पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

१२ कार्तिक, पाँचथर । सातौं तरुण गोल्डकप फुटबल प्रतियोगिता- २०८१ मा फिदिम नगरपालिका र तुम्बेवा गाउँपालिका फाईनलमा प्रवेश गरेका छन् ।

फिदिम माविको खेल मैदानमा सोमबार भएको खेलमा फिदिम नगरपालिकाले याङवरक गाउँपालिकालाई र तुम्बेवा गाउँपालिकाले मिक्लाजुङ गाउँपालिकालाई पराजित गर्दै तरुण गोल्डकपको फाईनलमा भिड्ने पक्का गरेका हुन् ।

नेपाल तरुण दल पाँचथरद्धारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाईनलमा फिदिम नगरपालिकाले याङवरक गाउँपालिका विरुद्ध २–१ गोल अन्तरको कठिन जित दर्ता गर्दै फाईनलमा स्थान पक्का गरेको हो । पहिलो हाफको अन्त्यतिर फिदिमका बेगम गुरुङले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । त्यस लगत्तै याङवरकका सुदिप लिम्बूले गोल गर्दै खेल बराबरीमा फर्काए । दोस्रो हाफमा फिदिमका नवराज गुरुङले गोल गर्दै खेल २–१ को अवस्थामा ल्याए । पहिलो हाफको अतिरिक्त समयमा याङवरकका गोल रक्षक प्रताप माबोले रातो कार्ड पाएका थिए ।

खेलको म्यान अफ दि म्याच फिदिमका बेगम गुरुङ घोषित भए । उनले नगद १ हजार पुरस्कार प्राप्त गरे ।

यसै गरी, दोस्रो सेमिफाईनलमा तुम्बेवा गाउँपालिकाले मिक्लाजुङ गाउँपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ पराजित गर्दै सेफिफाईनलको यात्रा तय गरेको हो । खेलको निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि पेनाल्टी मार्फत खेलको निर्णय लिइएको थियो ।

पेनाल्टीमा तुम्बेवाका सन्तोस सम्बाहाम्फे, सोम लावती, सन्देश सम्बाहाम्फे र बिमल लावतीले जाली चुमाए । यसै गरी, मिक्लाजुङका स्वस्तिक राई र बेनिस राईले गोल गर्दा सरोज राई र पुरन तामाङमा गोल गर्नवाट चुकेका थिए ।

पहिलो हाफ ०–० को बराबरी खेलेका दुवै टिमले दोस्रो हाफमा १–१ गोल गरेपछि खेल पेनाल्टी तर्फ धकेलिएको थियो । निर्धारित समयको अन्त्यतिर मिक्लाजुङका सरोज राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । सो लगत्तै तुम्बेवाका सन्तोष सम्बाहाम्फेले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

खेलको म्यान अफ दि म्याच तुम्बेवाका गोलरक्षक सनमान माङलाक घोषित भए । उनले नगद १ हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ सय ७२ रुपैयाँ र उपविजेताले नगद ५१ हजार १ सय ७२ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले बताए । हरेक विधाका उत्कृष्ट खेलाडीले २ हजार ५ सय पुरस्कार प्राप्त गर्ने अध्यक्ष लामाले जानकारी दिए ।

पाँचथरका ८ ओटै स्थानीय तहको सहभागिता रहेको प्रतियोगिताको फाईनल मंगलबार हुने आयोजक तरुण दलका अध्यक्ष सुमन लामाले जानकारी दिए ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ७ : ५६ बजे