पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

८ भदौ, पाँचथर । अन्तराष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता– २०८१ मा विर्तामोड युनाईटेड फुटबल क्बल झापालाई हराउँदै सलहेश युथ क्लब सिराहा फाईनल प्रवेश गरेको छ । जिल्ला सदरमुकाम फुङलिङ स्थित भानु जन माविको खेलमैदानमा शनिबार भएको दोस्रो सेमिफाईनलमा झापालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सिराहा फाईनल प्रवेश गरेको हो ।

निर्धारिम समयमा दुवै टोलीवाट १–१ गोल भएको थियो । थप गरिएको १५ मिनेटमा समेत कुनै गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा ४–२ को जीत दर्ता गर्दै सिराहा उपाधी नजिक पुगेको हो ।

पहिलो हाफको १८ औ मिनेटमा सिराहाका जोन ग्लोरीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । मैदानको मध्यभागवाट सहकर्मीले उपलब्ध गराएको लामो पासलाई नियन्त्रणमा लिएर विपक्षी खेलाडीहरुलाई छकाउँदै उनले गरेको प्रहारले सिधै जाली चुमेको थियो । उनले झापाका तीन डिफेन्डरहरुलाई विट गर्दै डिबक्सभित्रवाट चलाखीपूर्ण रुपमा गरेको प्रहार गोलमा परिणत भएपछि सिराहाले १–० को अग्रता लिएको थियो । पहिलो हाफको बाँकी समयमा दुवै टोलीले गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेनन् ।

दोस्रो हाफको ५६ औं मिनेटमा सिराहाले सुसाईड गोल गरे पछि झापा खेलमा फर्कियो । झापाका सौरव सुब्बाले बाँया भागवाट गरेको शक्तिशाली प्रहारलाई सिराहाकाे डिफेन्स लाईनवाट सवेले क्लियर गर्ने क्रममा गरेको हेडरले आफ्नै गोलपोष्टको जाली चुमेको थियो । त्यस पछिको दुवै टिमवाट गोल नभएपछि निर्धारित समय १–१ को नतिजामा टुंगिएको थियो ।

निर्धारित समय बराबरीमा टुंगिएपछि १५ मिनेटको समय थप गरिएको थियो । अतिरिक्त समयमा समेत दुवै टोलीवाट गोल नभएपछि पेनाल्टी सुटआउट लिइएको थियो ।

पेनाल्टी सुटआउटमा झापाका हिसुव थपलिया र रोहन कार्कीको प्रहार गोलमा परिणत हुँदा निमा तामाङ र सौरभ लिम्बू गोल गर्न असफल भएका थिए । तामाङको प्रहारलाई सिराहाका गोलकिपर प्रदिप भण्डारीले बचाएका थिए भने लिम्बूको प्रहार गोलपोष्टमा लागेर बाहिर गएको थियो ।

यसै गरी, सिराहाका जय गुरुङ, प्रवेश दनुवार, सन्तोष खत्री र आदित्य शाक्यले गोल गरेका थिए भने सृजन क्षेत्रीको प्रहार गोलपोष्ट बाहिर गएको थियो ।

खेलको म्याद अफ दि म्याच सिराहाका गोल रक्षक प्रदिप भण्डारी घोषित भए । उनले नगद रु ५ हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार ५ सय ५५ नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पार्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार र अन्य सर्वाधिक गोलकर्ता, उत्कृष्ट फरवार्र्ड, उदयमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार पुरस्कार प्रदान गरिने प्रतियोगिता आयोजक लाखे जात्रा सञ्चालन समितिका देवराज अध्यक्ष गुरुङले बताए । प्रतियोगिता आयोजना गर्न कुल ५७ लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

सोमबार हुने फाईनल
सगरमाथा स्पोटिङ क्बल मोरङ विरुद्ध सलहेश युथ क्बल सिराहा

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  ८ : १५ बजे