मंगल बेघा
२४ मंसिर, पाँचथर । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यो बर्षको ‘प्रतिभा सम्मान’ ताप्लेजुङका वरिष्ठ साहित्यकार राजेश्वर थापालाई र ‘प्रतिभा पुरस्कार’ सिक्किम भारतकी यूवा लेखक सन्ध्या सुव्वा सिङ्जाङ्गोलाई प्रदान गर्ने घोषणा गरेको छ ।
प्रतिष्ठानले आइतबार विज्ञप्ती जारी गर्दै सम्मान र पुरस्कृत हुने स्रष्टाको विवरण सार्वजनिक गरेको हो । प्रष्ठिानका अध्यक्ष टंक वनेम र महासचिव चोक गुरुङद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख भए अनुसार नगद ५० हजार रुपैयाँ, ताम्रपत्र र दोसल्ला सहितको प्रतिभा सम्मान थापालाई र नगद १ लाख रुपैयाँ र ताम्रपत्र सहितको प्रतिभा पुरस्कार सिङ्जाङ्गोलाई प्रदान गरिनेछ ।
वि.स. २००८ जेठ २१ गते ताप्लेजुङको साविक खोक्लिङ हाल मिक्वाखोला गाउपालिका- २ मा जन्मिका थापाले ताप्लेजुङका शहीदहरु २०८१, तोक्पेगोला र तोक्पेगोला २०८१, ताप्लेजुङका युद्धवीर लाहुरेहरु २०८०, ताप्लेजुङका लोक संस्कृति भाग- १, २०८०, ताप्लेजुङका धर्म सम्प्रदायहरु २०७९, बरदात्री भगवती पाथीभरा (मुक्कुमलुङ्मा) २०७९, ताप्लेजुङको प्रजातान्त्रिक क्रान्तिको इतिवृत्त २०७८ लगायत पुस्तकहरु प्रकाशित गरेका छन् ।
थापाले सुदुर पूर्व ताप्लेजुङको आर्थिक, सामाजिक, राजनितिक, सांस्कृतिक र पर्यटन बारे सशक्त कलम चलाएकाले प्रतिभा सम्मानका लागि उनलाई छनौट गरिएको प्रतिष्ठानका अध्यक्ष वनेमले जानकारी दिए ।
यसै गरी, सन १९८८ मा सिक्किमको गान्तोकमा जन्मेकी सिङ्जाङ्गोले मुन्धुमको खोजी, अनुसन्धान, अनुवाद र लेखनका साथै स्थानीय रैथाने कला संस्कृति संरक्षणमा सक्रिय रहेकी छिन् । ३६ बर्षीया सिङ्जाङगो भारतको दिल्ली विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेपछि रैथाने मुल्य मान्यताको खोजी गर्दै याक्थुङ मुन्धुमको वृहत अनुसन्धान लेखनमा कलम चलाईरहेकी छिन्। उनको अंग्रेजीमा ‘लिम्बु समन्सः अ डाइरेक्टरी अल लिम्बू समन्स इन सिक्किम, सन् २०२२, चइत मुन्धुम (द स्टोरी अफ क्रियसन), २०२२, मुजिङ्ना खेयङ्ना मुन्धुम अनुवाद २०२२, याक्थुङ सिभिलाइजेसनः इम्बिरी याङधाङ्वा पुम्मा कलेन्सन आर्टिकल २०२३, याक्थुङ मुन्धुमलोर २०२४ पुस्तक प्रकाशित छन् ।
युवा इतिहासकार, लेखिका सिङ्जाङगोले अध्ययन, अनुसन्धान, लेखन र रैथाने सम्पदा अन्वेषणमा पुर्याएकाे योगदानको कदर गर्दै उनलाई यो बर्षको प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष टंक वनेमले बताए ।
सिङ्जाङगो र थापालाई आगामी पुसमा काठमाण्डौमा कार्यक्रम आयोजना गरेर नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्वकुलपति वैरागी काईलाकाे हस्तबाहुलीवाट पुरस्कार तथा सम्मान प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
यस अघि प्रतिभा सम्मान पाउने अग्रज स्रष्टाहरु इश्वर मानन्धर, अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा.डा. गोविन्दराज भट्टराई, बुद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ, भागीरथी श्रेष्ठ, बेणु आचार्य, दावा ग्याल्मो, गोपाल पराजुली, डा कृष्णहरी बराल, दीप श्रेष्ठ र गणेश रसिक रहेका छन् । यसै गरी, नवीन विभास, कुबेर राई, उपेन्द्र सुव्वा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, वीवी अनुरागी, टीका चाम्लिङ, फुलमान बल, बलराम अधिकारी, शुभ मुकारुङ, विमला तुम्खेवा, गणेश गुरुङ, सुदिप पाख्रिन र प्रदीप मेन्याङ्बोले प्रतिभा पुरस्कार प्राप्त गरेका छन् ।
बेलायत कर्मथलो बनाएका नेपाली स्रष्टाहरुले सन २००८ मा बेलायतमा स्थापना गरेको नेपाली प्रतिभा प्रतिष्ठानले नेपाली साहित्यकाे विकासमा याेगदान पुर्याउने स्रष्टाहरुलाई सम्मान र पुरस्कार प्रदान गर्दै आएकाे छ ।
प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार ७ : ५९ बजे
प्रतिक्रिया