२० कार्तिक, पाँचथर । फिदिम नपा २ स्थित साम्दिनमा मंगलबार भएको आगलागीमा परी एक जना गंभीर घाईते भएका छन् ।
साम्दिन घुम्ति वजारमा अवस्थित ६२ वर्षीय जय प्रकाश राईको घरमा भएको आगलागीमा परी घरघनी राई गंभीर घाईते बनेका हुन् । आगो नियन्त्रण गर्ने क्रममा उनी आगोको ज्वालामा परेको उनकी श्रीमती कुमारी तुम्बापो राईले बताईन् ।
घटना लगत्तै घाईते राईको फिदिम स्थित गणेशमान सिंह सामुदायिक हस्पिटलमा प्रारम्भिक उपचार गरिएको थियो । उनलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल रेफर गरिएको सामुदायिक अस्पतालका आकस्मिक कक्षका इन्चार्ज शिशिर आङबोले बताए । उनको कम्मरदेखि माथिका भागमा आगोको असर देखिएको इन्चार्ज आङबोले जानकारी दिए ।
आगलागीमा परी राईको तीन तले कच्ची घर सहित खुद्रा पसल र होटल समेत जलेर नस्ट भएको स्थानीय तेजबहादुर तुम्बापोले बताए । घटना लगत्तै नजिकै रहेको रणेशर गणवाट खटिएका नेपाली सेना, जिल्ला प्रहरी कार्यालयवाट खटिएका नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रण गरिएको थियो ।
आगलागीवाट भएको क्षतीको विवरण संकलन भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विना लाल तेलीले बताए । आगो कसरी सुरु भयो भन्ने विषय समेत अनुसन्धान भईरहेको प्रहरी निरीक्षक तेलीले जानकारी दिए ।
तस्विर साैजन्य : विरेन्द्र भण्डारी
प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार १० : १७ बजे
प्रतिक्रिया