पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

१६ जेठ, पाँचथर । ११ बुँदे घोषणा पत्र जारी गर्दै फिदिममा मंगलबार मिडिया सम्मेलन– २०८१ सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरले आयोजना गरेको सम्मेलनद्धारा जारी घोषणा पत्रमा पत्रकारिता क्षेत्रका समस्याहरु औल्याउँदै समाधान गर्न सरोकारवालालाई जिम्मेवार हुन आग्रह गरिएको छ । घोषणामा पत्रमा संघीयताको मर्म र भावना बमोजिम सञ्चार सम्वन्धी कानूनहरु तत्काल निर्माण र कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गरिएको छ । यसै गरी, सम्मेलनले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयनमा आग्रह गरेको छ ।

पत्रकारिता पेशा समेत मूल्य, मान्यता र सिद्धान्तबाट विचलित हुन थालेका जनाउँदै आचार संहिताको पूर्ण पालनाका लागि सम्मेलनले पत्रकारहरुमा अपिल गरेको छ । सम्मेलनले सञ्चार माध्यमको संरक्षण, संवद्र्धन र विकासका लागि विशेष कार्यक्रम लागू गर्न तीनै तहका सरकारको ध्यानाकर्षण गराएको छ । साथै, स्थानीय विज्ञापन अनिवार्य स्थानीय सञ्चार माध्यमलाई उपलब्ध गराउनु पर्नेमा सम्मेलनले जोड दिएको छ ।

कोभिड–१९ सञ्चार क्षेत्र प्रभावित भएको जनाउँदै अघि दिइँदै आएको लोककल्याणकारी विज्ञापनको रकम दोब्बर वृद्धि गर्न र अनलाइन सञ्चार माध्यमलाई समेत लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन सम्मेलनले जोड दिएको छ । सञ्चारकर्मी र सञ्चारमाध्यमलाई प्रविधिमैत्री बनाउन तथा क्षमता विकासका लागि आवश्यक सहयोग, सञ्चार सामग्री खरिदमा विषेश छुट तथा अनुदानको व्यवस्था मिलाउन सम्मेलनले जोड दिएको छ ।

सम्मेलनले सञ्चारकर्मी र सञ्चार माध्यमको सुरक्षामा विशेष ध्यान दिन जोड दिन आग्रह गरेको छ । सञ्चार गृहमा हतियार सहितका सुरक्षाकर्मी प्रवेश गरी त्रासको वातावरण सिर्जना गर्ने, सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भइरहेका भौतिक आक्रमणले अझै पनि नेपाली प्रेस सुरक्षित, स्वतन्त्र हुन नसकेको अनुभूति गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि आवाज उठाउनु पर्ने, खबरदारी गर्नु पर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ ।

सम्मेलनले पहाडवाट भईरहेको वसाइसराई रोक्न तथा कृषिको व्यावसायिक विकास गर्ने नीति तथा कार्यक्रम तय सरकारलाई ध्यानाकर्षण गराएको छ । साथै पूर्वाधार विकास गर्दा गाउँवस्तीको मौलिक स्वरुप कायम गर्नु पर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ । पूर्वी पहाडका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक स्थलहरुको संरक्षण गर्दै पर्यटकीय पूर्वाधार विकास मार्फत रोजगारी सिर्जना गर्न सम्मेलनले सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ ।

सम्मेलानमा काठमाण्डौ, झापा, मोरङ, सुनसरी, तेह्रथुम, ताप्लेजुङ, इलाम लगायतका जिल्लामा कार्यरत पत्रकार महासंघका नेतृत्व र विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरु सहभागी भएका थिए । सम्मेलनको उद्घाटन सत्रमा एक पत्रकारलाई सम्मान र तीन जना पत्रकारलाई पुरस्कृत गरिएको थियो । सम्मान पाउनेमा महासंघका पुर्व केन्द्रीय सभापति डा. सुरेष आचार्य रहेका छन् । नेपाल पत्रकार महासंघ पाँचथरबाट प्रदान हुँदै आएको स्वतन्त्रता सेनानी सम्मानबाट उनी सम्मानित भएका हुन् । यसै गरी, रेडियो मितेरी पाँचथरका स्टेशन म्यानेजर खबिन लुइटेलले २५ हजार रुपैंया राशीको फिदिम नगर विकास पत्रकारिता पुरस्कार प्राप्त गरे । रेडियो नेपालकी पाँचथर सम्बादाता दुर्गा खनालले १० हजार राशीको स्वर्गीय हरिचरण भद्रमाया वातावरण पत्रकारिता पुरस्कार पाईन् । साथै १० हजार राशीकै स्वर्गीय प्रजापति जालपादेवी नेपाल खेलकुद पत्रकारिता पुरस्कार विनोदकुमार सुब्बा सन्देशलाई प्रदान गरिएको थियो ।

हेर्नुहोस् फिदिम मिडिया सम्मेलनले जारी गरेको घोषणा पत्र–

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ९ : ५५ बजे