पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

१० कार्तिक, पाँचथर । सातौं तरुण गोल्डकप फुटबल प्रतियोगिता २०८१ मा याङवरक गाउँपालिका र फिदिम नगरपालिकाले विजयी सुरुवात गरेका छन् ।

फिदिम माविको खेल मैदानमा शनिबार भएको खेलमा याङवरक गाउँपालिकाले कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकाले फालेलुङ गाउँपालिकालाई पराजित गर्दै दुवै टिम सेमिफाईनलमा प्रवेश गरेका हुन् ।

नेपाल तरुण दल पाँचथरद्धारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा याङवरक गाउँपालिकाले कुम्मायक गाउँपालिकालाई ३–१ गोल अन्तरले पाखा लगाउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको हो । पहिलो हाफ ०–० को बराबरी खेलेका दुवै टोलीले दोस्रो हाफमा सवै गोल गरेका थिए । याङवरकको तर्फवाट दिपेश योङया, दिपेश लिम्बू र सुदिप योङयाले गोल गरे भने कुम्मायकका सुशील लावतीले सान्तवना गोल फर्काए ।

पहिलो खेलको म्यान अफ दि म्याद याङवरकका जमिन लक्सम घोषित भए । उनले नगद एक हजार पुरस्कार प्राप्त गरे ।

यसै गरी, दोस्रो खेलमा फिदिम नगरपालिकाले फालेलुङ गाउँपालिका विरुद्ध १–० को कठिन जित दर्ता गर्दै सेफिफाईनलको यात्रा तय गरेको हो । पहिलो हाफ दुवै टिमले ०–० को बराबरी खेलेका थिए । दोस्रो हाफमा फिदिमका आयुश राईले गरेको एक मात्र गोल नै निर्णायक भएपछि फालेलुङ क्वाटर फाईनलवाट नै बाहिरिन बाध्य भयो ।

दोस्रो क्वाटर फाईनलको म्यान अफ दि म्याद फिदिमका आयुश राई घोषित भए । उनले नगद एक हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ सय ७२ रुपैयाँ र उपविजेताले नगद ५१ हजार १ सय ७२ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले बताए । हरेक विधाका उत्कृष्ट खेलाडीले २ हजार ५ सय पुरस्कार प्राप्त गर्ने अध्यक्ष लामाले जानकारी दिए ।

पाँचथरका ८ ओटै स्थानीय तहको सहभागिता रहेको प्रतियोगिताको फाईनल खेल कार्तिक १३ गते हुने आयोजकले जनाएकाे छ ।

प्रतियोगिताको उद्घाटन समारोहलाई प्रमुख अतिथि नेपाली काँग्रेस जिल्ला कार्य समिति पाँचथरका सभापति रुपनारायण जवेगु, फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले लगायतले संबोधन गरेका थिए ।

आईतबार हुने खेलहरु-

तेस्रो क्वाटर फाईनल : तुम्बेवा गाउँपालिका विरुद्ध फाल्गुनन्द गाउँपालिका (दिउँसो १२:०० वजे)
चौथो क्वाटर फाईनल : मिक्लाजुङ गाउँपालिका विरुद्ध हिलिहाङ गाउँपालिका (दिउँसो २:०० वजे)

तस्विर साैजन्य :- सुमन लामा

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ८ : ३३ बजे