पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

६ असार, पाँचथर । याक्थुङ मुन्चईत् चोक सयङको चौथो राष्ट्रिय महाधिवेशनबाट सागर केरुङको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको छ । ललितपुर शोभाहिटीमा बुधबार सम्पन्न महाविधवेशनले केरुङको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा वविता फोम्बो र पूर्ण सेलिङ्, महासचिवमा रुपा आङ्ङबुहाङ्, सचिवद्वय दिनेश माङमु लिम्बु र लोकेन साँवाका साथै कोषाध्यक्षमा हाङ चेम्जोङ् निर्वाचित भएका हुन् । समितिको सदस्यहरुमा दिनेश लिङ्देन्, रुद्र पाहिम, मोनी ताम्लिङ्, लक्ष्मी योङ्हाङ्, नरेश वनेम, सन्देश सुब्बा, मनु थक्लुङ् र शैलेन्द्र थेबे निर्वाचित भएका छन् । यसै गरी, निर्वाचित हुने अन्य सदस्यहरुमा तुलसा लिम्बु, पर्शु थलङ्, बिपना आङ्बुहाङ्, अमर तुम्बापो, कृष्ण थलङ् र याम नेयोङ रहेका छन् ।

समितिले नविन सुब्बा, किशोर सुब्बा, प्रेम सुब्बा, मौसम इम्बुङ्, सागर सुब्बा, यासेली योङ्हाङ् र सिर्जना सुब्बालाई सल्लाहकारमा मनोनयन गरेको छ ।

महाधिवेशनमा देशैभरीका लिम्बू कलाकारहरुको सहभागिता रहेको थियो । दुई दिनसम्म चलेको महाधिवेशनको उद्घाटन सत्रलाई प्रमुख अतिथि पूर्व कुलपति वैरागी काइलाले संबोधन गर्दै मौलिक चललिचत्र निर्माण गर्न आग्रह गरे ।

महाधिवेशनले समसामयिक प्रस्तावहरु समेत पारित गरेको छ । पारित प्रस्तावहरुमा लिम्बू चलिचित्रहरुमा सेन्सर गरिने प्रक्रियामा चलचित्र विकास बोर्डसँग समन्वय गरी याक्थुङ मुच्चईत सयङलाई सहभागी गराउने, कक्षा ८ देखि १२ सम्मका लिम्बू विद्यार्थीहरुलाई लिम्बू चलचित्र शिक्षा प्रदान गर्ने, याक्थुङ स्टोरी बैंकमा कथा थप्ने र यसमा भएका कथामा चलचित्र निर्माण गर्ने विषय समावेश गरिएका छन् । यसै गरी, कोष स्थापना गर्ने, स्टोरी सेन्सर बोर्डको कार्यविधि बनाउने, चलचित्र महोत्सव तथा अवार्ड आयोजना गर्ने, तालिम सञ्चालन गर्ने लगायतका विषयहरु समावेश गरिएका छन् ।

प्रकाशित मिति : ७ असार २०८१, बिहिबार  ६ : २२ बजे