दिपक दुलाल
नवमिडाँडा । पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१ स्थित सिद्धेश्वरी माध्यमिक विद्यालय सुर्केनागीका दुईजना विद्यार्थीहरु कुमुदिनी अक्षयकोष छात्रवृत्तिबाट पुरस्कृत भएका छन् ।
उक्त विद्यालयबाट शैक्षिक सत्र २०८० सालको एसईई परीक्षामा सहभागी भई सर्वोत्कृष्ट जिपिए प्राप्त गर्ने एक छात्र र एक छात्रालाई विद्यालयले आज एक कार्यक्रमको आयोजना गरी कुमुदिनी अक्षयकोष छात्रवृत्ति पुरस्कार वितरण तथा सम्मान गरेको हो ।
शैक्षिक सत्र २०८० सालको एसईई परीक्षामा छात्रतर्फ उत्कृष्ट विद्यार्थी अबिन नेम्बाङ र छात्रातर्फ उत्कृष्ट विद्यार्थी मनिषा सञ्जेललाई नगद पुरस्कार सहित प्रशंसापत्रले सम्मान गरिएको विद्यालयले जनाएको छ ।
प्रत्येकवर्ष उक्त विद्यालयबाटएसईई परीक्षामा उत्कृष्ट हुने एक छात्र र एक छात्रालाई अक्षयकोषको ब्याजबाट पुरस्कार वितरण गर्ने गरी २०७४ सालमा नवमीडाँडा साहित्य मञ्च नामक संस्थाले २१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिएको थियो । नवमीडाँडा साहित्य मञ्चले तत्कालिन समयमा प्रकाशन गर्दै आएको कुमुदिनी साहित्यिक त्रैमासिक पत्रिकाको नाममा आफ्नो संस्थाले विद्यालयमा कुमुदिनी अक्षयकोष स्थापना गरिदिएको नवमीडाँडा साहित्य मञ्चका अध्यक्ष राज दिलाञ्जलीले बताउँनुभयो ।
कार्यक्रममा जननिर्वाचित प्रतिनिधीहरु, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरु, अक्षयकोषदाता संस्थाका प्रतिनिधीहरु, शिक्षक कर्मचारी तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
पुरस्कार वितरण तथा सम्मान कार्यक्रम फाल्गुनन्द गाउँपालिका वडा नं. १ का वडाध्यक्ष होम प्रसाद आङदेम्बेको प्रमुख अतिथ्यता, अक्षयकोषदाता संस्थाका प्रतिनिधी महेन्द्र सुवारको विशेष आतिथ्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्षगोपाल लुइँटेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रकाशित मिति : ६ पुस २०८१, शनिबार ९ : ४४ बजे
प्रतिक्रिया