पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

कात्तिक, काठमाडौं – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ । साफ च्याम्पियनसिपकै इतिहासमा नेपालको यो पहिलो बराबरी हो ।

दशरथ रंगशालामा नेपालले अधिकांश समय बल नियन्त्रणमा राख्दै आक्रमण बुनेपनि गोल गर्न भने सकेन । भुटानी गोलरक्षक संगीता मोंगर व्यस्त रहेको हाफमा भुटानी डिफेन्सले पनि नेपाली आक्रमण निरन्तर रोकेको थियो । दोस्रो हाफमा नेपालले आक्रामक परिवर्तन गरेपनि गोल निकाल्न सकेन ।

साफमा नेपाल र भुटानको पाँचौ भेटमा पहिलो पटक नेपालले गोल गर्न सकेन । नेपालले साफ च्याम्पियनसिपको समूह चरणको खेलमा गोल नै गर्न नसकेको पनि यो पहिलो अवसर हो । यसअघि साफको ६ संस्करणमा खेलेको समूह चरणको सबै खेलमा नेपालले कम्तिमा १ गोल भने गरेको थियो ।

१३ औं मिनेटमा नेपालको अग्रता लिने प्रयासमा भुटानकी गोलरक्षक संगीता मोंगर बाधक बनिन् । रश्मी कुमारी घिसिङले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार संगीताले बचाइन् । त्यसको रिबाउन्ड भने भुटानी डिफेन्डरले क्लियर गर्दै खतरा टारे ।

२५ औं मिनेटमा नेपालका लागि सरु लिम्बुले अवसर सदुपयोग गर्न सकिनन् । प्रिती राईले डिफेन्स लाइन बिट हुने गरेर दिएको पासलाई सरुले पेनाल्टी क्षेत्र भित्र लग्दै गरेको प्रहार पोस्टको दिशामा रहेन ।

४० औं मिनेटमा नेपालले भुटानको पेनाल्टी क्षेत्रभित्र लगातार ३ पटक प्रहार गर्ने अवसर पाएपनि सबै प्रयासमा भुटानको डिफेन्स बाधक बन्यो । रश्मीको क्रसमा अमिषा कार्कीको सुरुवाती प्रयास सफल नहुँदा त्यसपछि आएको लगातार प्रयास पनि सदुपयोग हुन सकेन ।

पहिलो हाफको इन्ज्युरी समयमा लेफ्ट ब्याक हिराकुमारी भुजेल घाइते हुँदा स्ट्रेचरमा बाहिर लगियो । उनको स्थानमा विमला विक मैदान प्रवेश गरिन् ।

दोस्रो हाफमा नेपालका प्रशिक्षक राजेन्द्र तामाङले सरु लिम्बू र रेनुका नगरकोटेको स्थानमा दिपा शाही र रेखा पौडेललाई मैदान प्रवेश गराउँदै आक्रामक परिवर्तन गरे । फलस्वरूप नेपालले सुरुवाती समय लगातार आक्रमण बुन्दै विपक्षी पोस्ट दबाब कायम गर्यो ।

५२ औं मिनेटमा नेपालको अग्रतामा भुटानी डिफेन्डर जाम्याङ छोदेन बाधक बनिन् । कर्नरमा आएको बललाई रेखाले पहिलो टचमै पोस्टको दिशा दिएपनि जाम्याङले गोललाइनबाट बल क्लियर गर्दै नेपाललाई अघि बढ्न दिइनन् ।

५८ औं मिनेटमा सविता राना मगरले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई संगीताले नियन्त्रणमा लिइन् । लगत्तै दिपा शाहीको पासमा रेखाले पेनाल्टी क्षेत्रभित्र पर्याप्त समय पाएपनि उनको प्रहार सिधै गोलरक्षकको हातमा गयो ।

७२ औं मिनेटमा दिपा शाही घाइते हुँदा पुन: स्ट्रेचरमा बाहिर लग्नुपरेको थियो । उनको स्थान अनिता केसीले लिइन् ।

८४ औं मिनेटमा नेपालको अवसरमा पुन: एकपटक गोलरक्षक संगीता नै बाधक बनिन् । पेनाल्टी क्षेत्र भित्रबाट सविताको प्रहारलाई संगीताले दायाँतर्फ उत्कृष्ट डाइभ दिँदै बचाउ गरिन् ।

इन्ज्युरी समयमा सविता राना मगरको प्रहार पोस्टमा लागेर फर्कंदा भुटानले पहिलो पटक नेपालबाट अंक खोस्न सफल रह्यो ।

समूह बी अन्तर्गत नै आज भएको पहिलो खेलमा श्रीलंकाले माल्दिब्सलाई १-० ले हराएको थियो । यस नतिजाले श्रीलंका ३ अंकका साथ समूहको शीर्षस्थानमा छ । नेपाल र भुटान १-१ अंक सहित दोस्रो स्थानमा रहँदा अंकविहिन माल्दिभ्स पुछारमा छ ।

प्रतियोगिता अन्तर्गत शनिबार कुनै खेल हुने छैन भने आइतबार साँझ ५:३० बजे बंगलादेश र पाकिस्तान खेल्नेछन् ।

हाम्राे खेलकुदवाट

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ८ : ४३ बजे