पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

२१ मंसिर, पाँचथर । कृष्ण भूषण वल स्मृति प्रतिष्ठानले तीन स्रष्टालाई सम्मान र पुरस्कार प्रदान गर्ने भएको छ ।

कृष्ण भूषण वल स्मृति सम्मान तथा पुरस्कार- २०८० वाट सम्मानित हुनेमा झापाका अग्रज स्रष्टा शिवशंकर थापा, पाँचथरका प्रेम ओझा र मोरङ विराटनगरकी शुभलक्ष्मी लम्साल रहेका छन् । प्रतिष्ठानले दिएको जानकारी अनुसार साहित्यका विभिन्न विधामा कलम चलाउने तीन स्रष्टालाई सम्मान र पुरस्कार वितरण गर्न लागिएको हो ।

प्रतिष्ठानका अनुसार कवि तथा गीतकार शिवशंकर थापालाई कृष्ण भूषण वल स्मृति सिर्जना पुरस्कार प्रदान गरिने छ । पाँच दशक यता गीत विधामा पु¥याएको योगदानको कदर गर्दै थापालाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ । यो पुरस्कारको राशी २५ हजार रहेको छ ।

कृष्ण भूषण वल स्मृति सिर्जना विशेष सम्मान कवि तथा गजलकार प्रेम ओझालाई वितरण गरिने भएको छ । नेपाली साहित्यको कविता र गजल विधामा पु¥याएको योगदानलाई कदर गर्दै ओझालाई सो सम्मान प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । यो सम्मानको राशी १५ हजार रहेको छ । ओझाका ‘प्रेमको भोक लागेर- २०६४’ गजल, ‘आत्मसमर्पण- २०६६’ कथा कृति र फुटकर सिर्जना प्रकाशित छन् ।

यसै गरी, कृष्ण भूषण वल स्मृति यूवा सिर्जना पुरस्कार शुभलक्ष्मी लम्साललाई प्रदान गरिने भएको हो । उनले कविता र गजल विधामा पु¥याएको योगदानलाई कदर गर्दै लम्साललाई सो पुरस्कार वितरण गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । यो सम्मानको राशी ११ हजार रहेको छ ।

आगामी माघ २६ गते विराटनगरमा कार्यक्रम आयोजना गरी सम्मान र पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । पाँचथरको मिक्लाजुङ रविमा २००४ सालमा जन्मिएका कृषण भूषण वलको २०६९ सालमा विराटनगर मोरङमा निधन भएको थियो । दिवंगत वलको स्मृतिमा उनको परिवारले प्रतिष्ठान गठन गरी साहित्यिक पुरस्कार प्रदान गर्दै आएको छ ।

वलका ‘दाजु तिम्रो हात चाहिन्छ- २०२४’ खण्ड काव्य, ‘भोली बास्ने विहान- २०४१’ कविता संग्रह र अन्य फुटकर रचनाहरु प्रकाशित छन् । उनी देशान्तर साप्ताहिकमा ‘सुनाखरी लामा’ उपनामले स्तम्भ लेख्ने गर्दथे । नेपाल राष्ट्र बैंकका कर्मचारी रहेका वल वाणी प्रकाशनको अध्यक्ष लगायत साहित्यिक र सामाजिक अभियानमा सकृय थिए । उनलाई पाँचथरमा २०६६ सालमा साहित्यक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ५ : ५२ बजे