पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

१७ असोज, पाँचथर । पछिल्लो पटक आएको वाढि पहिरोवाट पाँचथरमा मृत्यू हुनेको संख्या आठ जना पुगेको छ भने अझै तीन बेपत्ता भएका छन् ।

बेपत्ता मध्ये दुई जनाको लास फेला परेसँगै मृत्यू हुनेको संख्या आठ पुगेको हो । यस अघि बेपत्ताको सूचिमा रहेका ४९ बर्षीया थुममाया योङया र ५३ बर्षीया कमला भनिने निर्मला राईको लास फेला परेको प्रहरीले जनाएको छ । वाढि पहिरोको कारण फिदिम नपा १२ स्थायी ठेगाना भई हाल फिदिम नपा ४ बस्ने २४ बर्षीया पेम्बी शेर्पा, ६ बर्षीया प्रिन्सी राई, फिदिम नपा १ का ५१ बर्षीय गोपि विश्वकर्माको मृत्यू भएको थियो । यसै गरी, फिदिम नपा ८ का ८२ बर्षीय पास्तेम्बा शेर्पा, फिदिम नपा २ का ३८ बर्षीया रन्जना राई, फाल्गुनन्द गाउँपलिका ५ का ७२ बर्षीय नरेन्द्र चेम्जोङको वाढी पहिराेमा परी मृत्यु भएको थियो ।

वाढि पहिरोमा परी बेपत्ता हुनेमा फालेलुङ ५ का ३६ वर्षीया कमला राई, फिदिम १ का २१ वर्षीया सरस्वता लिम्बू र ५१ वर्षीय कृष्ण दास रहेका छन् । बेपत्ता भएकाहरुकाे खाेजी कार्य जारी रहेकाे प्रहरीले जनाएकाे छ ।

वाढि पहिराले मूख्य गरी मेची राजमार्गको हेँवा खोलामा गत साल मात्र निर्माण गरिएको पुल बगाएकाले सवारी साधान आवत जावतमा समस्या भएको छ । सो स्थानमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्ररहीको सकृयतामा अस्थायी झाेलुङ्गे पुल निर्माण भएपछि शनिबारवाट मोटर साईकल र पैदल यात्रीहरुलाई सहज भएको छ । मेची राजमार्गकाे फिदिम राँके सडक खण्ड अन्तर्गत फिदिम २ स्थित रमितेमा गएकाे पहिराेले अवरुद्व बनाएकाे सडक अझै खुल्न सकेकाे छैन ।

यसै गरी, वाढिले फिदिम फालोट सडक अन्तर्गत फिदिम १ र ११ नं. वडा जोड्ने फेमे खोलाको पक्की पुल वगाउँदा सयौं सवारी साधन र हजाराै यात्रुलाई असर परेको छ । साे स्थानमा समेत स्थानीयले फड्के निर्माण गरेपछि पैदल यात्री‌हरुले राहत महशुस गरेका छन् । साे सडक अन्तर्गत फालेलुङ ७ र ५ लाई जोड्ने पक्की पुल समेत बगाउँदा गाउँपालिका र मुकामको सम्पर्क विच्छेद भएको छ ।

यस बाहेक पनि जिल्लामा वाढि पहिरोको वितन्डाले जततातै सडक अवरुद्ध हुनका साथै कैयौं परिवारले विस्थापित भई असहज जीवन यापन गरिरहेका छन् । यसै गरी, खानेपानीको मुहान र पाइपलाईन बगाउँदा जिल्ला सदरमुकाम फिदिम वजार सहित अन्य विभिन्न स्थानमा समेत खानेपानीको समस्या भएको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ९ : २२ बजे