पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

१५ जेठ, पाँचथर । नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सभापति डा. सुरेष आचार्य मंगलबार फिदिममा स्वतन्त्रता सेनानी सम्मानबाट सम्मानित भएका छन् ।

नेपाल पत्रकार महासंघ पाँचथरले आयोजना गरेको मिडिया सम्मेलन- २०८१ को उद्घाटन सत्रमा डा. आचार्य सम्मानित भएका हुन् । सम्मेलनका प्रमुख अतिथि प्रदेश सांसद मैया श्रेष्ठ लावतीले उनलाई नगद ३३ हजार ३ सय ३३ रुपैयाँ, सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरे ।

सम्मेलनमा अन्य तीन पत्रकार पनि पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा खबिन लुईटेल, दुर्गा खनाल र विनोदकुमार सुब्बा सन्देश रहेका छन् । रेडियो मितेरीका स्टेशन म्यानेजर लुइटेलले २५ हजार रुपैंया राशीको फिदिम नगर विकास पत्रकारिता पुरस्कार प्राप्त गरे । उनलाई फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले सहितका अतिथिले नगद सहित सम्मान पत्र प्रदान गरे । फिदिम नगरपालिकाले प्रदान गर्दै आएको यो पुरस्कार पत्रकारिताको क्षेत्रवाट फिदिम नगरपालिकाको विकासमा योगदान पु¥याए वापत प्रदान गरिने नगर प्रमुख काफ्लेले बताए ।

स्वर्गीय हरिचरण भद्रमाया वातावरण पत्रकारिता पुरस्कारवाट रेडियो नेपालकी पाँचथर सम्बादाता खनालले प्राप्त गरिन् । उनलाई पुरस्कार संस्थापक फिदिम वजार निवासी व्यावसायी नरेन्द्र अधिकारी सहितका अतिथिले १० हजार नगद सहित सम्मान पत्र प्रदान गरे । यसै गरी, १० हजार राशीकै स्वर्गीय प्रजापति जालपादेवी नेपाल खेलकुद पत्रकारिता पुरस्कार सुब्बालाई प्रदान गरियो । फिदिम स्पोटिङ क्लबसँगको सहकार्यमा प्रदान गरिने सो पुरस्कार क्लबका अध्यक्ष दिपेन्द्र थापा मगर र पुरस्कारका संस्थापक फिदिम वजार निवासी व्यावसायी दिपक नेपाल सहितका अतिथिले उनलाई पुरस्कार र सम्मान पत्र प्रदान गरे । सुब्बा रेडियो नेपाल धनकुटा शाखामा कार्यरत छन् ।

पत्रकारितामा व्यावसायिकता र गुणस्तरीयता कायम गर्न पत्रकारहरु अभिप्रेरित होउन् भन्ने हेतुले सम्मान तथा पुरस्कार प्रदान गरिएको महासंघ पाँचथर शाखा अध्यक्ष गिरिराज बाँस्कोटाले बताए ।

स्मारिका विमोचन

फिदिम मिडिया सम्मेलान २०८१ को उद्घाटन अवसरमा पत्रकारिता नामक स्मारिका विमोचन गरिएको छ ।

फाल्गुनन्द गाउँपालिकासँगको सहकार्यमा नेपाल पत्रकार महासंघ पाँचथरद्धारा प्रकाशित स्मारिका विमोचन गरिएको हो । सम्मेलन उद्घाटन सत्रको अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद मैया श्रेष्ठ लावतीले जर्नलको विमोचन गरिन् ।

जर्नलमा पत्रकारितासँग सम्बन्धित लेखहरु समावेश गरिएका छन् । यसका साथै महासंघको पाँचथर शाखाका नेतृत्वकर्ताहरुको नामावली समावेश गरिएको छ भने महासंघका गतिविधिहरुको तस्विर समेत संलग्न गरिएको छ । पत्रकारिताको इतिहास र समसामयिक गतिविधिहरु समावेश गरेर स्मारिका प्रकाशन गरिएको शाखा अध्यक्ष गिरिराज बाँस्कोटाले बताए ।

पेनल छलफल

मिडिया सम्मेलनमा पत्रकारिताका विषयमा पेनल छलफल गरिएको छ । कि नोट स्पिकरका रुपमा खबरहबका सम्पादक अरुण बरालले मन्तव्य राखे । पत्रकारिताका चुनौती, समस्या र समाधानका उपायहरुका बारेमा बरालले आफ्नो धारणा राखे ।

सम्मेलनमा अबको पत्रकारिता शिर्षकको छलफलमा पत्रकार दिलभूषण पाठक र अन्नपूर्ण एक्सप्रेसका सम्पादक कमलदेव भट्टराईले विचार मन्थन गरे । सो सत्रलाई इलामका पत्रकार सटेन्द्र जवेगूले सहजिकरण गरेका थिए । यसै गरी, अर्को सेसनमा मोफसलको पत्रकारिता शिर्षक रह्यो । सो सत्रमा ताप्लेजुङका पत्रकार आनन्द गौतम, सप्तरीका ललीत शाह र दैलेखका विशाल सदासंकरले विचार व्यक्त गरे । सो सेसनलाई झापाका पत्रकार केशव भट्टराईले सहजिकरण गरे । सवै छलफलमा वक्ताहरुका साथै सहभागीहरुले समेत जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ९ : २५ बजे