पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

एजेन्सी– वेस्ट इन्डिज र अमेरिकामा सुरु भएको आइसीसी टि- २० विश्वकप २०२४ मा सहआयोजक अमेरिका र वेस्ट इन्डिजले आइतबार घरेलु मैदानमा विजयी सुरुवात गरेका छन् ।

डल्लास स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा भएको उद्दघाटन खेलमा अमेरिकाले क्यानाडा माथि ७ विकेटको सानदार जित दर्ता गरेको हो । क्यानाडाकाले दिएको १९५ रनको विशाल लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा मात्र ३ विकेटको क्षतिमा सो लक्ष्य पूरा गर्यो । एरन जोन्स र एनड्रीस गुसको १३१ रनको विष्फोटक साझेदारीले खेल क्यानडाको हातबाट टाढा लगिदियो ।

जोन्सले ४० बलमा ४ चौका र १० छक्काको मद्दतमा ९४ रन बनाउँदै अविजित रहे । गुस भने ४६ बलमा ७ चौका र ३ छक्का सहित ६५ रन बनाएर आउट भएका थिए ।

ओपनर स्टेभेन टेलर शून्यमा पेभेलियन फर्किएपछि अमेरिका केही दवावमा आएको थियो । अर्का ओपनर मोनांक पटेल पनि १६ रन बनाएर आउट भएपछि अमेरिकाको स्कोर ४२-२ रहेको थियो । तर तेस्रो विकेटको विशाल साझेदारी पछि अमेरिका जिततर्फ लम्किएको थियो । अमेरिकाका कोरी एन्डरसन ३ रन बनाएर अविजित रहे ।

क्यानाडाका लागि कलीम सना, डिलन हेलिगर र निखिल दत्तले समान १-१ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर व्याटिङको निम्तो पाएको क्यानाडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन जोडेको थियो । क्यानाडाका लागि नभनित धालिवालले ४४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाएका थिए ।

यस्तै निकोलस किर्तनले ३१ बलमा ५१ रन बनाउँदै अर्धशतक पुरा गरे । एरन जोन्सनले २३, दिलप्रित सिंहले ११ तथा पर्गत सिंहले ५ रन बनाए ।

अमेरिकाका लागि अलि खान, हरमीत सिंह र कोरी एन्डरसनले १-१ विकेट लिए ।

अमेरिका र क्यानाडा रहेको समूह ए मा भारत, पाकिस्तान र आयरल्यान्ड समेत रहेका छन् ।

वेस्ट इन्डिजद्वारा पपुवा न्युगिनी (पिएनजी) माथि ५ विकेटको जित

आइसीसी टि-२० विश्वकप २०२४ काे अर्काे सहआयोजक वेस्ट इन्डिजले आइसिसी टि-२० विश्वकप २०२४ मा जित सहित आफ्नो यात्राको सुरुवात गरेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजले पपुवा न्युगिनी (पिएनजी) माथि ५ विकेटको जित दर्ता गरेको हो ।

पिएनजीले दिएको १३७ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । वेस्ट इन्डिजका लागि रोस्टन चेजले २७ बलमा ४ चौका र २ छक्का सहित ४२ रनको अविजित इनिङ खेले । ओपनर ब्रान्डन किंगले २९ बलमा ७ चौका सहित ३४ रन जोडे ।

निकोलस पुरनले २७ तथा रोभमन पावेल र आन्द्रे रसेलले १५-१५ रन जोडे ।

पिएनजीका लागि असद भालाले २ तथा अलेइ नाओ, चाड सोपर र जोन करीकोले समान १-१ विकेट लिए ।

त्यसअघि गयानामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३६ रन बनाएको थियो । केही सुस्त सुरुवात गरेको पिएनजीले अन्तिम ओभरमा राम्रो ब्याटिङ गर्दै प्रतिस्पर्धात्मक स्कोर खडा गरेको थियो ।

पिएनजीका लागि सेसे बाउले ४३ बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ५० रन बनाए । किप्लिन डोरिगाले १८ बलमा २७ रन जोडे । असद भालाले २२ बलमा २१ रन बनाए । चार्ल्स अमिनीले १२ तथा चाड सोपरले १० रनको योगदान गरे ।

वेस्ट इन्डिजका लागि आन्द्रे रसेल र अलजारी जोसेफले समान २-२ विकेट लिएका थिए । यस्तै अकिल होसेन, रोमारियो शेफेर्ड र गुडकेश मोतिले १-१ विकेट लिए ।

वेस्ट इन्डिज र पिएनजी रहेको समूह सि मा न्युजिल्यान्ड, अफगानिस्तान र युगान्डा रहेका छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  १ : ३३ बजे