दिपक दुलाल
मङ्सिर– २, नवमीडाँडा । बराहक्षेत्र कात्र्तिके पूर्णिमा मेलाको अवसरमा फाल्गुनन्द गाउँपालिका- २, इम्बूङमा खेलकुद तथा साँस्कृतिक कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
खेलकुद अन्तर्गत खुल्ला नकआउट पुरुष फुट्बल प्रतियोगिताको उपाधि नुमाफुङ युथ क्लव फिदिम सिवाले हात पारेको छ । सत्यहाङ्मा माध्यमिक विद्यालयको खेलमैदानमा आइतबार सम्पन्न फाइनल खेलमा नाम्तोक क्लव फाक्तेपलाई पेनाल्टी सुटआउटमा ४ का विरुद्ध ५ गोलले पराजित गर्दै नुमाफुङ युथ क्लवले उपाधि जितेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट खेलको नतिजा निकालिएको थियो ।
प्रतियोगितामा विजेता बनेको नुमाफुङ युथ क्लवले नगद १ लाख १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको नाम्तोक क्लवले ७० हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
यसै गरी महिला नकआउट फुट्बल प्रतियोगिताको उपाधि भने एस एस एफ सी सुकेपोखरीले हात पारेको छ । फाइनलमा फेमेसुवा लुम्फाबुङलाई २–० गोलले पराजित गर्दै सुकेपोखरीले उपाधि जितेको हो । महिला तर्फको विजेताले १० हजार र उपविजेताले ५ हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक टु स्टार ग्रामिण सिर्जनशील क्लवका अध्यक्ष अर्जुन नेम्वाङले बताए ।
यस्तै सोहि अवसरमा कर्ण शान्ति प्रतिष्ठानको मुख्य प्रायोजन तथा टु स्टार ग्रामिण सिर्जनशील क्लवको आयोजनामा प्रथम पुरुष बि लेबल खुल्ला ब्याडमिन्टन प्रतियोगिता समेत सम्पन्न भएको छ । ब्याडमिन्टन प्रतियोगितामा राम धमला र उत्तम राईको टिम प्रथम तथा साहिल राई र पाङवीर नेम्वाङको टिम द्धितिय भएका छन् । प्रतियोगिताको प्रथमलाई नगद १० हजार,द्धितीयलाई नगद ७ हजार र तृतीय हुने दुई टिमलाई जनही टिमलाई २ हजार ५ सय रुपैयाँ नगद सहित ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिएको खेल संयोजक रामभक्त नेम्वाङले जानकारी दिए ।
प्रतियोगिताका विजेता टिम तथा खेलाडिहरुलाई समापन कार्यक्रमका प्रमूख अतिथि फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बे लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
कात्र्तिके पूर्णिमाको अवसरमा बराहक्षेत्र कात्र्तिके पूर्णिमा मेलासँगै स्थानीय टु स्टार ग्रामिण सिर्जनशील क्लवको आयोजनामा फुट्बल,ब्याडमिन्टन तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको हो । कात्र्तिके पूर्णिमा मेलाकै अवसरमा रष्ट्रिय कलाकारहरु बिनोद राई, नन्दि गुरुङ लगायतको उपस्थितिमा सांगीतिक कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।
खेल तथा मेला सञ्चालनका लागि फाल्गुनन्द गाउँपालिका वडा नं.२ को कार्यालय, इम्बुङले २ लाख रुपैयाँ अर्थिक सहयोग गरेको थियो । यस्तै विभिन्न संघसंस्था तथा सहयोगी दाता महानुभावहरुबाट आर्थिक सहयोग संकलन भइ कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ ।
प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार ७ : १० बजे
प्रतिक्रिया