पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरको निर्वाचित समितिले आईतबार महासंघको कार्यालय फिदिममा पदभार ग्रहण गरेका छन् ।

नेपाल पत्रकार महासंघ जिल्ला निर्वाचन समिति पाँचथरद्धारा आयोजित निर्वाचित समितिलाई प्रमाण पत्र वितरण तथा बधाई ज्ञापन कार्यक्रमसँगै समितिले पदभार ग्रहण गरेका हुन् । गत मंसिर २५ गतेवाट सुरु भएको महासंघको निर्वाचन कार्यक्रम २८ गते सम्पन्न भएको थियो ।

प्रदेश र केन्द्रको समिति चयन गर्न मतदान भए पनि पाँचथर शाखाको कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, प्रदेश परिषद सदस्य र केन्द्रीय परिषद सदस्य भने निर्विरोध निर्वाचित भएको निर्वाचन समितिको संयोजक विपेन्द्र गौतमले बताए ।

निर्वाचन समितिका सदस्य खगेन्द्र बाँस्कोटाका अनुसार भीमकुमार बाँस्कोटाको अध्यक्षतामा १४ सदस्यीय शाखा समिति गठन भएको छ । नव गठित समितिको खुल्ला तर्फको उपाध्यक्षमा सरोज शर्मा, महिला उपाध्यक्ष राधा लुईटेल, सचिव रविन्द्र काफ्ले, सहसचिव खुल्ला तर्फ रमेश थापा, समावेशी सहसचिवमा दुर्गा खनाल र कोषाध्यक्षमा युवेन्द्रविक्रम जवेगू चयन भएका छन् । यसै गरी, खुल्ला सदस्यहरुमा कमल घिमिरे, कुमार खड्का, कृष्णप्रसाद दुलाल, सुरभ भण्डारी, महिला सदस्य इवारा जवेगु, आदिवासी सदस्य मौसम सम्बाहाम्फे, दलित सदस्य चिरन्जिवि विश्वकर्मा सर्वसम्मत निर्वाचित भएका छन् ।

शाखावाट निर्वाचित प्रदेश परिसद सदस्यमा दिपक बोहोरा, विपुल अधिकारी, गजेन्द्र तुम्बापो र सर्मीला मुखिया रहेका छन् । यसै गरी, केन्द्रीय परिषद सदस्यमा नारायण तुम्बापो र सीता बुढाथोकी निर्वाचित भएका छन् । शाखा समिति चयन गर्न नेपाल प्रेस यूनियन र प्रेस चौतारीले संयुक्त प्यानल बनाई उम्मेदवार मनोनयन गरेका थिए भने प्रेस सेन्टर सहितका अन्य संगठनले अर्को समूह बनाई उम्मेदवारी दर्ता गरेका थिए । सेन्टर सहितका उम्मेदवारहरुले तोकिएको समयसीमाभित्र दर्ता भएको उम्मेदवारी फिर्ता लिएपछि शाखा समिति मतदान विना नै चयन भएको निर्वाचन समितिका सदस्य बाँस्कोटाले बताए ।

नेपाल पत्रकार महासंघको केन्द्रीय समितिका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार पाँचथर शाखाका पूर्व अध्यक्ष लवदेव ढुंगाना सर्वाधिक मत सहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखाको सभाकक्षमा सम्पन्न बधाई ज्ञापन कार्यक्रमलाई प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख रामराज आङदेम्बे, फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, नेपाली काँग्रेसका सभापति रुपनारायण जवेगू, नेकपा एमालेका उपसचिव तुलसी थापा र राप्रपाका उपाध्यक्ष प्रयागराज सुवेदी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दिपक नेपाल, जिल्ला बार इकाईका अध्यक्ष सन्त राई लगायतले संबोधन संबोधन गर्दै निर्वाचित समितिलाई बधाई ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  १० : ५० बजे