मंगल बेघा
१ पौष, पाँचथर । फिदिम नपा ४ मा पुर्ननिर्माण गरिएको व्याडमिन्टन कवर्ड हल सोमबार पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं प्रतिनिधिसभा सदस्य बसन्तकुमार नेम्बाङले उद्घाटन गरेका छन् ।
जिल्ला समन्वय समितिको परिसरमा रहेको व्याडमिन्टन हलको एक कार्यक्रमकाबीच पूर्वमन्त्री नेम्बाङले शिलालेख अनावरण गर्दै उद्घाटन गरेका हुन् । हलको निर्माण कार्य गत बर्ष नै सकिए पनि करिब डेढ वर्षपछि उद्घाटन गरिएको हो ।
अस्वस्थ्य रहेका प्रमुख अतिथि नेम्बाङको तर्फवाट पत्नी नेतृ भूमिका नेम्बाङले उद्घाटन समारोहलाई संबोधन गर्दै जिल्लामा खेलकुदको विकासमा हलले योगदान पु¥याउने आशा गरिएको बताईन् । पाँचथरवाट प्रतिनिधित्व गर्दे सांसद पति नेम्बाङ अस्वस्थ्य भएका कारण धेरै योजनाहरु अलपत्र अवस्थामा पुगे पनि नेताहरुसँगको भेटामा ति योजनाहरुलाई सम्पन्न गर्न उहाँले चासो व्यक्त गर्ने गरेको उनले जानकारी दिईन् । यसै सन्दर्भमा जिल्ला सदरमुकाम फिदिम वजारमा अवस्थित फिदिम माविको खेलमैदानको स्तरोन्नती कार्य सम्पन्न गर्न प्रधानमन्त्री केपी शर्मा ओलीवाट चासो व्यक्त भएको समेत उनले जानकारी दिईन् ।
जिल्ला समन्वय समितिको स्वामित्वको रहेको सो हललाई तीन ओटा कोर्ड सहितको सुविधा सम्पन्न हल बनाउन संघीय सरकार र जिल्ला समन्वय समितिले लगानी गरेका हुन् । पुनःनिर्माणका क्रममा थप दुई ओटा कोर्ट निर्माण गर्न संघीय सरकारवाट १ करोड १७ लाख १७ हजार २ सय ३४ रुपैयाँमा लगानी भएको जिल्ला समन्वय समितिका प्रमुख रामराज आङदेम्बेले जानकारी दिए ।
हल निर्माण गर्न आले निर्माण सेवा प्रालिले २०७६ असार ३ गते सम्झौता गरेको थियो भने निर्माण कार्य २०८० वैशाख १५ गते सम्पन्न भएको थियो । हल सञ्चालन भने २०८० कार्तिक पछि मात्र भएको थियो ।
यसै गरी, पार्केटिङ र पुरानो कोर्टको स्तरोन्ती गर्न जिल्ला समन्वय समितिवाट १४ लाख ७९ हजार ७३ रुपैयाँ लगानी भएको जिल्ला समन्वय अधिकारी सौरभ थापा मगरले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख रामराज आङदेम्बेको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई ब्याडमिन्टन संघ पाँचथरका अध्यक्ष तेजबहादुर तुम्बापोले सञ्चालन गरेका थिए । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तान, फिदिम नपा वडा नं. १ का वडाअध्यक्ष गजाधर भट्टराई, वडा नं. ४ का वडाअध्यक्ष उपेन्द्र लावती सहित जिल्ला स्थित खेलजन्य संघ संस्थाका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : २ पुस २०८१, मंगलबार ७ : ५४ बजे
प्रतिक्रिया