पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

३ भदौ, पाँचथर । अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप- २०८१ मा ताप्लेजुङको सघर्ष स्पोटिङ क्लबले विजयी सुरुवात गरेको छ । जिल्ला सदरमुकाम फुङलिङ स्थित भानु माविको खेलमैदानमा सोमबार सुरु भएको उद्घाटन खेलमा पाहुना टोली सिलिगुडी भारतको कञ्चनजंघा फुटबल क्लबलाई पराजित गर्दै ताप्लेजुङले विजयी सुरुवात गरेको हो ।

गोलको वर्षा भएको खेलमा ताप्लेजुङ ७-५ ले विजयी भएको हो । ताप्लेजुङका लागि खेलको ८ औ मिनेटमा दिपेश लिम्बूले गोलको खाता खोले । ताप्लेजुङले १० औं मिनेटमा पेनाल्टी मार्फत अग्रता दोब्बर बनायो । कप्तान अनुप सेन्दाङले विपक्षी गोलकिपरलाई कुनै अवसर नदिई बललाई जाली चुमाए । यसै गरी, खेलको १८ औं र २३ औं मिनेटमा गोल गर्दै सविन तामाङले आफ्नो टिमलाई ४-० को फराकिलो अग्रता दिलाए । पाहुना टोलीले ४० औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्र्यो । ताप्लेजुङका अनिष पोमुको हातले बल छोएपछि पाएको अवसरलाई कञ्चनजंघाका जाङपो भूटियाले गोल गरेपछि पहिलो हाफ ४-१ को स्थितिमा टुंगिएको थियो ।

दोस्रो हाफको ५५ औं मिनेटमा मन्जिल येङदेनले गोल गरेपछि ताप्लेजुङको अग्रता वढायो । सिलिगुडीले ५९ औं मिनेटमा प्रनेश प्रधानको गोल मार्फत खेल ५-२ को स्थितिमा पुर्यायाे । यसै गरी, ७० औं मिनेटमा जाङपो भूटियाले पेनाल्टी मार्फत व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरे । यस पटक ताप्लेजुङका खेलाडीले विपक्षी खेलाडीलाई डिबक्सभित्र फउल गरेपछि पाहुना टोलीले पेनाल्टीको अवसर पाएको थियो ।

खेलको ८९ औ मिनेटमा सिलिगुडीले पुनः पेनाल्टीको अवसर पायो । त्यस अवसरलाई जाङपो भूटियाले गोल गर्दै खेल ५-४ को रोमाञ्चक मोडमा मात्र पुर्याएनन्, उनले ह्याट्रिक नै गरे । खेलको इन्जुरी समयमा प्रनेश प्रधान ताप्लेजुङ विरुद्ध आकर्षक गोल गरेपछि निर्धारित समय ५-५ को वराबरीमा टुंगिएको थियो ।

थप गरिएको अतिरिक्त समयमा ताप्लेजुङले २ गोल गर्यो । खेलको ९७ औं र १०१ औं मिनेटमा क्रमशः सागर श्रेष्ठ र मन्जिल येङदेनले टिमका लागि छैटौं र सातौ तथा व्यक्तिगत रुपमा येङ्लेदेन दोस्रो गोल गर्दै टिमको जित सुनिश्चित गरे ।

म्यान र फ्यान अफ दि म्याद को बने ?
प्रतियोगितामा ताप्लेजुङका सविन तामाङ म्यान अफ दि म्याच भए । उनले नगद रु ५ हजार पुरस्कार पाए । यसै गरी, फुङलिङ नगरपालिका ६ की अनिता गुरुङले फ्यान अफ दि म्याद जितिन् । उनले राष्ट्रिय फुटबल पुरुष टिमका कप्तान किरण चेम्जोङद्धारा हस्ताक्षरित फुटबल हात पारिन् ।

प्रतियोगितामा कति टिमको सहभागिता छ ?
अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप- २०८१ मा जम्मा आठ टिमको सहभागिता रहेको छ । आठ टिमलाई दुई समूहमा विभाजन गरिएको प्रतियोगिताको आयोजक लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले बताए । प्रतियोगितामा आयोजक ताप्लेजुङको संघर्ष स्पोर्टिङ क्लब, कञ्चनजंघा फुटबल क्लब सिलिगुढी भारत, बुटबल लुम्बिनी फुटबल क्लब रुपन्देही र सगरमाथा युथ क्लब मोरङ ‘ए’ समूहमा रहेका छन् । यसै गरी पाँचथर फुटबल क्लब पाँचथर, सलहेस युवा क्लब सिरहा, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौं र बिर्तामोड युनाइटेड फुटबल क्लब झापा ‘बी’ समूहमा छन् ।

पुरस्कार र अनुमानित खर्च कति छ ?
गत वर्षको तुलनामा यस वर्ष प्रतियोगिताको पुरस्कार राशी वृद्धि गरिएको आयोजक लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले बताए । उनका अनुसार विजेताले ५ लाख र उपविजेताले २ लाख ५१ हजार पाउने प्राप्त गर्ने छन् । गत वर्षसम्म प्रथम र द्वितीयले क्रमश: ३ लाख र १ लाख ५१ प्राप्त गरेका थिए ।

सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार र बाँकी सर्वाधिक गोलकर्ता, उत्कृष्ट फरवार्ड, उदयमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट कोचलाई १० हजारका दरले पुरस्कार दिने आयोजकले बताएका छन् । यसै गरी कुल ५७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष गुरुङले जानकारी दिए । टिकट विक्री र विभिन्न सहयोगी दाताहरुवाट प्राप्त सहयोगले खर्च व्यवस्थापन गरिने उनले जानकारी दिए ।

मंगलबारको खेल
वाईवाई पाँचथर फुटबल क्लब विरुद्ध सलदेश फुटबल क्बल सिराहा

तस्विर साैजन्य- देवराज गुरुङ

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  ९ : २५ बजे