पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

२४ मंसिर, पाँचथर । नेपाली काँग्रेस जिल्ला कार्यसमिति पाँचथरले बाढीपहिरोबाट पीडित भएका परिवारलाई सोमबार राहत वितरण गरेको छ। काँग्रेसका प्रदेश कार्यसमिति सदस्य एवम् महासमिति सदस्य पूर्णकुमार तुम्बापोको आर्थिक सहयोगमा काँग्रेसले बेपत्ता एवं ज्यान गुमाएका परिवारलाई राहत वितरण गरेको हो ।

काँग्रेसको पार्टी कार्यालय फिदिममा आयोजित कार्यक्रममा वाढीपहिराेवाट ज्यान गुमाएका ८ र बेपत्ता १ सहित जम्मा ९ परिवारका सदस्यलाई जनही १५ हजार रुपैयाँ राहत वितरण गरिएको हो । राहत वितरण कार्यक्रमका प्रमुख अतिथि काँग्रेसका केन्द्रीय सहमहामन्त्री भिष्मराज आङ्देम्बे, सभापति रुपनारायण जबेगू, निवर्तमान जिल्ला सभापति नरेन्द्रकुमार केरुङ, फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले लगायतले उनीहरुलाई राहत रकम सहित समेवदना पत्र समेत हस्तान्तरण गरेका थिए।

सहमहामन्त्री आङ्देम्बेले विपत्तीवाट जिल्लामा ठूलो जनधनको क्षति पुगेकाले सरकारलाई क्षतिपूर्तिको व्यवस्था सुनिश्चित गर्न दबाब दिने प्रतिवद्धता जनाए। उनले बाढीपहिरोले क्षति पुर्याएको मेचीराजमार्ग अन्तर्गत हेवा खोला र फिदिम फालोट सडक खण्ड अन्तर्गत फेमे खोलाका पुल निर्माणका लागि पहल भईरहेको बताए।

कार्यक्रममा जिल्ला सभापति जबेगूले बाढीपहिरोबाट ज्यान गुमाएका परिवारलाई राहत उपलब्ध गराउन सहयोग गर्ने पूर्णकुमार तुम्बापोले देखाएको सहयोगी भावना प्रशंसनीय रहेको बताए।

गत असोज ८ देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी फिदिम १ का निर्मला राई, गोपी बिश्वकर्मा, फिदिम २ की रञ्जना राई, फिदिम ५ की थुममाया योङ्या, फिदिम ८ का पासाङ शेर्पा, फिदिम १२ का पेम्बी शेर्पा, फाल्गुनन्द ६ का नरबहादुर चेम्जोङ र फालेलुङ ६ की प्रिन्सी राईले ज्यान गुमाएका थिए । यसै गरी, फालेलुङ ५ कि कमला राई बेपत्ता भएकी थिईन् ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ६ : १३ बजे