२ पौष, पाँचथर । जिल्ला सदरमुकाम फिदिम सञ्चालन गरिएको निशूल्क आँखा शिविरमा १ सय २० जना विरामीले आँखाको शल्यक्रिया गराएका छन् ।
हेल्प टुगेदर फाउण्डेशनको आयोजना सञ्चालन गरिएको शिविरमा आएका विरामीको आँखा परीक्षण गरी ति विरामीको आँखा शल्यक्रिया गरिएको आयोजकले जनाएको छ । मेची आँखा अस्पताल झापाको प्राविधिक सहयोगमा आयोजित शिविरमा ८ सय १२ महिला र ५ सय ९७ पुरुष सहित जम्मा १ हजार ४ सय नौ जना विरामीले आँखा परीक्षण गराएको आयोजक संस्थाका सदस्य नविन बुढाथोकीले जानकारी दिए । उनका अनुसार विरामीहरुको अवस्था हेरेर ६ सय १० ओटा चस्मा समेत वितरण गरिएको थियो ।
गत मंसिर ३० गतेसम्म सञ्चालन भएको शिविर आयोजना गर्न फिदिम नगरपालिकाले आर्थिक सहयोग गरेको थियो । समापन सत्रलाई संबोधन गर्दै फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले शिविरवाट विपन्न वर्गका विरामीले सहज रुपमा सेवा पाएको भन्दै यस्ता कार्यक्रमहरुलाई सहयोग उपलब्ध गराईने बताए ।
जिल्लामा आँखाका विरामीहरुको अवस्थालाई हेरेर शिविर आयोजना गरिएको फाउण्डेशनका अध्यक्ष सुशिल श्रेष्ठले बताए । संस्थाले आगामी दिनमा समेत यस्ता कार्यको निरन्तरता दिने उनले जानकारी दिए ।
कोडिभ १९ को महामारीका बखत समस्यामा परेको परिवारलाई सहयोग गर्दै सामाजिक कार्यमा हात हालेको फाउण्डेशनले हुनेले दिने नहुनेले लिने भन्ने अभियान सञ्चालन गरेको थियो । पछिल्लो समय फिदिम वजारको अस्पताल चोकमा क्लोथ बैंक स्थापना गरी लत्ताकपडा संकलन र निशूल्क वितरण गर्दै आएको छ ।
प्रकाशित मिति : ३ पुस २०८१, बुधबार १ : १५ बजे
प्रतिक्रिया