३ पौष, पाँचथर । फालेलुङ गाउँपालिका ५ प्राङबुङमा गत भदौ १३ गते भएको विष्फोटमा परी मृत्यू भएकाे परिवारलाई नेशनल लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडले मंगलर फिदिममा मृत्यू दावी भूक्तानी गरेको छ ।
विमा कम्पनीको शाखा कार्यालय फिदिम पाँचथरका प्रमुख योगेन्द्र सुवेदीले घटनामा परी मृत्यू भएका ११ वर्षीय दिप्सन साँबाको आमा सिर्जना केरुङलाई १ लाख ३८ हजार ८ सय ३८ रुपैयाँको चेक हस्तान्तरण गर्दै मृत्यू दावी भूक्तानी गरेका हुन् । पीडित परिवारवाट प्राप्त हुनु पर्ने कागजात समयमा नआएकाले भूक्तानी गर्न केही ढिलाई भएको शाखा प्रमुख सुवेदीले बताए । मृतकको घरैमा गएर मृत्यू दावी भूक्तानी गर्ने तयारी भए पनि अन्य काम विशेषले मृतकको आमा सदरमुकाम फिदिममा भेटिएकाले उनलाई चेक हस्तान्तरण गरिएको उनले जानकारी दिए ।
मृतक दिप्सनको नाममा आमा केरुङले विमाङ्क रकम १ लाख भएको विमा सन् २०१७ मा जारी गरेकी थिईन् । केरुङले सात किस्ता जम्मा गरेको र सो वापत उनलाई विमाङ्क र बोनस वापतको रकम कम्पनीको तर्फवाट हस्तान्तरण गरिएको शाखा कार्यालयकी दिलकुमारी तामाङले जानकारी दिइन् ।
नेपाल सरकारले घटना परी मृतक भएका सदस्यका परिवारलाई जनही ५ लाख दिने भनी गरेको घोषणा अनुसारको रकम अझै प्राप्त नभएको पीडित सिर्जना केरुङले बताईन् । कार्यक्रममा उपस्थित नेपाल पत्रकार महासंघका अध्यक्ष भीमकुमार बाँस्कोटाले कम्पनीले विना झन्झट मृतक परिवारलाई विमा वापतको रकम हस्तान्तरण गरेको देखिएकाले अन्य निकायले पनि छिटो छरितो रुपमा कार्य गर्नु पर्ने धारणा राखे ।
घटनामा परी दिप्सनकी बहिनी २ वर्षीया पिन्सा साँबाको समेत मृत्यू भएको थियो भने अन्य २ जना बालबालिका घाईते भएका थिए ।
यो पनि हेर्नुहोस्– फालेलुङ विष्फोटको समाचार : https://shaktipost.com/2024/08/4395/
प्रकाशित मिति : ३ पुस २०८१, बुधबार ३ : १२ बजे
प्रतिक्रिया