पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

१० भदौ, पाँचथर । अन्तराष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता– २०८१ को उपाधी सगरमाथा युथ क्लब मोरङले उचालेको छ । जिल्ला सदरमुकाम फुङलिङ स्थित भानु जन माविको खेलमैदानमा सोमबार भएको फाईनलमा सलहेश युवा क्बल सिराहालाई पराजित गर्दै मोरङले उपाधी उचालेको हो ।

चार विदेशी खेलाडी सहित मैदान उत्रिएको सिराहा माथि १–० को कठीन जीत दर्ता गर्दै मोरङले उपाधी हात पारेको हो । खेलको तेस्रो मिनेटमा मोरङका विजय भुजेलले उत्कृष्ट गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । मिलन राईले चलाखीपूर्ण रुपमा उलब्ध गराएको पासलाई डिबक्सभित्रवाट उनले गरेको शक्तिशाली प्रहारले सिधै जाली चुमेको थियो । दुवै टोलीवाट थप गोल नभएपछि पहिलो हाफ मोरङको अग्रता सहित सकिएको थियो ।

दोस्रो हाफमा आक्रमक फुटबल पस्कदै मैदान उत्रिएको सिराहाले पटक पटक आक्रमण बुने असफल बन्यो । खेलको अन्त्यतिर सिराहाले खेलमा फर्कने अवसर सदुपयोग गर्न सकेन । खेलको ८२ औ मिनेटमा सिराहाले पाएको दुई कर्नर किकमा आदित्य शाक्यले उपलब्ध गराएको सुनौलो अवसरलाई डिबक्सभित्र रहेका सहकर्मी खेलाडीहरु फिनिसिङ गर्न नसक्दा खेलमा फर्कने अवसर गुमाएको थियो । पहिलो कर्नरको हेडर विपक्षी खेलाडीमा डिफ्लेक्ट हुँदै बाहिर गएपछि प्राप्त दोस्रो अवसरको हेडरले गोलपोष्टको दिशा लिन सकेन् । दोस्रो हाफमा पनि दुवै टोलीवाट कुनै गोल नभएपछि पहिलो हाफमा भएको एका मात्र गोल नै मोरङलाई उपाधी दिलाउन निर्णायक बन्यो ।

खेलको म्याद अफ दि म्याच मोरङका विजय भुजेल घोषित भए । उनले नगद रु ५ हजार पुरस्कार प्राप्त गरे ।

विजेता र उपविजेता टिमले कति पुरस्कार पाए ?

प्रतियोगिताको उपाधी विजेता सगरमाथा युथ क्लब मोरङले ५ लाख नगद पुरस्कार र ट्रफी हात पार्र्यो । मोरङका हरेक खेलाडीले मेडल र प्रमाण पत्र प्राप्त गरे ।

यसै गरी, उपविजेतामा सीमित सलहेश युवा क्लब सिराहाले २ लाख ५० हजार ५ सय ५५ नगद सहित ट्रफीमा चित्त बुझायो भने प्रत्येक खेलाडीले मेडल र प्रमाण पत्र हात पारे ।

यी हुन व्यक्तिगत विधा तर्फ उत्कृष्ट छनोट हुने खेलाडी

प्रतियोगिताको उत्कृष्ट गोलकिपर मोरङका प्रमिजय गच्छदार घोषित भए । उत्कृष्ट डिफेन्स र फिडफिल्डर क्रमशः सिराहाका कुलपिद कार्की र सन्तोष खत्री चुनिए । यसै गरी, उत्कृष्ट फरवार्डमा मोरङका मिलन राई र उत्कृष्ट प्रशिक्षकमा मोरङकै युबेन गुरुङ घोषित भए । प्रतियोगिताको राईजिङ प्लेयर संघर्ष स्पोटिङ क्लब ताप्लेजुङका सबिन तामाङ चुनिए ।

प्रतियोगितामा ३ गोल गरेका कञ्चनजंघा फुटबल क्लब सिलिगुडी भारतका जाड्पो भूटिया सर्वाधिक गोलकर्ता चुनिए । सवै खेलाडी तथा प्रशिक्षकले जनही रु १० हजार नगद र ट्रफी प्राप्त गरे । यसै गरी, प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी मोरङका सौभाग्य राई घोषित भए । उनले नगद १५ हजार पुरस्कार र ट्रफी हात पारे ।

प्रतियोगितका विजेता, उपविजेता तथा व्यक्तिगत विधा तर्फ उत्कृष्ट छनोट भएका खेलाडीहरुलाई समापन सत्रका प्रमुख अतिथि संघीय संसद योगेश भट्टराई सहितका अतिथिहरुले पुरस्का वितरण गरेका थिए ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ९ : १७ बजे