पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

६ भदौ, पाँचथर । अन्तराष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता– २०८१ मा त्रिभूवन आर्मी फुटबल क्लबलाई पराजित गर्दै विर्तामोड युनाईटेड झापा अन्तिम चारमा प्रवेश गरेको छ । जिल्ला सदरमुकाम फुङलिङ स्थित भानु माविको खेलमैदानमा बिहिबार भएको अन्तिम क्वाटर फाईनलमा आर्मीलाई ३–० गोलले पराजित गर्दै विर्तामोड सेमिफाईनलमा प्रवेश गरेको हो ।

राष्ट्रिय खेलाडी सहित मैदान उत्रिएका दुवै टोलीले पहिलो हाफ गोल रहित बराबरी खेलेका थिए । दुवै टोलीले गोलको केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा पहिलो हाफ बराबरीमा टुंगिएको थियो ।

दोस्रो हाफको सुरुवातमै विर्तामोडले गोल गर्दै आर्मी माथि दवाव सिर्जना गरेको थियो । खेलको ४६ औं मिनेटमा विर्तामोडका अभिषेक गुरुङले गोल गर्दै झापालाई १–० को अग्रता दिलाए । उनलाई सौरवले आर्मीका डिफेन्डरलाई छलाउँदै गोलपोष्ट नजिकै मिलाई दिएको पासलाई गुरुङले उत्कृष्ट ट्रिकी फिनिसिङ गरेका थिए ।

खेलको ६५ औं मिनेटमा विर्तामोडका देवेन्द्र तामाङले गोल गर्दै आफ्नो टोलीलाई २–० को अग्रता दिलाए । उनले मैदानको मध्यभागवाट गरेका फ्रिकिक सोझै गोलमा परिणत भएको थियो । आर्मीका गोलकिपर केही अगाडी वढेको अवसरलाई सदुपयोग गर्नै तामाङले गरेको लामो प्रहारले जाली चुमेको थियो । आर्मीका खेलाडीले विर्तामोडका खेलाडीलाई फउल खेलेपछि पाएको फ्रिकिको अवसरलाई उनले सदुपयोग गरेका हुन् ।

त्यस लगत्तै विर्तामोडले अर्को गोल थप्यो । विर्तामोडका युसुफ थपलियाले ६६ औं मिनेटमा गोल गर्दै विभागीय टोली विरुद्ध ३–० को अग्रता बनाए । आर्मीका डिफेण्डरले क्लियर नगरेको बल खोस्दै उनले गोल रक्षकलाई कुनै अवसर नै नदिईकन जाली चुमाए ।

बाँकी समयमा दुवै टोलीवाट कुनै गोल नभएपछि विर्तामोडले सहज जितका साथ अन्तिम चारको यात्रा तय गरेको हो । विर्तामोडले शनिबार हुने सेमिफाईनलमा सलहेश युथ क्बल सिराहाको सामना गर्नेछ ।

खेलको म्यान अफ दि म्याच विर्तामोडका देवेन्द्र तामाङ घोषित भए । उनले नगद रु ५ हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५१ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पार्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार र अन्य सर्वाधिक गोलकर्ता, उत्कृष्ट फरवार्र्ड, उदयमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार पुरस्कार प्रदान गरिने आयोजक समितिका अध्यक्ष गुरुङले बताए । प्रतियोगिता आयोजना गर्न कुल ५७ लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

शुक्रबार हुने पहिलो सेमिफाईनल
संघर्ष स्पोटिङ क्लब ताप्लेजुङ विरुद्ध सगरमाथा युथ क्बल मोरङ

तस्विर साैजन्य- देवराज गुरुङ

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहिबार  ८ : २० बजे