्बू घोषित भए । उनलाई कार्यक्रमका प्रमुख अतिथि तुम्बेवा गाउँपालिकाका अध्यक्ष बाबुराम खड्काले नगद १० हजार र ट्रफी हस्तान्तरण गरे ।

हालै मात्र झापा कपमा उपविजेता बनेको एनआरटीले सो भन्दा अगाडि इलाम गोल्डकपको उपाधि हात पारेको थिो ।
सेमिफाईनल समिकरण पूरा
११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता २०८१ को सेमिफाईनल समिकरण पूरा भएको छ । समूह ए तर्फ आयोजक फिदिम स्पोर्टिङ क्लब र एपीआई चर्च बोइज युनाईटेड आमने सामने हुनेछन् । समूह बीको अन्तिम क्वारफाईनलमा सलहेश यूवा क्लबलाई हराउँदै सेमिफाईनलमा प्रवेश गरेको एनआरटीले मछिन्द्र फुटबल क्बल, काठमाण्डौंको सामना गर्नेछ । समूह ए को सेमिफाईनल शुक्रबार हुनेछ भने दोस्रो सेमिफाईनल शनिबार हुनेछ ।
प्रतियोगिताको पुरस्कार राशी कति छ ?
प्रतियोगिताको विजेताले नगद १० लाख ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ । यसै गरी, उपविजेताले नगद ५ लाख ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष दिपेन्द्र थापा मगरले जानकारी दिए ।
यसै गरी, व्यक्तिगत विधा तर्फ सर्वोत्कृष्ट खेलाडीले इभी स्कुटर प्राप्त गर्नेछ भने सर्वाधिक गोलकर्ताले नगद १५ हजार पुरस्कार हात पार्नेेछन् । यसै गरी, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले जनही १० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । उदयमान खेलाडीलाई पनि १० हजार पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष थापा मगरले जानकारी दिए । प्रतियोगिताको हरेक खेलका म्यान अफ दि म्याच हुने खेलाडीलाई समेत जनही १० हजार नगद पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।
प्रतियोगिताको फाईनल खेल पौष १५ गते फिदिम माविको खेल मैदानमा हुनेछ । प्रतियोगिता सम्पन्न गर्न फिदिम नगरपालिका मूख्य प्रवद्र्धक रहेको छ भने पाँचथर जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको छ ।
तस्विर सौजन्य- निराजन श्रेष्ठ
प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार ६ : ०३ बजे
प्रतिक्रिया